धरान : पछिल्लो समय मोबाइलबाटै रकम लेनदेन हुन थालेपछि अनलाइन आर्थिक कारोबार गर्नेहरू बढेका छन् । नयाँ प्रविधिको उपयोगप्रति आकर्षित हुनेहरूमा सतर्कता नहुँदा अनलाइन कारोबारमा ठगिनेहरू पनि बढेका छन् ।
त्यसरी ठगिनेहरूमा वास्तविक नाम खुलाउन नचाहने धरानकी ३३ वर्षीया सरिताले फेसबुक चलाउने क्रममा आइफोन बारे विज्ञापन देखिन् । सस्तोमा आइफोन पाइनेमा लोभिएकी उनले मोलमोलाइ नगरी लेखिएको जति रकम इसेवाबाट तत्काल अग्रिम भुक्तानी गरिन्।
आइफोन पर्खेर बसेकी उनलाई काठमाण्डौंबाट धरान पठाउनु पर्ने भन्दै थप १५० रुपैयाँ र दुई दिन समय लाग्ने बताइयो । उनले फेरी पैसा पठाइन् । तर तीन महिना बित्यो उनको आइफोन आएको छैन ।
उनले सम्पर्क गरेको व्हाट्स्एप नम्बरमा उनलाई ब्लक गरिएको छ । इसेवाको नम्बरमा समेत फोन लाग्दैन । परिवारले थाहा पाएर गाली गर्ला भन्ने डरले उनले कसैलाई भनेकी छैनन् । प्रहरीमा उजुरी पनि गरेकी छैन । एक महिनाको तलब अनलाइन ठगीमा फसेपछि उनी तनावमा छिन् ।यस्तै इन्स्टाग्राममा भेटिएकी साथीले अनलाइन कारोबारमा दोब्बर नाफा हुने भनेको भरमा लगानी गरेका धरान-५ का १७ वर्षीय किशोर गुरुङ पनि अनलाइन ठगीमा परेका छन् ।
पैसा दोब्बर भएको स्क्रिनसट पठाएपछि उनले खल्ती वालेटबाट पटक पटक रकम पठाए । केही समयपछि गुरुङले लगानीबारे जानकारी माग्दा उनलाई फाइदा भइरहेको तर त्यस बापत लाग्ने कर, सेवा शुल्क, अकान्ट अपडेट गर्न भन्दै थप रकम माग गरियो । ४० हजार बढी रुपया पठाइसकेपछि किशोरले आफू ठगिएको थाहा पाए ।
५२ वर्षीया भिमाले सामाजिक सञ्जाल प्रयोग गर्न थालेको केही महिना मात्रै भयो । फेसबुकमै एक दिन उनलाई खुसीको खबर सहित फोन आयो । भारतको सुरज शर्माले ह्वाट्स्एपमा फोन गरेर उनले १० लाख रुपया जितेको जानकारी दिँदै तुरुन्त रकम पठाउन खाता नम्बर मागे ।
उनले तत्काल छोरीको खाता नम्बर पठाइन् । मोबाइलमा आएको ओटीपी कोड पठाएपछि तुरुन्त रकम पठाइने फोन आयो । छोरीले उनीहरू ठग रहेको भन्दै कुरा नगनै सम्झाइन् । दुई महिनापछि ह्वाट्स्एपमा फेरी फोन आयो । यसपटक भने मोबाइल स्क्रिनमा मान्छेको नाम नदेखिए पनि आवाज महिलाको थियो ।
ती महिलाले आफू चर्चित भारतीय रियालिटी शो कौन बेनेगा करोडपतिबाट बोलेको बताउँदै उनलाई 'लक्की ड्र'बाट ५ लाख जितेको खबर सुनाइन । पुरस्कार पाउन के गर्नुपर्छ भनेर सोधिन् । जवाफमा फोटो, नागरिकता, फोन नम्बर र बैङ्क खाता पठाउन भनियो । छोरीले अनलाइन ठगीबारे सम्झाएकाले उनले तत्काल प्रश्न गरिन् ‘कसरी विश्वास गर्ने ?’
उनलाई विश्वस्त बनाउन विजयी भएपछि गरिनुपर्ने सबै प्रक्रिया, करकट्टी, बैङ्किङ कारोबार लगायत विवरण बेली बिस्तारमा बताइयो र यसअघिका विजेताले रकम पाएको भिडियो प्रमाणका रूपमा पठाइयो ।
कागजपत्र पठाएपछि उनलाई पठाइएको म्यासेजमा लक्की ड्रको पैसा पाउन राजश्व लाग्ने भएकाले ६० हजार रुपैयाँ पठाउन लेखिएको थियो । १० लाख पाउने कुरामा लोभिएकी उनले सुटुक्क पैसा पठाइदिइन र पुरस्कारको १० लाख आएपछि मात्रै खुसीको खबर सबैलाई सुनाउने धुनमा दिन गन्न थालिन् ।
महिनौँ बित्यो १० पैसा पनि नपाएपछि बल्ल छोरीले भने जस्तै ठगिएको उनले बुझिन् । अहिले उनी रकम फिर्ताका लागि प्रहरी कार्यालय धाउँदै छिन् ।
माथि उल्लेखित तिन जना अनलाइनमा ठगिने केही पात्र मात्रै हुन । आर्थिक वर्ष २०७९/८० मा इलाका प्रहरी कार्यालय धरानमा अनलाइनमा ठगिएको भन्दै २९ जनाले उजुरी दिएका थिए । त्यस मध्ये ३ वटा मुद्दा मात्रै दर्ता भए ।
अनलाइनमा ठगिएको यथेष्ट प्रमाण पूरा हुन नसक्दा मुद्दा दर्ता गर्न नसकिने डिएसपी नवराज मल्ल बताउँछन् । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा उजुरी झनै वृद्धि हुने देखिएको छ । चालु वर्षको ६ महिना पुष मसान्त सम्म १४ जनाले अनलाइन ठगीको उजुरी दिएका छन् ।
ती मध्ये एउटा मात्र दर्ता गरिएको छ । डिएसपी मल्लका अनुसार सो मुद्दामा आरोपितलाई पीडितको पैसा फिर्ता गराएर छाडिएको छ । अनलाइन ठगी बढिरहँदा अनुसन्धान जटिल हुने गरेको प्रहरीको भनाई छ ।
फेसबुक, इमो, भाइबर, ह्वाट्स्एप र इन्स्टाग्राम ठगीको मुख्य हतियार बनेसँगै ई-सेवा, खल्ती जस्ता वालेट ठगी कारोबार गर्न सजिलो माध्यम बन्दै गएको प्रहरीले जनाएको छ । ठगी धन्दा चलाउने अधिकांश भारतीय क्षेत्रमा बसी नेपालीलाई लक्षित गर्ने गरेको डिएसपी मल्ल बताउँछन् ।
बल्ल कारोबारमा प्रयोग भएका बैङ्क खाता मार्फत प्रहरी ठगी गर्नेसम्म पुगे पनि खाता सञ्चालक स्वयं नै ठगिएको पाइएका छन् । प्रयोग गरिएका बैङ्क खाताका विवरण खातावालासँग झुक्याएर लिइने गरिएको पाइएको डिएसपी मल्लले बताए ।
सामाजिक सञ्जालमार्फत हुने ठगीको पर्याप्त विवरण उपलब्ध नहुने भएकाले आपराधिक क्रियाकलाप गर्ने मुख्य आरोपितलाई पक्राउ गरी कारबाही गर्न कठिन छ । धरान मात्र नभई नेपालभरी फैलिएको अनलाइन ठगी धन्दामा मुख्यतः सस्तो मूल्यमा सामान विज्ञापनमा आकर्षित गरी बैङ्किङ विवरण लिने, कर, होम डेलिभरीको निहुँमा अनलाइन पेमेन्ट च्यानलबाट भुक्तानी लिई बेपत्ता हुने गरेको पाइएका छन् ।
नेपाल सरकार, प्रहरी, बैङ्क तथा वित्तीय संस्था, अनलाइन पेमेन्ट च्यानलले आफ्नो ओटिपी सेन्ड, शेयर र सार्वजनिक नगर्न, अन्जान व्यक्तिले सामाजिक सञ्जालमा चिट्ठा, लक्की ड्रमा ठुलो धनराशिको पुरस्कार परेको भन्दै फोन गरेका विश्वास नगर्न, अनलाइनमार्फत कारोबार गर्नुअघि प्रापकबारे निश्चित हुन र सतर्क रहन र शङ्का लागेमा तुरुन्त नजिकको प्रहरीमा सम्पर्क गर्ने लगायत सूचना सम्प्रेषण गरिरहेका छन् ।