धरान :  पब्जीको गेमको नाममा अनाधिकृत ठगी गरेको आरोपमा सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेकाछन् ।

आलम काठमाडौँ बसेर अध्ययन गरिहरेका विद्यार्थी हुन् । लकडाउन भएपछि उनी दुहबीको आफ्नै घरबाट यो अनाधिकृत अनलाइन व्यवसाय गदै आएको हुन । उनलाई आइतबार दुहबी शाखाको एनआईसी एसिया बैङ्कबाट ५० हजार नगद निकाल्ने क्रममा पक्राउ गरेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले जानकारी दिए ।

उनले फेसबुकमा पेज बनाई पब्जीको लागि आवश्यक पर्ने युसी, गन स्किन तथा बोनस आदी बेच्दा काठमाडौँ सहित अन्य जिल्लाका युवाहरूलाई ठगी गरेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा जाहेरी परेको थियो ।

आलमले सुरु सुरुमा इसेवा तथा बैङ्क खातामा पैसा हाल्न लगाउने र युसी पठाउने गर्दथे । तर पछि कयौँ युवाहरूको पैसा लिएर अनलाइन सामाग्री नदिएपछि उनी विरुद्ध जाहेरी परेको हो ।

आलमले अनलाइन कामको लागि १० हजारदेखि ५० हजार रुपैयाँसम्म माग्ने गरेको पाइएको छ । साथै उनले पब्जी अलावा विभिन्न सफ्टवेयर, तथा एपलिकेशनको अनलाइन खरिद बिक्री गर्नलाई विभिन्न कम्पनीको नाममा फेसबुक पेज खोलेको बताइएको छ ।

आलमले हालसम्म ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीमा जाहेरी परेको छ । तर, उनलाई हाजिर जवानमा छाडिएको बताए महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी होबेन्द्र बोगटीले जानकारी दिए ।