विराटनगर : मुटु रोगीका लागि नोवेल मेडिकल कलेजले नयाँ सेवा सुरु गरेको छ । मुटुको धड्कन बढ्ने समस्याका बिरामीका लागि रेडियो फ्रिक्वेन्सी एब्लेसन उपचार सेवा सुरु गरेको हो ।

लामो समय औषधी सेवन गर्दै आएका मुटु रोगीलाई औषधी प्रभावकारी नभए रेडियो फ्रिक्वेन्सी एब्लेसन नै यसको उपचार हो ।

मुटु रोग विभागका प्रमुख मुटु रोग विशेषज्ञ प्रा. डा. राजेश नेपालका अनुसार मुटु चलाउने प्रणाली विद्युतीय तरङ्गमाको प्रवाहले हुन्छ । मुटुको माथिल्लो खण्डमा एस ए नोड बाट विद्युतीय प्रवाह तल्लो खण्ड भन्दा केही माथि रहेको ए भी नोडमा जान्छ ।

तरङ्ग प्रवाह हुँदा मुटुको तल्लो खण्ड खुम्चिने गर्दछ । एस ए नोड प्राकृतिक पेसमेकर हो र एस ए नोड, ए भी नोड र बन्डल ब्रान्चहरूले मुटुलाई चलायमान गर्दछ ।

कसै कसैको ए भी नोड भित्र वा बाहिर विद्युत् प्रवाहमा चोर बाटो हुने गर्दछ ।  यस्तो चोर बाटोले गर्दा विद्युतीय तरङ्गको प्रवाह राम्रो सँग हुन नसक्दा मुटुको चाल बढ्ने गर्दछ । त्यसको उपचार प्रविधि रेडियो फ्रिक्वेन्सी एब्लेसन हो ।

डा. नेपालले भने, ‘विश्वमा करिब १० प्रतिशत मानिसको जन्मजात मुटु चलाउने विद्युतीय तरङ्गको प्रवाहमा चोर बाटो हुने अध्ययनले देखिएको छ ।’

मुटुको माथिल्लो खण्डको चाल गडबड हुने समस्यालाई 'प्रोक्सस्मल सुपरभेन्ट्रीकुर टेकिकार्डिया पीएसभीटी' भनिन्छ । यो समस्याले चक्कर लाग्ने र धड्कन बढेर दुःख दिन्छ ।

भेन्ट्रीकुलर टेकिकार्डिया भीटीमा मुटुको तल्लो खण्ड बढी धकधकाउने भएकोले मुटुले शरीरमा पुराउनु पर्ने रगतको प्रवाहमा कमी हुन जान्छ । यो अवस्थामा मानिस बेहोस हुने र ज्यान नै जान सक्ने डा.नेपालले बताए ।

मुटु रोगीमा देखिने उक्त समस्याको उपचारका लागि नोबेल मेडिकल कलेजले पूर्वी नेपालमा पहिलो पटक इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियो फ्रिक्वेन्सी एब्लेसन सेवा सुरु गरेको हो ।

मुटुको उक्त समस्या भएकाहरूको नोवेलमा इलेक्ट्रोफिजियोलोजी स्टडी ईपी ल्याबले मुटुको परीक्षण गरेर समस्याको अध्ययन गरी बिरामीलाई अवस्थाको जानकारी दिन्छ । नोवेलमा मुटुको विद्युतीय तरङ्गको प्रवाहको आधारमा कार्य प्रणालीको अध्ययन गर्न २-डी म्यापिङ्ग उपलब्ध छ ।

प्रा. डा. नेपालका अनुसार उक्त सेवा काठमाण्डौमा गङ्गालाल हृदय रोग केन्द्र र ह्याम्समा उपलब्ध छ भने काठमाडौँ बाहिर नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा मात्र सुरु भएको बताए ।

उक्त प्रविधिमा मुटु भित्र विद्युतीय तरङ्ग प्रवाहको चोर बाटो बन्द गरी उपचार गरिने उनले बताए । प्राडा नेपालका अनुसार रेडियो फ्रिक्वेन्सी एब्लेसनले तिघ्रा र घाँटीको नशाबाट क्याथेटर तार छिराएर मुटुलाई चलाउने विद्युतीय तरङ्ग प्रवाहको चोर बाटोलाई डाम्ने गरिन्छ ।

उनले यसमा बिरामीलाई बेहोस पार्नु नपर्ने, एक दिन अस्पताल बसेर एक महिनाको औषधी सेवन पछि निको हुने भरपर्दो प्रविधि भएको बताए ।

वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. सहदेव ढुङ्गानाका अनुसार विद्युतीय तरङ्गको प्रवाहमा हुने चोरबाटोको समस्यामा औषधी पनि खान सकिन्छ । औषधी खानेले आजीवन औषधी सेवन गर्नु पर्छ । उनले भने, ‘औषधीको प्रभाव हुन छोडेमा रेडियो फ्रिक्वेन्सी एब्लेसन नै गर्नु पर्दछ ।’ यो प्रविधिको सफलता ९८ प्रतिशत रहेको उनले बताए ।

वरिष्ठ इलेक्ट्रोफिजियोलोजिष्ट डा. रोशन राउतका अनुसार अमेरिकन कलेज अफ कार्डियोलोजी र अमेरिकन हार्ट एसोसिएसनले मुटु चलाउने विद्युतीय तरङ्गको प्रवाहमा हुने चोर बाटोको कारण बारम्बार समस्या हुनेलाई औषधी भन्दा रेडियो फ्रिक्वेन्सी एब्लेसन नै गर्न सुझाएको छ ।

उनले भने, ‘यो मुटुको कार्य गर्ने तरिकाको जाँच गर्ने प्रविधि हो ।’ मुटुले सही ढङ्गबाट कार्य गरेको छ की छैन ? छैन भने के समस्या हो ? यो परीक्षणले थाहा हुन्छ ।

यो प्रविधिमा क्याथेटरको सहायताले असामान्य विद्युत् प्रवाह गर्ने तन्तुलाई डाम्ने गरिन्छ । उनले भने, ‘अर्थात् मुटु चलाउने विद्युतीय तरङ्ग प्रवाहमा भएको चोरबाटोलाई डामेर बन्द गरिन्छ ।’

उक्त सेवा सुरु भएपछि नोवेलमा मुटुको धड्कन असामान्य हुने समस्याका बिरामीलाई उपचार सेवा पाउन सहज भएको छ ।

Radio Frequency 2