धरान : पछिल्लो समय मुलुकमा पहिचानको राजनीति प्रबल हुँदै आएको बताउँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले स्थानिय सम्पदा र संस्कृतिमा समुदायको पहिचान अन्तर्निहित रहेकाले त्यस तर्फ सबैको ध्यानाकर्षण हुन थालेको बताएका छन् ।

युनेस्को नेपाल राष्ट्रिय आयोगद्वारा धरानमा सोमवार आयोजित ‘स्थानिय संस्कृति र सम्पदाहरूको  संरक्षणमा आमसञ्चारको भूमिका’ विषयक कार्यशालामा मन्त्री राईले भने ‘सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदा नै समुदायको पहिचान भएकोले त्यसको संरक्षणमा जरुरी भएको हो ।’

उनले पछिल्लो समय आधुनिकता र प्रविधिलाई ल्याएको सुविधाको उपयोगले सांस्कृतिक विविधता मासिँदै जाने हो कि भन्ने जोखिम बढेको बताउँदै स्थानिय संस्कृति र सम्पदाहरूको संरक्षणमा आमसञ्चारको भूमिका प्रभावकारी हुने धारणा व्यक्त गरे ।

मन्त्री राईले भने ‘मलाई सबैले नेपाली राजनीतिमा पहिचानवाला भन्छन् ।’ पहिचानको राजनीति बोकेकोले दुःख पाएको भन्नेहरू पनि भएको सुनाउँदै भने ‘उनीहरूलाई मैले जवाफ दिने गरेको छु दुःख होइन, त्यसलाई दुःख मान्नु हुँदैन ।’

पहिचानको लागि काम गर्नुलाई कर्मशील, पहिचानवादी बन्नुलाई क्रियाशील मान्नु पर्ने बताउँदै मन्त्री राईले भने ‘त्यसलाई दुःख ठान्ने हो भने त दुनियाँ त जड हुन्छ, दुनियाँमा गति पैदा हुँदैन ।’

सांस्कृतिक विविधता र सम्पदा जोगाउन प्रजातन्त्र, गणतन्त्र, सङ्घीयता अपरिहार्य भएको बताउँदै उनले  सङ्घीय गणतन्त्रको भाव भूमि, सैद्धान्तिक पृष्ठभूमि आवश्यकता त्यसै कारणले बढेको उल्लेख गरे ।

कार्यशालामा युनेस्कोको लागि नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव रामेश्वर यादव, आम सञ्चार संयोजक नम्रता शर्मा, युनेस्को सदस्य हरिवंश किरातले कार्यपत्र प्रस्तुत गरेका थिए । आदिवासी अभियन्ता गोपाल देवानले कार्यपत्रहरू माथि टिप्पणी गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य शुसिल श्रेष्ठ, वरिष्ठ पत्रकार हर्ष सुब्बाले प्रविधिले सञ्चारको क्षेत्रमा ल्याएको नयाँ अवस्थामा मूलधारको आमसञ्चारको भूमिका थप उत्तरदायी भएकोमा ध्यानाकर्षण गराए । सञ्चार उपसमितिकी संयोजक नम्रता शर्माको सभापतित्वमा भएको कार्यशालाको सहजीकरण युनेस्को सदस्य भोला श्रेष्ठले गरेका थिए ।