धरान : विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री अशोक राईले पहिचानलाई साँगुरो र सङ्कुचित सोच बनाई खुम्चाउने प्रयत्न नगर्न आदिवासी समुदायलाई आग्रह गरेका छन् । यसो गर्दा पहिचान कमजोर हुने भएकोले बृहत् र फराकिलो बनाएर अघि बढ्नु पर्ने उनले बताएका हुन ।

धरानमा नेवार समुदायको क्वाती पुन्हेको अवसरमा बिहीबार आयोजित प्रथम ‘क्वाँति फेस्टिभल’ उद्घाटन समारोहमा उनी प्रमुख अतिथि मन्त्री राईले भने ‘पहिचानलाई साँघुरो र सङ्कुचित सोच बनाई खुम्चाउने प्रयत्न भएकाले कमजोर र कमसल नबनाई बृहत् र फराकिलो बनाउने प्रयत्नलाई अगाडी बढाउनु जरुरी भएको छ ।’

उनले पहिचान र संस्कृति जोगाउन मात्र होइन संस्कार संस्कृतिका चिजहरूको उत्पादित बस्तुलाई व्राण्डिङ गरी आयमूलक, व्यापारीकरण व्यवसायीकरण गर्न लाग्नु पर्ने बताए । मन्त्री राईले भने ‘जातीय मौलिक संस्कार र संस्कृतिका लागि आवश्यक पर्ने मौलिक चिजहरूलाई अन्तर्राष्ट्रिय स्तरमा व्राण्डिङ गर्दै बजारीकरण गर्न आवश्यक छ ।’

‘म को हुँ’ भनेर चिनाउने अवसर मुलुकमा आएको गणतन्त्रले दिएको उल्लेख गर्दै लोकतन्त्र र प्रजातन्त्रले दिएको अवसरलाई उपयोग गर्दै पहिचान, संस्कृतिलाई जोगाउन उनले आग्रह गरे । मन्त्री राईले पहिचान भनेको खाना, नाना, गाना, छाना भएकाले पहिचानको संस्कृतिमा दैनिक प्रयोग हुने मानवीय कुरालाई व्यवहारिक प्रयोग गर्न आवश्यक रहेको बताए ।

विदेशी मुलुकहरूबाट उत्पादित व्राण्डेड स्कच ह्विस्की भन्दा कोदोको रक्सी वैज्ञानिक संस्था नास्टले कैयौँ गुणा गुणस्तरीय रहेको बताएको उल्लेख गर्दै भने ‘नेपालीहरूले सौखको रूपमा विदेशी ब्रान्ड प्रयोग गर्दा नेपाली पैसा बिदेसिने गरेको छ ।’

मन्त्री राईले नेपाली उत्पादनलाई नै व्राण्डिङ गरेर विदेश पठाउन सकेको खण्डमा नेपालमा विदेशी पैसा भित्रिनुका साथै उत्पादकत्व समेत वृद्धि हुने बताए । नेपाली  बजारमा कोदोको रक्सी र चिउरीको महलाई राष्ट्रिय उत्पादन र औषधीय तत्त्वको रूपमा विकास गरेर बजारीकरण गरे पहिचानले आयआर्जन गर्ने सम्झाए ।

फेस्टिभल नेवा: देय दवू प्रदेश समितिले आयोजना गरेको हो । मन्त्री राईले राष्ट्र राज्य भित्र थुप्रै राष्ट्रियता रहेकाले नेवार जाति परिष्कृत र बहुआयामिक जाति भएकोले नेवार समुदाय मात्र नभई ‘राष्ट्र’ भएको उल्लेख गरे ।

नेपाली काँग्रेस सचेतक तथा पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्माले मानिसले जसले बोल्यो उसैको भाषा धर्म हुने बताए । भाषा संस्कार, परम्परासँग जोडिएको हुन्छ । उनले भने ‘राज्यको कुनै पनि धर्म हुँदैन धर्म मानिसको हुन्छ ।’

धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघाले धरान बहुजातीय बहुसांस्कृतिक बहुधार्मिक सहर रहेकोले ‘राष्ट्र’को व्यवस्था अनुरूप एक जातिले अर्को जातीलाई सम्मान गर्दै विकसित भएको बताए । उनले धरानलाई धराने भन्दा बाहिरका तत्त्वले धार्मिक तथा जातीय द्वन्द्व मच्चाउन चाहेको तर सफल नभएको बताए ।

प्रा.डा. टङ्कप्रसाद न्यौपानेले भाषा धर्म संस्कार संस्कृति कसैको पेवा नहुने बताए । कुनै पनि जातिको धर्म संस्कार र संस्कृति सबैको साझा पहिचान भएको बताउँदै भने ‘एक जाति र अर्को जाति बिचको सम्बन्ध भनेको नै संस्कार संस्कृति हो ।’

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका खाद्य विशेषज्ञ कविन्द्र भट्टराईले क्वाःति पोषणयुक्त खानेकुरा भएकोले प्रोटिन प्रशस्त मात्रामा पाइने औषधीय गुण पनि हुने बताए ।

समारोहमा सङ्घीय सांसद सुशीला श्रेष्ठ, प्रदेश सांसद रमेशकुमार बस्नेत लगायत जातीय सङ्घ, संस्थाका प्रतिनिधिहरू सहभागी थिए । तीर्थ मास्केले स्वागत मन्तव्य व्यक्त गरेका थिए । इन्द्र श्रेष्ठको सभापतित्वमा भएको समारोहमा सांस्कृतिक प्रस्तुतिहरू पनि प्रदर्शन गरिएको थियो ।

kwati-festivals-2