धरान : बराह बचत तथा ऋण सहकारी संस्थाले दायित्व घटाउन रकम बचतकर्तालाई जग्गा दिने भन्दै जेसिका रियल स्टेट नामक कम्पनी मार्फत थप लगानी सङ्कलन गर्न खोजेको छ ।

यसो गर्दा जग्गाको प्रचलित मूल्य भन्दा बढी मूल्य कायम गरी निक्षेपकर्ताको सहकारीमा जम्मा रहेको रकमको आधा रकम लगानीको रूपमा बराहमै रहने गरी आधा नगद बुझाउनु पर्ने सर्त राखेको छ ।

जस्तै : निक्षेपकर्ताको ५० लाख रकम जम्मा छ भने त्यति रकमको जग्गा लिन उसले २५ लाख रुपैयाँ नगद बराहमा बुझाउनु पर्छ । उसको बाँकी २५ लाख बराहमै लगानीको रूपमा रहने बताइएको छ ।

बराह सहकारीले बिहीबार यसै विषयमा इच्छुकहरूलाई जग्गा लिनका लागि बोलाएको भेलामा हङ्गामा भयो । सञ्चालक मानबहादुर विश्वकर्माले ‘प्रचलित मूल्य भन्दा बढी मूल्य भएमा नलिन’ समेत बताए ।

रियल स्टेटको सहयोगमा दायित्व फिर्ता जग्गा दिने तथा जग्गा नलिनेको रकम ७ वर्ष भित्रमा फिर्ता गर्ने योजना सुनाउँदै पीडितहरूले धैर्य गर्नुपर्ने पनि बताए । 

भेलामा आएका निक्षेपकर्ताले भने पीडितको जति रकम छ त्यति बराबरको जग्गा दिएर बराहले निक्षेप फिर्ता गर्नुपर्ने माग गरे ।

छलफलमा एक पीडितले आफ्नो कुरा पनि सुन्न माग गर्दै भने, ‘मेरो एक करोड रुपैयाँ फसेको छ, त्यतिको जग्गा दिनेहोस, पास खर्च कति लाग्छ दिन तयार छौँ ।’ उनले भने, ‘तपाईँहरू पीडित भन्नु हुन्छ पीडितकै विरुद्धमा बोल्नु हुन्छ ।’

बराह सहकारीको उक्त सर्तमा विवादास्पद बनेपछि पीडितहरू २ पक्षमा विभाजित भएका छन् । यसअघि गठन भएको बराह पीडित सङ्घर्ष समिति निक्षेपकर्ताका रकम अनुसार जग्गा दिएर बराहले दायित्व फिर्ता गर्नुपर्ने पक्षमा छ ।

निक्षेपकर्ताहरू मध्येकै गोरखा भूतिपुर्वहरू सहित बनेको समन्वय समिति भने बराहको नयाँ सर्त र योजना अनुसार कम्पनी पुनः सञ्चालन गर्ने पक्षमा छ । उक्त पक्षकाहरू ५० प्रतिशत रकम दिएर जग्गा लिने प्रक्रियामा छन् ।

बराह सकारी पीडित सङ्घर्ष समितिको फेसबुक पेजमा दिएका सूचना अनुसार बिहीबार सहकारीको भवन धरान-८ भोटेपुलमा भएको करिब ३ सय जनाको भेला हङ्गामापूर्ण थियो । भीडलाई सम्हाल्न प्रहरी समेत परिचालित थियो ।

निक्षेपकर्ता पूर्व सङ्घर्ष समिति र व्यवस्थापन समन्वय तथा अनुगमन समिति बिच भएको मतान्तरले चर्काचर्की गर्दै एक अर्कामा दोषारोपण गरिरहे । व्यवस्थापनले बराह पुनः सञ्चालन भए मात्र निक्षेप रकम फिर्ता हुन सक्ने बताउँदै जग्गा रोक्का फुकुवा गर्न अर्को पक्षलाई अनुरोध गर्दै थिए ।

छलफलमा जसले मन लाग्यो उनले माइक तान्दै बोलिरहेका थिए । यसै बिच धरान-२ का वडाध्यक्ष रमेश राईले बराहसँग आबद्ध नभएका व्यक्तिहरूले सञ्चालनमा बाधा पुराइरहेको बताए । उनले सहकारी पीडित सङ्घर्ष समितिका कुशलभ केसीले निक्षेपकर्तालाई भड्काई रहेको आरोप समेत लगाए ।

सहकारी पीडित पक्षका पुकार शाक्यले छलफलमा सहकारी निक्षेप रकम बराबरको जग्गा दिनुपर्ने बताए । उनले अहिले सञ्चालकले बोल्ने कुरा पीडित समितिले बोल्न नमिल्ने बताए ।

उनले आफूहरूले मात्र बराहको सम्पत्ति रोक्का नगरेको काठमाडौँका पीडित तथा नगरपालिकाले नै रोक्का गरेको बताए । उनले बराह इन्डस्ट्री प्रालीका अध्यक्ष शिव कुमार लामिछानेकी श्रीमती रिना राईले अपचलन मुद्दामा धेरै ठाउँमा जग्गा रोक्का भएको बताए ।

रिना राईले जग्गा रोक्का गरेको प्रमाण समेत सञ्चार माध्यममा आएको उनले दाबी गरे । चार वर्ष अघि नै रिनाले जग्गा रोक्का गरेको उनको भनाई छ ।

baraha news 2

baraha news 3