धरान : नेपालमा सङ्घीय लोकतान्त्रिक संविधान बनेको दोस्रो दशक लागेको छ । बेलाबेलामा उठ्ने राष्ट्रवादको बहसमा भने अग्रगमन भन्दा प्रतिगमन तर्फ फर्किने विषयले प्राथमिकता पाउने गरेको छ । यस्ता वहसको केन्द्र नेपालको एकीकरण र धर्मनिरपेक्षता हुने गरेको छ ।

राष्ट्रवाद र राष्ट्रिय एकता बलियो बनाउने जगको आधार नेपालको साहित्य, कला, संस्कृतिहरू हुन् । राष्ट्रगानको निर्माण जहाँबाट भएको छ, त्यस तर्फ भने राजनीतिक सोचको गम्भीर ध्यानाकर्षण भएको भने देखिन्न ।

महेन्द्र क्याम्पस धरानका उपप्राध्यापक राजेश विद्रोहीले भाषा, साहित्यले नेपालीत्व ग्रहण गर्न नेपालका जनजातीय भाषा, संस्कृतिका मिथक, प्रतीक-बिम्बहरूले पुराएको योगदानका बारेमा ३ वर्ष अघि शोधपत्र तयार गरेका छन् ।

क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइबाट स्वीकृत अनुसन्धानात्मक शोधपत्र राष्ट्रिय एकताको बहसमा चर्चा गर्न सान्दर्भिक छ । राष्ट्रवादको बहसमा नेपालको भौगोलिक एकीकरणलाई भावनात्मक, भाषिक र सांस्कृतिक रूपमा बलियो बनाउनु पर्छ भन्ने बहस पनि नउठेको होइन ।

तर बेलाबेलामा उठ्ने राष्ट्रियताका कुरा सत्ता केन्द्रित राजनीतिमा सीमित हुने गरेको छ । राष्ट्रको दिर्घकालिन नीतिमा यो समाहित हुन सकेको देखिन्न । उपप्राध्यापक राजेश विद्रोही भन्छन् ‘इतिहासको पछिल्लो कालखण्डमा साहित्यका स्रष्टाहरूले यसलाई मिथक, प्रतिकका रूपमा बुलन्द बनाएर उठाउन थालेका छन् ।’

भाषा, साहित्यले नेपालीत्व ग्रहण गर्न नेपालका जनजातीय भाषा, संस्कृतिका मिथक, प्रतीक-बिम्बहरूले पुराएको योगदानका बारेमा हालै राजेशले तयार गरेको शोधपत्र स्वीकृत भएको छ । बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक, बहु धार्मिक नेपालको भावनात्मक एकीकरण गर्न नेपाली भाषा, साहित्य तथा सिर्जनात्मक क्षेत्रले निर्णायक योगदान गर्न सक्ने उनी बताउँछन् ।

‘समकालीन नेपाली कवितामा जनजातीय मिथक र प्रतीकको प्रयोग’ विषयक उनको शोधपत्रले राष्ट्रिय भावनाको जग समुदायका भावनात्मक लगावले बलियो बनाउनेमा ध्यानाकर्षण गराएको छ । राणापछि सक्रिय राजतन्त्रमा दबिएको अवस्थामा रहेको जनजातिका भाषा, संस्कृति र भावना २०४५ सालको परिवर्तन पछि बिस्तारै प्रकट हुन थालेको हो । त्यसै बेलादेखि एकीकरणको पूनर्मुल्याङकन र भावनात्मक एकीकरणको बहस सुरु भएको थियो ।

राजेशले भनेका छन्, ‘यो क्रम हस्तेपक्षेपकारी सामर्थ्यका साथ प्रारम्भ भएको भने २०५० को दशकमा हो । उनीहरूले नेपाली कवितामा भिन्न कथ्य र शैलीका साथ आफ्नो दरिलो उपस्थिति देखाएका छन् ।’ २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली आदिवासी जनजाति समुदायमा जातीय जागरणको चेतना जुरमुराउन थालेको पाइन्छ ।

आदिवासी जनजाति समुदायले जातीय भाषा, संस्कृति, लिपि आदिको संरक्षणमा विभिन्न जातीय संस्थाहरू मार्फत प्रयास गर्न थाले । साहित्यमा जातीय पहिचान र अस्तित्वलाई स्थापित गर्न जनजातीय कविहरू विशिष्ट शब्द-शक्तिका साथ अग्रसर भए ।

उनले तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते सशस्त्र आन्दोलन थालेपछि यसको प्रभाव राज्यको हरेक पक्षमा परेको उल्लेख गर्दै जातीय ऐतिहासिकताका आधारमा जातीय राज्यको मुद्दालाई उठाउँदै जातीय मोर्चाहरू गठन गर्ने निर्णय गरेपछि जनजाति समुदायका ऊर्जाशील युवाकविहरू जातीय स्वत्व, पहिचान र आत्मसम्मानपूर्ण जीवनका लागि कविताको औजार बोकेर मैदानमा ओर्लिए ।

यसपछि नेपाली कविताले नयाँ अनुहार र नयाँ शृङ्गार प्राप्त गरेकोले नयाँ शृङ्गारबाट नेपाली कविताको सौन्दर्यमा नयाँपन थपेको दाबी गरेका छन् । उनी भन्छन्, ‘उनीहरूको मातृभाषाका शब्दहरूका मिथक, प्रतीक प्रयोग राज्य विरुद्ध असन्तुष्टि मात्र होइन, विद्रोहको हुङ्कार एक प्रकारले भाषिक-सांस्कृतिक एकाधिकार विरुद्धको विद्रोह थियो ।’

नेपाली राष्ट्रियताको कुरा गर्ने तर नेपालको मौलिक भाषाहरूलाई दमन गर्ने राज्यको एकल भाषिक नीतिका विरुद्ध स्रष्टाहरूका प्रयोग निकै सार्थक सिद्ध भएको उनको भनाई छ । भनेका छन्, ‘अहिले जनजातीय भाषाका थुप्रै शब्दहरूसँग गैर जनजाति समुदायका मानिसहरू पनि परिचित हुन थालेका छन् ।’

साहित्यमा मिथकको प्रयोग बारेमा उनले भनेका छन्, 'अङ्ग्रेजी साहित्यका पश्चिमा मिथकहरू प्रयोग गरिएका कविताहरूको अर्थ खुट्याउन तिनका मिथकहरूले बोकेका अर्थको गहिराइमा प्रवेश गर्नु आवश्यक हुन्थ्यो ।'

उनी भन्छन्, ‘अब परिस्थिति  उल्टिएको छ, नेपाली कविता बुझ्न जनजातिका संस्कृति बुझे हुन्छ ।’ जनजाति कविका कविताहरू अङ्ग्रेजीमा उल्था गरेर अङ्ग्रेजी भाषी पश्चिमी पाठकहरूलाई पढ्न दिने हो भने उनीहरूले जनजातीय मिथकहरूले बोक्ने अर्थहरूको संसारमा परिभ्रमण नगरी कविताको अर्थ बुझ्न सम्भव नै छैन ।

जनजातीय मिथकहरू नेपाली सम्पदा नै हुन् । यस्तो प्रयोगले नेपाली मिथकहरूको अन्तर्राष्ट्रिय प्रसारमा सहयोग पुराउने विश्वास गर्न सकिन्छ । यो चानचुने उपलब्धि होइन, यसले नेपाली कवितामा बेग्लै र 'अर्ग्यानिक' स्वाद भरेको छ ।

उनको शोध अनुसार २०५० को दशकमा राजनीतिक रूपमा जातीय आत्म निर्णयको अधिकार र स्वशासनको मुद्दा बहसको केन्द्रमा आइरहेको थियो । यसै परिवेश र पृष्ठभूमिमा दशकको अन्त्यतिर जनजाति कविहरूले आफ्ना कवितामा पनि यिनै मुद्दालाई विषय बनाए ।

यसै समयमा श्रवण मुकारुङले जातीय मुक्तिको आग्रह सहित ‘सृजनशील अराजकता’ को अभियान उद्घोष गरे । यस अभियानलाई कविहरू उपेन्द्र सुब्बा, राजन मुकारुङ र हाङयुग अज्ञातले प्रारम्भ गरे ।

२०६० को मध्यतिर पाँचथरबाट ‘उत्तरवर्ती सोच’ नामक अभियान थालियो । कविहरू सगुन सुसारा, राज माङ्लाक र भवानी तावा थिए भने यसका वैचारिक व्याख्याता कवि तथा समालोचक थाम्सुहाङ पुष्प सुब्बा थिए ।

काठमाडौँबाट ‘रङ्गवादी आन्दोलन’को पहिलो घोषणा पाँचथरकै कवि धर्मेन्द्रविक्रम नेम्बाङले गरे । सबै आन्दोलन र अभियानहरू जातीय विभेदको विरोध गर्दै जातीय समानताको पक्षमा केन्द्रित छन् ।

जनजातीय कविहरूले नेपाली कवितालाई कलाको नयाँ धारमा अग्रसर गराउने अभिप्रेरणा २०२० मा तेस्रो आयामेली आन्दोलन मार्फत वैरागी काइँलाले सुरु गरेको कविता लेखनलाई मानेका छन् । शोधपत्रमा भनेको छ, ‘कवि वैरागी काइलाले नेपाली कवितामा बेग्लै भूगोलको अन्वेषण  गरे ।’

उनले नेपाली कवितालाई त्यसअघि कहिल्यै नदेखिएको रूप प्रदान गरे । जनजातीय कविहरूले फरक अनुहारको नेपाली कविता लेख्न थालेको त्यसै बेलादेखि हो । यसै क्रमको हस्तेपक्षेपकारी सामर्थ्यका साथ प्रारम्भ २०५० को दशकमा भएको हो ।

यसअघि सुवानन्ददासको ‘पृथ्वीनारायण’ शीर्षकको कविता नै नेपाली भाषाको पहिलो कविता भएको समालोचक डा.तरानाथ शर्माको दाबीलाई उनले उल्लेख गरेका छन् । प्रामाणिक रचना काल ज्ञात हुन नसके पनि विद्वान्हरूले उक्त कविता विक्रम सम्बत १८३०-३१ तिर  लेखिएको हुनसक्ने अड्कल काटेका छन् । 

नेपाली भाषाको पहिलो कविता लेख्ने सुवानन्ददासको प्रामाणिक परिचय फेला पर्न नसके पनि उनकै कवितामा उल्लेखित पङ्क्तिहरूका आधारमा समालोचक शर्माले उनी नेवार जातिको भएको अनुमान लगाएको शोधपत्रमा उल्लेख गरेका छन् ।