- विजय घिमिरे
परिवारवादको मोहमा फसेर राजनीति कहिले सम्म अघि बढाउने भन्ने प्रश्न अहिलेको वर्तमान नेपाली राजनीतिमा गम्भीर रूपमा देखिएको छ ।
नेपालको राजनीतिमा विसङ्गति, भ्रष्ट्राचार, बेथिति, नातावाद, कृपावाद, क्रोनिज्म लगायतका अन्य विकृत अभ्यासहरू संस्थागत हुँदै गइरहेका छन् । लाग्छ नेपाली राजनीतिमा राजतन्त्रको विकल्पमा आएको गणतन्त्रको नाममा गिरोहतन्त्र चलिरहेको छ ।
राजनीतिमा स्थापित हुन कि टन्न पैसा हुनु पर्ने, कि नेतृत्वको चाकरी गर्नु पर्ने वा नेताको सन्तान हुनु पर्ने नयाँ मानकहरू देशमा गणतन्त्र आएपछि स्थापित हुँदै गएका छन् ।
अहिले इलामको उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्बाङको चर्चा छ । यहाँ प्रश्न सुहाङको व्यक्तित्व र क्षमताको होइन । महत्त्वपूर्ण प्रश्न भनेको उनी सुवासचन्द्र नेम्बाङको छोरा नभएका भए उनले नेकपा एमालेबाट उम्मेदवार हुन पाउँथे त ? भन्ने हो ।
त्यस्तै रविन्द्र अधिकारीको मृत्यु पछि उम्मेदवार बनेकी उनकी पत्नी विद्या भट्टराई उपनिर्वाचन २०७६ मात्रै होइन त्यसपछिको संसदीय निर्वाचन २०७९ मा समेत टिकट पाएर निर्वाचित भएर सांसद छिन् । विद्या भट्टराई पनि योग्यता र क्षमता भएको प्रभावशाली व्यक्तित्व नै हुन, तर के उनी नेता पत्नी नभएकी भए उनको योग्यता र क्षमताले मात्रै उम्मेदवार हुने अवसर पाउँथ्यो त ?
परिवारवादको भर्याङ चढेर राजनीतिमा स्थापित हुन खोज्ने सुहाङ पछिल्लो प्रतिनिधि पात्र मात्रै हुन । उनकै अनुसार यस अघि उनी विदेशमा भाडा माझिरहेका थिए । उनले अष्ट्रेलियामा आफ्नो सुरक्षित भविष्य खोज्दै गर्दा नेकपा एमाले इलाम क्षेत्र नं. २ मा सङ्गठनमा सक्रिय एमालेका कार्यकर्ता उनी भन्दा कम योग्य कसरी भए ?
नेकपा एमालेमा मात्रै होइन हिजो नेपाली काँग्रेस पञ्चायत विरुद्धको आन्दोलनमा हुँदा शेखर, शशाङ्क र सुजताहरु विदेशमा पढिरहेका थिए । ओखलढुङ्गा काण्डमा रामलक्ष्मणहरु मारिदा अहिले नेपाली काँग्रेसको सभापतिमा दाबी गर्दै हिँड्ने कोइराला परिवारका विरासतहरू कहाँ के गर्दै थिए, एक पल्ट मनन गर्नुस् त ।
हिजो माओवादी सशस्त्र द्वन्द्वमा हुँदा बाबुराम कि छोरी मानुषी पनि पढाई लेखाई मै थिइन् । जनयुद्धका कमाण्डर जो अयोग्य लडाकुमा गनिए, द्वन्द्वमा घाइते भएका तथा जिउमा अहिले सम्म गोली बोकेकाहरूले भन्दा धेरै संर्घष प्रचण्डका छोराछोरी र आफन्तले गरेका थिए त ?
यसरी देशभर सङ्गठन, आन्दोलन अनि क्रान्ति गर्न कार्यकर्ता चाहिने नेताहरूलाई नेतृत्व हस्तान्तरण गर्न अनि उम्मेदवार बनाउन चाहिँ स्वस्थानीको प्रसाद भाग लगाए झैँ बाबु नभए छोरालाई, छोरा नभए मित छोरालाई हुँदै अहिले त समानुपातिक व्यवस्था नै राजनीतिमा घरका आफन्तलाई स्थापित गर्न ल्याएको व्यवस्था जस्तै बनाएका छन् ।
नेताको सन्तान भए पछि पढेर, जागिर खाएर, सेवानिवृत जीवनमा चाहिँ बाबुले विरासतमा छोडेको दलको नेतृत्व गर्न आइपुग्छन् । नेपाली काँग्रेसका शेखर, शशाङ्क अनि सुजतामा कोइराला परिवारको रगत बगेको होला तर नेपाली काँग्रेसमा आबद्ध लाखौँ युवाहरूमा बिपीको विचार, सुशील कोइरालाको सादगी नोना आमाको स्नेह सबै बगेको छ ।
दुर्भाग्य नै भन्नु पर्छ ती सबै मूल्य मान्यतालाई पन्छाएर बिपीको मेलमिलापको नीति बुझ्न नसकेर आपसमा विरोधाभास पूर्ण सम्बन्धमा रुमल्लिएका तिनै नेता सन्तानलाई नै नेपाली काँग्रेसको नेतृत्व चाहिएको छ ।
नेकपा एमालेमा प्रजातान्त्रिक व्यवस्थाको आवरणमा केपी ओलीको तानासाही नेतृत्व चलिरहेको छ । एमालेको अधिवेशनमा भोट हाल्न नपर्ने उम्मेदवारको पर्चिले एमालेको लोकतन्त्र प्रतिको विश्वासलाई गिज्याइरहेको देखिन्छ ।
यदि ओलीको परिवारबाट राजनीतिक उत्तराधिकारी भएको भए ओली पछि को भन्ने प्रश्नको अन्त भई सक्थ्यो होला । तर आफन्त नहुनुको परिस्थितिमा उनले आफूपछिको नेतृत्व तयार गरेका छैनन् । युवा र सम्भावना बोकेका दर्जनौँ नेता हुँदा पनि ओली उनीहरूलाई के कारणले नेतृत्व हस्तान्तरण गर्न चाहन्नन् ?
हिजो नाम लिँदा पनि मुख कुल्ला गर्नु पर्छ भन्ने राजनीतिक प्रतिद्धन्द्धि सँग राजनीतिक सहकार्य गर्दै आफै फोन सम्पर्क गर्न पुगेका छन् । पछिल्लो समयको देश दौडाहा पछि उनी जसरी माधव नेपाल र उनको दल प्रति लचिलो बन्दै गएका छन्, माधव नेपाललाई नै आफ्नो उत्तराधिकारी बनाएर एमालेको नेतृत्व हस्तान्तरण गर्ने सोचमा त पुगेका छैनन् ?
शङ्का गर्ने प्रशस्त आधारहरू छन् । आखिर राजनीतिमा स्थायी शत्रु र मित्र नै कहाँ हुन्छ र । आफू अनुकूल नभए पछि योग्यता, क्षमता भएका युवाहरूलाई अघि बढाउनु भन्दा आफू जस्तै टेस्टेड फेलरहरुलाई नै अघि बढाएर नेपाली राजनीतिको मियो पूर्व प्रधानमन्त्रीहरूको क्लबमा नै निहित राख्ने यत्नमा केपी ओली पनि देखिन्छन् ।
नेपालको सबै दलमा हिजो राणाको दरबारमा चाकरी बुझाउन हाजिर भए जस्तै कार्यकर्ता हाजिर हुने अनि दरबारको पटाङगिनिबाट छोटे राणाहरूले हुकुम प्रमाङ्गीमा दल चलाउने परिपाटि व्याप्त छ । चुनाव अघि कार्यकर्ता चाकरीमा हाजिरी हुन हुल बाँधेर भेडाको झुण्ड जस्तो हिजो चप्पल पडकाउदै काठमाडौँ छिरेका छोटे राणाहरूमा दरबारमा पुग्छन् ।
टिकट पाउन दुर्गा प्रसाईँले एक अन्तरवार्ता भने जस्तो ‘त्यो तल तेल लगाउन बाहेक’ बाँकी केही राख्दैनन् । छोटे राणाहरूको बहुमत दरबारबाट निगाह बक्स भए पछि मात्रै एक आम कार्यकर्ताले उम्मेदवारको टिकट पाउँछ ।
यसरी प्रजातन्त्र, लोकतन्त्र आएपछि जनताका छोराले देशको नेतृत्व गर्ने आशा समाप्त भई गणतन्त्र आएपछि परिवारवादको नयाँ मानकहरू सुरु भएको छ । जुनसुकै व्यवस्था भने पनि एक व्यक्ति सर्वोपरि हुने व्यवस्थाको अन्त हुनु आवश्यक छ ।
जनताको छोरा राष्ट्रप्रमुख हुने लोभ देखाएर जनताले आफ्नो मतको सदुपयोग गर्ने अवस्था नै हुन नदिन निर्वाचन अघि गठबन्धन गरी सामन्ती सोच भएका त्यही दुई चार जनाको हालीमुहाली हुने व्यवस्था अन्त गर्नको लागि दलीय व्यवस्थामा व्यापक सुधारको खाँचो छ ।
पछिल्लो समय त नेपालको राजनीतिमा क्रोनिज्म (आसेपासे पुँजीवाद) व्यापक रूपमा फस्टाएको छ । क्रोनिज्म भनेको सत्ताको वरिपरि रहेर निश्चित व्यक्तिहरूले लाभ लिनु हो । क्रोनिज्म फस्टाउँदा व्यवसायमा प्रतिस्पर्धा हुन पाउँदैन र यसले गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्दछ ।
यसले गर्दा सत्तामा पहुँच राख्नेले लाभ लिएको लियै गर्छन् जसले गर्दा नयाँ सोच, विचार र कर्ममा विश्वास गर्ने वर्ग मारमा पर्ने गर्छन् । पछिल्लो समय विभिन्न तहका सरकारले वितरण गर्ने अनुदान सत्तामा पहुँच राख्ने वर्गले पाउने गरेका छन् । वास्तविक लक्षित वर्ग सम्म पुग्ने गरेको नै छैन । त्यसको अलावा सरकार लाई प्रभावमा पारेर नीति नियम नै आफू अनुकूल बनाउन व्यापारिक घराना लागेका हुन्छन्।
परिवारवाद, नातावाद, कृपावाद हुँदै क्रोनिज्मको जंजालमा जकडिएको नेपालको वर्तमान राजनीति र त्यसको नेतृत्वलाई जनताको समस्या र अवस्थाको बारेमा खासै चासो र चिन्ता देखिँदैन । जसले गर्दा आम नेपाली जनतामा नेपालको राजनीति र राजनीतिक नेतृत्व प्रति वितृष्णा पैदा भएको छ ।
त्यसैले यसको विकल्पको खोजीमा नेपाली जनता लागेको पछिल्लो स्थानीय र सङ्घको निर्वाचनको परिणामले देखाइसकेको छ । संसारमा विकल्प हरेक कुराको हुन्छ, अहिले पृथ्वीको सट्टा मङ्गल ग्रहमा जीवनयापनको सहजताको खोजी हुदैछ ।
यो सामन्ती प्रवृत्तिको नेतृत्वको विकल्प नेपाली जनताले पक्कै खोज्ने छन् । अन्यथा अबको तिन दशक पछि सुहाङ नेम्वाङको छोरा अष्ट्रेलियाबाट फर्केर बाबुको सपना पुरा गर्न चुनाव लड्छु भनेर नभन्लान् भन्न सकिन्न ।