- अनुसा थापा
नेपालमा पहिलो पटक २०६४ चैत २८ गते संविधान सभाको चुनाव भयो । यद्यपि, सो चुनावबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरूले संविधान बनाउन सकेनन् ।
संविधान बनाउनका लागि २०७० सालमा पुनः दोहोर्याएर चुनाव भयो । त्यतिबेलाको चुनावमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट महेश बस्नेत उठे ।
पार्टीमा अन्य राम्रा नेता थिए । तर, तिनले टिकट नपाएनन् । जनतामाझ भिजेको, पार्टीमा संघर्ष गरेकालाई टिकट दिनुको साटो एमाले अध्यक्ष केपी शर्मा ओलीले बस्नेतलाई टिकट दिए । पार्टीले टिकट त दियो, जनताले पत्याएनन् , बस्नेत हारे ।
२०७१ सालदेखि सुशील कोइरालाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । एमाले र काँग्रेसको गठबन्धन भएकाले ओलीले बस्नेतलाई उद्योगमन्त्री बनाउन पार्टीको तर्फबाट सिफारिस गरिदिए । कोइरालाको सरकारमा बस्नेत उद्योगमन्त्री भए । उद्योगमन्त्री भएपछि उनले अकुत सम्पत्ति कमाएको बताइन्छ । उनले धमाधम अघिल्लो सरकारले गरेको निर्णय उल्टाइदिए ।
कोइराला अघिको सरकारले काठमाडौँ उपत्यकाबाट क्रसर उद्योग, ईट्टाभट्टा हटाउने निर्णय गरेको थियो । तर, उनले ती उद्योग सञ्चालन गर्न स्वीकृति दिए । यता, लामो समयदेखि रोकिएको मदिराको लाइसेन्स बाँड्ने काम पनि सुरु भयो । २०७४ सालको चुनावमा उनले सोही क्षेत्रबाट चुनाव जिते । सांसद बने ।
ओली प्रधानमन्त्री भए । बस्नेत ओलीको दाहिने हात हुन् भन्ने कुरा त घामजस्तै छर्लङ्ग छ । जनताको काम गर्नुभन्दा पनि बस्नेतलाई ओलीकै चाकडी गर्दै ठिक्क भयो । ओलीको नाम लिँदै ठेक्कापट्टा मिलाउने, खाने काम मौलायो । जसका कारण अघिल्लो वर्ष भएको चुनावमा उनी नराम्ररी पछारिए ।
भक्तपुरवासीले उनलाई हराइदिए । अहिले बस्नेत ‘केटी प्रकरण’ मा मुछिएका छन् । तर, पार्टीले बस्नेतलाई कारबाही गरेको छैन । बस्नेत जस्तैका कारण आज एमाले तहसनहसको अवस्थामा पुगेको छ । पार्टी अध्यक्षको निकट हुनेले जस्तोसुकै हर्कत गरे पनि कारबाहीको दायरामा ल्याइँदैन, किन ?
एमालेभित्रै विभेद छ । देश र जनताको पक्षमा आवाज उठाउनेलाई ओलीले छोड्दैनन् । भीम रावलदेखि माधवकुमार नेपाल सम्मले ओलीको ‘डण्डाको स्वाद’ चाखेका छन् । उनीहरूलाई ओलीले केसम्म भनेनन् र गरेनन् । मुलुककै ठुलो पार्टी एमालेप्रति जनताको नजर फेरिएको छ ।
एमाले स्थापना गर्न लागेको दुःख र संघर्ष ओली र बस्नेत जस्ताले ‘बालुवामा पानी’ बनाएका छन् । उनीहरूको कारणले गर्दा एमाले क्रमिक रूपमा नाङ्गिँदै छ । एमालेकै कार्यकर्ताहरू पनि काखा र पाखा गर्ने प्रवृत्तिबाट सन्तुष्ट छैनन् । एमालेका अन्य नेतालाई पनि केटी काण्डको आरोप लागेको छ ।
तिनीहरूमाथि डण्डा चलाउँदा बस्नेत जस्तालाई कारबाही गर्नुपर्दैन ? ओलीको सिद्धान्त: आफू निकटस्थले जतिसुकै नराम्रो काम गरुन् अनदेखा गरिदिने, अन्यले आफ्नो विरोधमा बोल्यो भने पनि कारबाही गरिहाल्ने । ओलीकै विचारधाराले गर्दा जनताको आँखामा एमाले गिरेको छ, पार्टी कमजोर हुँदैछ ।
ओलीले अहिले जतिसुकै देश र जनताको भक्तिगान गाए पनि कसले पत्याउँछ ? किन कि जनताले उनको काम गराई देखिसकेका छन् । प्रधानमन्त्री हुँदा उनले केसम्म गरेनन् ? वर्णन गर्नलाई शब्दकै खाँचो पर्छ । देशको प्रधानमन्त्रीजस्तो व्यक्ति बालुवाटारमा बसेर बाँसुरी बजाउने र दिन कटाउने ।
सिंहदरबार कहिले नआउने, पार्टीको होस् या मन्त्रिपरिषद्को, दुवै बैठक वालुवाटारमै राख्ने । आफ्नो जन्मदिनमा देशको नक्सा भएको केक काटेर खाने । जनताले तिरेको करबाट आफ्ना कार्यकर्तालाई भोज दिने । जसका कारण मङ्सिर ४ गते भएको निर्वाचनमा एमाले दोस्रो दल हुन पुग्यो ।
२०७२ असोज ३ गते नेपालको संविधान जारी भयो । छिमेकी देशको दबाबका बाबजुद कोइरालाले मरिमेटेरै संविधान बनाए । संविधान बनाउने बित्तिकै भारतले नेपाललाई नाकाबन्दी गर्यो । जनताबाट चुनिएर आएको जनप्रतिनिधिले आफ्नो देश र जनताका लागि संविधान बनाए ।
त्यसमा त न कोइरालाको गल्ती थियो न जनप्रतिनिधिको । जनप्रतिनिधिले सदैव देश र जनतालाई ध्यानमा राखेर काम गर्नुपर्छ । त्यो गर्दाखेरि नेपालले नाकाबन्दी खेप्नुपर्यो । संविधान बन्ने बित्तिकै ओलीले कोइरालाको खोइरो खन्न थाले । कोइराला हिरो बन्ने डर ओलीलाई थियो ।
उनले कोइरालालाई हटाएर आफू प्रधानमन्त्री भए । २०६४ सालको चुनावपछि धेरै प्रधानमन्त्री आए र गए । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई प्रधानमन्त्री भए । तर, कोइरालाले त बनाएरै छाडे । संविधान बनाएको सजाय समग्र नेपालीले भोगिरहेका थिए ।
त्यसको फाइदा ओलीले उठाए । ओलीले पहिले नाकाबन्दी हटाऊ अनि मात्र म भारत आउँछु भने । ओलीको ‘प्लान’ जनताले बुझेका थिएनन् । ओली उखान टुक्का भन्नमा माहिर छन् । हसाएजस्तो गर्ने तर अर्काले ‘कुकुरलाई भने जसरी’ गाली गर्ने त उनको स्वभावै हो । २०७२ माघ २४ गते कोइरालाको निधन भयो ।
कोइराला नभएको भए आजसम्म देशको संविधान बन्दैनथ्यो । देशका लागि कोइरालाले ठुलो योगदान दिएका छन् । त्यही संविधानको आधारमा आज देश चलिरहेको छ । तर, जनताले यो कुरा बिर्सिए । उखान टुक्का र ओलीको नौटङ्कीको पछाडि जनता लागे, २०७४ सालमा एमाले पहिलो पार्टी बन्यो ।
प्रधानमन्त्री भएर काम गर्न नसकेपछि ओलीले दुई पटक संसद् विघटन गरे । उनी दुई पटक संसद् विघटन गर्ने पहिलो व्यक्ति हुन् । ओलीसँग काम गर्ने क्षमता छैन, गफ हान्ने मात्र छ भन्ने त सबैले थाहा पाइहाले । तर, अलिक ढिलो भयो । पदको लोभी प्रचण्ड पनि ओलीकै दौरा समात्दै हिँड्थे ।
आफ्नो पार्टीको सिद्धान्त, विचार त्यागेर उनी ओलीको पछिपछि लागे । २०७४ सालमा सङ्घदेखि स्थानीयसम्म एमालेका जनप्रतिनिधि धेरै थिए । तर, जनताले चुनेकालाई ओलीले मन्त्री बन्ने मौका दिएनन् । सरकारी पेशाबाट आएका युवराज खतिवडा अर्थमन्त्री भए । जबकि उनी निर्वाचन नै लडेका थिएनन् ।
केही महिना अघिसम्म ओली प्रचण्ड सरकारको विरोध जनाउँदै हिँडेका थिए । प्रचण्ड एक मिनेट पनि सरकारमा बसे भने देश सकिन्छ भनेर ओली व्यापक विरोध गर्थे । जनताको आवाज उठाउन छोडेर एमाले र रास्वपा २०८४ को मिसनमा लागेका थिए । अहिले त्यही दुई पार्टी सरकारमा गएको छ ।
तिनले के नै उखाल्छन्, जनताले हेरिरहेका छन् । अहिले त ओलीले प्रचण्डको विरोध नगर्न भनेका छन् । राजनीतिक दलहरूले ‘छेपारोभन्दा छिटो रङ्ग’ फेर्छन् र यिनीहरूसँग नैतिकता भन्ने चीज नै छैन भन्ने उदाहरण हो यो । सर्वोच्च अदालतले प्रधानमन्त्री पद खोसेपछि बालुवाटारबाट निस्किँदा बस्नेतलाई बाइकको र्याली लगाएर ओलीलाई बालकोट ल्याएका थिए ।
उनले बालकोटको बार्दलीमा बसेर माधवकुमार नेपाललाई मुखमा आए जति गाली गरे । ‘गद्दार, माधवको नाम लियो भने मुख पानी हालेर खोकल्नुपर्छ’ लगायतका शब्दको प्रयोग गरियो । त्यही ओली केही दिनअघि नेपालको घर पुगेको देखियो । पदको लागि यहाँ केसम्म हुन्छ र नेता भनाउँदाहरु कतिसम्म गिर्छन् भन्ने छर्लङ्ग भएको छ ।
त्यसैले यस्ता नेताले देशका लागि केही गर्छन्, परिवर्तन ल्याउँछन् भनेर सोच्नु पनि बेकार हुन्छ । जो आफ्नो बोलीमा त टिक्न सक्दैनन्, उसले काम गर्छ ? जनताले यस्ता नेताहरूलाई चिन्नुपर्छ ।