- अनुशा थापा
मान्छे कतिसम्म स्वार्थी हुन्छन् ? भन्ने जल्दो बल्दो उदाहरण हुन् रवि लामिछाने । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं ३२ दिने गृहमन्त्री उनले आफू ठाउँमा पुग्नका लागि जे पनि गर्छन् भन्ने त हामीले देखि नै सकेका छौँ । नेपाली नागरिकता नभएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद नै खारेज गरिदिएको थियो । त्योसँगै उनको सबै पद गुम्यो । उपप्रधान तथा गृहमन्त्री र पार्टीको सभापति पद गुमाएका उनले नयाँ नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा निवेदन दिए ।
नागरिकता लिए पनि । त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गृहमन्त्रीको बार्गेनिङ गर्न थाले । प्रचण्डले अरू मन्त्रालय दिने तर गृह नदिने अडान लिएका थिए । उनले पटक पटक प्रचण्डसँग भेटघाट गरे, गृहमन्त्री चाहिने माग राखिराखे । यद्यपि, प्रचण्डले यसतर्फ चासो देखाएनन् । अरू मन्त्रालय लिएको भए नि हुन्थ्यो तर लामिछाने मानेनन् । जबरजस्ती आफ्ना पार्टीबाट मन्त्री बनेकालाई फिर्ता बोलाए । इच्छा नहुँदा नहुँदै पनि उनीहरू राजीनामा दिएर निस्किए ।
त्यहीबाट पार्टीमा विवाद शुरु भयो । कतिपयले सरकार छोड्नुहुँदैन, सरकारमा बसेर जनता र राष्ट्रको हितमा काम गर्नुपर्छ भनेका थिए । उनीहरूले बल्लतल्ल अवसर पाएका थिए, जुन पार्टी सभापतिले नै खोसिदिए । सरकार बाहिरै बसेर जनता र राष्ट्रका लागि आवाज उठाउने ठोकुवा गर्ने लामिछाने सरकारमा गए । उनलाई सरकारमा जान सबैभन्दा धेरै हतारो भएको थियो । आफूले गृह नपाएको झोँकमा उनले सबैलाई निकाले । त्यहीबाट लामिछानेको असली रूपमा जनतासमक्ष आयो ।
उनको पार्टीको सांसद स्वर्णिम वाग्लेले केही दिन अघि भनेका थिए,‘मुलुकको आर्थिक अवस्था डामाडोल भएको छ । नेपाली सेनालाई पाल्न नसक्ने अवस्था बनेको छ ।’ सेनाले काम गर्न नसकेको, छिमेकीले मिचेको जग्गा फिर्ता ल्याउन नसकेको कुरा उनले सदनमा उठाए । उनको भनाइले सेना कटौती गर्नुपर्छ भन्ने कुरा स्पष्ट भएको थियो । नेपाली सेना लामो समयदेखि विफल बन्दै आएको छ । दरबार हत्याकाण्ड होस् या माओवादी जनयुद्ध सेना असफल देखियो ।
छिमेकी देशले मिचेको हाम्रो जग्गा फिर्ता ल्याउन पनि सेनाले सकेन । छिमेकीले ब्यारेक खडा गरेर सीमाको सुरक्षा गरिरहेको छ । तर, नेपाली सेनाको ब्यारेक सबै सदरमुकाममा छ । दिनभर ब्यारेकमा बस्छन्, मासुभात खान्छन् । यताउता हल्लिएर दिन कटाउँछन् । तालिम भनेको छ तर, केसका लागि गर्नुपर्यो तालिम ? न नेपाली सेना अन्य मुलुकको सेनासँग लड्न सक्छ । न सीमामा गएर आफ्नो भूमि फिर्ता ल्याउन सक्छ । वर्षौँदेखि सेनाले जनता र राष्ट्रको आँखामा छारो हालिरहेको छ ।
सार्वजनिक कामहरूमा पनि सेना अग्रसर देखिँदैन । बाटो मर्मत, सरसफाइ, पुल निर्माणलगायत कुनै पनि काम सेनाले गरेको छैन । राज्यले मासिक अर्बौं रुपैयाँ सेनाको तलब भत्ता, खाना र सेवा सुविधाका लागि छुट्याउनु परेको छ । अनुत्पादक क्षेत्रमा यत्रो लगानी किन गर्ने ? आजसम्म कसैले सेनाको विरोधमा बोल्ने आँट गरेका थिएनन् । अर्थविद् वाग्लेले यो कुरा उठाए । अहिलेको अवस्था र सेनाको काम हेर्ने हो भने कटौती नै सबै उत्तम उपाय हो ।
रक्षा मन्त्रालयले सेनालाई सीमामा पठाउने हो भने सबैले जागिर छोड्छन् । काम गर्न त आँट हुनुपरेन । वाग्लेले सेनाको बारेमा कुरा उठाएपछि जनतामै बहस शुरु भएको छ । जनताहरू समेत सेनालाई राख्नुहुँदैन भन्न थालेका छन् । वाग्लेले उठाएको कुरा लामिछानेले काटेका छन् । उनले आफ्नो पार्टीका माननीयहरूले सेना कटौतीको कुरा नउठाएको दाबी गरेका छन् । वाग्लेले उठाएको कुरालाई जनताले पनि सही भनेपछि उनले त्यो गरेका हुन् । पार्टीका सदस्य आफूभन्दा माथि आउने हुन् कि भन्ने डर उनलाई छ ।
गएको उपनिर्वाचनमा पनि लामिछानेले आफ्नो मनोमानी चलाए । प्रहरीमा हुँदाखेरि अकुत सम्पत्ति जोडेका उनलाई पार्टीमा ल्याउनुहुँदैन भनेर एक थरीले आफ्नो धारणा राखेका थिए । उनलाई टिकट दिनुहुँदैन भन्ने मागसमेत उठेको थियो । टिकट दिए पनि नजित्ने भन्दै पार्टीका सदस्यहरूले मधेसकै लाई उम्मेदवार बनाउन भनेका थिए । लामिछानेले उनलाई पार्टीमा पनि ल्याए र टिकट पनि दिए । अन्तिममा जनताले पत्याएनन् । उनले निर्वाचनमा नराम्ररी हार व्यहोर्नुपर्यो ।
लामिछाने र उनकी श्रीमती निकिता पौडेलले सहकारी खोलेर धेरैलाई ‘घर न घाट’ बनाएको कुराहरू समेत बाहिर आए । यो कुरा निक्लिसकेपछि आम सर्वसाधारणले उनको विरोध गरिरहेका छन् । यता, उनको कारणले पार्टी बदनाम भएको भन्दै नेता–कार्यकर्ताले प्रश्न उठाउन थालेका छन् । उनको अर्बौंको सम्पत्ति भएको सर्वसाधारण बताउँछन् । चर्चित सञ्चारकर्मी उनले मिडियामा हुँदासमेत धेरै भ्रष्टाचार गरेका छन् । उनले भरतपुर महानगरपालिका वडा नम्बर १२ मा घर किनेका छन् भने काठमाडौँको टोखामा उनको भव्य महल छ ।
यति मात्र नभई कैयौं ठाउँमा घरजग्गा छ । यत्रो सम्पत्ति कहाँबाट आयो ? उनले ‘सिधा कुरा जनतासँग’ भनेर व्यापारीसँग चाँहि सिधा कुरा चलाए । जनताको नाम बेचेर उनले अंकुत सम्पत्ति जोडे । व्यापारी थर्काएर उनले यत्रो सम्पत्ति जोडेको त स्पष्टै छ । आफूले गरेको भ्रष्टाचार बाहिर आउँछ र आफू अप्ठ्यारोमा पर्न सक्छु भनेर उनले के सम्म गरेनन् । आफ्नै साथीलाई आत्महत्या गर्न बाध्य बनाइदिए । पत्रकार शालिकग्राम पुडासैनीले चितवन पुगेर आत्महत्या गरे ।
उनले मर्नुअघि भिडियो बनाएर समेत लामिछानेको पोल खोलेका थिए । लामिछानेको ‘देखाउने र चपाउने’ दाँत छुट्टाछुट्टै छ, नागरिकता पनि दुईटा छ भनेर उनले त्यतिबेलै भनेका थिए । तर, कसैले पत्याएनन् । अहिले आएर त्यो सत्य साबित भयो । न्यूज २४ मा बस्दाखेरि उनले भ्रष्टाचार गरेर अर्बौं रुपैयाँ कमाएको भनी उनले जानकारी गराएका थिए । त्यो पनि सही नै रहेछ । जेलमा हुनुपर्ने व्यक्ति पहुँच र पैसाको आडमा जेलमुक्त भए । त्यस्तो व्यक्ति सदनमा पुगेको छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ का जनताले दोहोर्याएर उनलाई जिताए । अमेरिकी नागरिकले गर्दा राज्यको ढुकुटीमा आर्थिक भार थपियो । चितवनका जनताले के के न गर्छ भनेर सदनमा पठाए । अहिले आएर उसको क्षमता त सबैको समक्ष ‘दूधको दूध र पानीको पानी’ भइहाल्यो । जनताको कुरा उठाउन सक्ने क्षमता छैन । टेलिभिजनमा बसेर अरूलाई कराएको जस्तो रहनेछ भन्ने कुरा उनले अहिले बुझे होलान् । रास्वपाका सांसदहरूको भूमिका देख्दा पनि लाजमर्दो छ ।
देशमा के भइरहेको छ ? भन्ने त यिनलाई थाहा छैन । २०८४ सालको चुनावमा यिनलाई भोट दिनुहुँदैन भन्ने बहस शुरु भइसकेको छ । अरूलाई थर्काएर, हप्काएर राजनीतिमा आउनेहरू इतिहास बन्न कति बेर लाग्छ ? महेश बस्नेतको राजनीति सकिहाल्यो । अब पालो गगन थापा र रवि लामिछानेको । यिनीहरू अर्को चोटि चुनाव जित्न सक्दैनन् । जति धमिलो पानीमा माछा मार्नु थियो, मारे । अब मार्न पाउँदैनन् । हिजो सबैले लामिछानेलाई राम्रो मान्छे ठाँट्थे ।
अहिले उनको कर्तुत खुल्दै छ । लामिछाने को हुन् ? कस्ता व्यक्ति हुन् ? जनताले बल्ल बुझ्दै छन् । सभापति लामिछानेकै कारण पार्टी फुट्ने देखिन्छ । लामिछाने एमाले अध्यक्ष ओलीको झोले बनेर हिँडेका छन् । आफ्नो सिद्धान्त केही छैन, ओलीको झोला बोक्यो हिँड्यो । नयाँ पार्टीले पनि केही गर्ने रहेनछ भन्ने त स्पष्ट भइसकेको छ । सबै कमाउनकै लागि आएका हुन् भन्ने छाप जनताको मनमा परिसकेको छ । देशको आर्थिक अवस्था डामाडोल भएको छ ।
यस्तो अवस्थामा त रास्वपाका सांसदहरूले तलब भत्ता र सरकारी गाडी छोड्न सकेनन् भने यिनीहरूले अरू के गर्छन् । सदन चलेको छ भन्नु मात्र छ । के–के न गर्छु भन्ने लामिछानेको फाइँफुट्टी दुई दिनमै देखियो । उनीसँग काम गर्ने क्षमता रहेनछ भन्ने कुरा पनि जनताले थाहा पाए । २०८४ सालको चुनावमा शून्य हुने देखेपछि उनले मेयर बालेन्द्र शाह र हर्क साम्पाङ्गलाई फकाउन थालेका छन् ।
यो लेखकको निजी विचार हो ।