वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित प्राचीन हरिद्वार चतरा धाममा आजबाट वाह्रवर्से पिण्डेश्वर पुर्ण महाकुम्भ मेला सुरु भएको छ ।

१२ वर्षपछि आयोजना भएको उक्त मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । नेपालमा चतराधाममा लाग्ने उक्त मेला आज मङ्गलवार अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया अर्थात् वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोहमा राष्ट्रपति पौडेललाई वाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिको तर्फबाट नागरिक अभिनन्दन समेत गरिएको थियो । समारोहमा राष्ट्रपतिले पौडेलले सप्तकोसीमा जल अभिषेक, पूजा आराधना तथा र राधास्बर्णेस्वरको पूजा एवम् कुम्भ घडाको दर्शन गरेका थिए ।

ऐतिहासिक वाह्रवर्से पिण्डेश्वर पुर्णमहाकुम्भ मेलाको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक मेला, पर्व, उत्सवहरूले नेपालीहरूमा सद्भाव, भाइचारा बढाउने बताए । धार्मिक पर्यटकीय क्षेत्रको रूपमा वराहक्षेत्र, चतराधाम, रामधुनी, पिण्डेश्वरको महत्त्व धेरै ठुलो रहेको बताउँदै यसको संरक्षण, प्रवर्द्धनमा लाग्नुपर्ने बताए ।

धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गर्नु रहेको र हिन्दु बौद्ध लगायत अन्य धर्मले पनि यही भनेको उल्लेख गर्दै वैदिक मन्त्र द्रष्टाहरूले हजार वर्ष पहिले नै अहिलेको विश्वको कोलाहल र जलवायु परिवर्तनको समस्याको त्यति बेलै समाधान बारे उल्लेख गरेको बताए ।

ऋषि महर्षिहरूको तपोभूमि, देवदेवीहरूको क्रिडास्थली, एक पवित्र तीर्थस्थल वराहक्षेत्रको वक्षस्थलमा रहेको प्राचीन हरिद्वार चतराधामको पवित्र कुम्भ नगरीमा सहभागी हुन पाउँदा सुखानुभूति भएको उल्लेख गर्दै चतराधाम नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार प्राकृतिक सम्पदा, धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्धनमा लागिपरेको बताए ।

उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै नगर प्रमुख तथा वाह्रवर्से पिण्डेश्वर पुर्णमहाकुम्भ मेला मूल समारोह समितिका सहअध्यक्ष रमेश कार्कीले पूर्ण महाकुम्भ मेला आयोजनामा सङ्घीय र प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गरेको बताए ।

उनले वराहक्षेत्रलाई धार्मिक नगरीको रूपमा विकास गर्न स्थानीय सरकारले योजना बनाएको यसलाई सहयोग गर्न प्रदेश तथा सङ्घीय सरकारलाई आग्रह गरेका थिए ।

नेपाल राष्ट्रका प्रथम जगद्गुरु तथा कुम्भ मेलाका सुरुवातकर्ता जगद्गुरु वालसन्त मोहनशरण देवाचार्यले चतराधाममा लाग्ने नेपालको एक मात्र कुम्भ मेलाको पूर्ण रूपमा स्वामित्व सरकारले लिनु पर्ने बताए । कुम्भको विधानमा उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको उनले बताए ।

अमृतको थोपा झरेको भारतको मध्य प्रदेश स्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएको र नेपालको चतराधाममा अमृतको तर भेटिएकोले यसको महत्त्व र महिमा ठुलो रहेको उनको भनाइ छ।

कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ-जहाँ अमृत खस्यो त्यहाँ-त्यहाँ कुम्भ मेला लाग्ने र नेपालको चतराधाममा अमृतको पिण्ड नै खसेकाले चतराधाम कुम्भको राजधानीको रूपमा स्थापित भएको उनले बताए ।

चतराधाममा पहिलो पटक २०५९ सालको चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत्र ६ गते देखि वैशाख शुक्ल तृतीया सम्म १ महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो । जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो ।

चतराधाममा २०६३/०६४ मा दोस्रो कुम्भ, २०७०/०७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला सम्पन्न भइसकेको छ।

Kumbha Mela 1 9Kumbha mela 4 5Kumbha Mela 3 2Kumbha Mela 6 1Kumbha mela 5 1