इटहरी : इटहरी उपमहानगरपालिकाको तीन वटा दमकल जलेपछि दमकल विहीन भएको इटहरीको विषय संघिय संसदमा उठेको छ । प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीले लामो समय प्रमुख व्यापारिक नगर इटहरी दमकल विहीन रहेको हुँदा दुर्घटनाको जोखिम बढेको बताए । 
बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै चौधरीले जेनजी आन्दोलनको क्रममा जलेका दमकलको कारण आगलागी नियन्त्रणमा समस्या भएको उल्लेख गरे ।
दमकल जलेपछि मुख्य बजार क्षेत्रमा लगातार तीन वटा भीषण आगलागीका घटना भएको बताउँदै उनले आगलागीमा करोडौँ रुपैयाँ बराबरको जनधनको क्षति पुगेको बताए । 
बारम्बारका आगलागीको कारण व्यवसाय ध्वस्त भएको र कैयौँ परिवार प्रभावित बनेको उनले सुनाए । उनले भने, ‘दमकल अभावका कारण आगो नियन्त्रणमा ढिलाइ हुँदा नागरिकहरू आफ्नै आँखाअगाडि आफ्नो सम्पत्ति जल्दै गरेको हेर्न बाध्य भएका छन् ।’ 
त्यससँगै उनले जनताको करबाट खरिद गरिएका करिब १५ करोड रुपैयाँ बराबरका सार्वजनिक सवारी साधनको बिमा नगरिएको भन्दै ध्यानाकर्षण गराए । जनताको सम्पत्तिमाथि लापरबाही गर्ने जनप्रतिनिधिमाथि उच्चस्तरीय छानबिन र कारबाहीको माग गरेका छन् । 
यसअघि पनि इटहरीको जनता माविको अस्थायी व्यवस्थापन समिति गठनमा दलीय भागबन्डा भएको भन्दै विरोध जनाएका थिए । इटहरीका मेयर हेम कर्ण पौडेलले मेडिकल व्यवसायीबाट मोटो रकम लिएको विषयमा समेत उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।