धरान : यातायात व्यवसायी तथा धरानका पूर्व मेयर तिलक राईले साँघुरो बसपार्कको कारण अव्यवस्थित भानुचौकको भिडभाड कम गर्न धरान–८ मा बनेको नयाँ बसपार्क सञ्चालन बाहेकका अन्य विकल्प नभएको बताएका छन् ।
उनले भने ‘भानुचौकको भिड कम गर्ने विकल्पको रूपमा बसपार्क बनेकोले त्यसको उपयोग गर्न जरुरी छ ।’ नवनिर्मित बसपार्कको जग्गा बसपार्ककै योजना अनुसार खरिद नगरिएकोले हाल आएर प्रवेश माग सहित जग्गाको पूर्वाधारमा कमी देखिएको पूर्व मेयर राईले बताए ।
धरान विचार मञ्चका अध्यक्ष डा.आनन्द आचार्यको टोलीसँग बिहीबार कोशी बस व्यवसायी सङ्घको कार्यालयमा बसपार्क सञ्चालकमा समस्याहरूका बारेमा छलफलको क्रममा उनले उक्त कुरा बताएका हुन । मञ्चले यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठ, धरानका पूर्व उपमेयर मञ्जु भण्डारीसँग पनि छलफल गरेको थियो ।
धरान–८ नवनिर्मित बसपार्क बनेको जग्गा करिब ३० वर्ष अघि धरान उपमहानगरपालिकासँग सहकार्य गरेको विदेशी दातृसंस्था जीटिजेडले सुरु गरेको जग्गा विकास योजनाबाट खाली गरिएको जग्गा हो । पूर्व मेयर राईले भने ‘सुन्दर बस्ती विकाश नामक आयोजनाको जग्गा विकासबाट निस्कने खाली जग्गामा बसपार्क बनाउने योजना भने थिएन ।’
त्यति बेला भानुचौकको बसपार्क साँघुरो भएको कुरा पनि उठेको थियो, योजनाका जग्गा दाताहरूलाई आकर्षण पनि हुने बसपार्क पनि बन्ने दृष्टिकोणले तत्कालीन धरान नगरपालिकाले बसपार्क बनाउने घोषणा गरेको हो । पूर्व मेयर राईले भने ‘तरपछि योजनाले नगरपालिका कर्मचारीहरूकै नाममा पनि जग्गा छुट्टाएको पाइएको हुँदा विवाद तिसौँ वर्ष सम्म चल्यो ।’
जग्गाको विवादसँगै बसपार्क निर्माणको बजेटको खोजीमा पनि धेरै समय लागेको उनले बताए । उनले भने ‘मेरो कार्यकालमा प्रदेश र सङ्घीय सरकारसँग ताकेता गरेर बजेट सुनिश्चितता भएपछि प्रदेश सरकारको डिजाइन अनुसार ठेक्का सम्झौता भएको हो ।’
उनका अनुसार जग्गा विकास योजनाको जग्गामा बनेकोले बस टर्मिनल भवन ठुलो देखिए पनि बस पार्किङ स्थल छैन । बसपार्क भित्र र प्रवेश सडकहरूको चौडाइ साँघुरो छ । बसपार्कको नक्सा बनाउँदा विद्युतिया सवारीको कल्पना गरिएको थिएन । इभी गाडी र त्यसको चार्जिङ स्टेसन बसपार्कमा छैन ।
त्यति बेला धरानमा ट्याक्सी, ट्याम्पो र सफारीको लागि पर्याप्त पार्किङ स्थलको कल्पना पनि गरिएको थिएन । जे भए पनि भानु चौकबाट बसपार्क सार्नुको विकल्प नभएकाले तत्काल समस्याहरू समाधान गरी नयाँ बसपार्क सञ्चालन गर्ने बारे उपमहानगरपालिकाले बस व्यवसायीहरुसंग सहकार्य गरिरहेको उनले बताए ।
कोशी बस व्यवसायी सङ्घका अध्यक्ष समेत रहेका राईले भने ‘सबै भन्दा धेरै उठेको प्रश्न भनेको नजिकका यात्रुले बसपार्क सम्म टाढो भयो भन्ने छ ।’ त्यसको लागि बसपार्क सम्म ट्याम्पो, सफारीले गोटा, गन्तीले ३० रुपया सम्ममा पुर्याउनु पर्ने वार्ता चलिरहेको उनले बताए । उनका अनुसार धरानमा नगर बस जरुरी छ, तर ट्याम्पो र सफारीले नगर बस चल्न दिने अवस्था देखिन्न ।
यातायात व्यवसायीहरूले बसपार्कमा प्रवेशै नगरी बाहिरबाटै यात्रु चढाएर हिँड्ने सवारीहरूलाई कसरी नियन्त्रण हुन्छ भन्ने प्रश्न उठाएको उनको भनाई छ । उनका अनुसार उत्तर पहाडी रुटबाट आउने यात्रु बसहरू भानु चौक ननिस्कन भौडिबाट सदन स्कुल, बरगाछी हुँदै बसपार्क प्रवेश गराउन सडकको मर्मत सम्भार गर्न माग गरिएको छ ।
राईले भने ‘धरानमा सार्वजनिक यातायातका बाहिरबाट आउने लामो दुरीको छोटो दुरीको सवारी दैनिक कति आउने जाने गछैन त्यसको यकिन तथ्याङ्क छैन ।’ तर सबै भन्दा बढी धरानबाट चल्ने सार्वजनिक बसहरू धरान–विराटनगर र धरान देखी पूर्वको रुटमा चल्ने बसहरू धेरै छन् । धरानमा हुने गाडीको भिडभाड ती बसहरूको हो । काठमाण्डौ, पोखरा पश्चिम लामो दुरीका बसहरू एक टाइममा छुट्ने र आउने भएकाले उनीहरूको व्यवस्थित पार्किङ स्थल जरुरी भएको उनले बताए ।
धरान विचार मञ्चले तिसौँ वर्षमा बनेको र बिसौँ करोड लागतको बसपार्कको उपयोग नभइरहेको विषयमा चासो राखेको हो । उपमहानगरपालिकामा ५ जना मेयर बदलिई सकेको छ । तर बन्नु अघि र बनेपछिको समस्या कसरी हल गरी बसपार्क प्रयोगमा ल्याउन सकिन्छ भनी सम्बद्ध पक्षसँग छलफल गरेको हो ।
संयोजक आचार्यका अनुसार निर्माण र सञ्चालन सम्बद्ध पक्षहरूसँग छलफल गरेपछि उनीहरूबाट आएका समस्या तथा समाधानको उपाय सहित मञ्चले प्रतिवेदन तयार गर्नेछ । उनले भने ‘हामी प्रतिवेदन सहित धरान उपमहानगरपालिका हालका कार्यवाहक मेयरसाब सँग छलफल गरी निष्कर्ष निकाल्न सुझाव दिनेछौँ ।’