धरान : सरकारको विभेदकारी विज्ञापन नीतिको विरोध गर्दै सुनसरीका पत्रकारहरूले आज शनिवार सार्वजनिक रूपमा सामूहिक हस्ताक्षर गरेका छन् ।
नेपाल पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन स्वरूप  नेपाल पत्रकार महासङ्घ सुनसरीको धरान स्थित कार्यालयमा सामूहिक हस्ताक्षर गर्दै  सरकारको विज्ञापन सम्बन्धी निर्णयप्रति असन्तुष्टि जनाएको हो ।
महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले सरकारले श्रमजीवी पत्रकारको श्रम र स्वतन्त्र सञ्चारमाध्यमको अस्तित्वप्रति संवेदनशील नबनी खर्च कटौतीको बहानामा सबै तहका सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गरेको बताए ।
उक्त निर्णयले निजी तथा स्वतन्त्र सञ्चारमाध्यम माथि विभेद गरेको भन्दै त्यसको विरोध स्वरूप हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरिएको उनको भनाई छ ।
महासङ्घले सरकारलाई विज्ञापन नीति पुनर्विचार गरी सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न आग्रह समेत गरेको छ ।