धरान : प्रकृतिको पूजा अर्चना गर्ने नेपाली संस्कृति अनुसार आज बिहीबार वैशाखे पूर्णिमाको दिन धरानमा किरात राई, लिम्बु, यख्खा, सुनुवार समुदाय उभौलीका विभिन्न सांस्कृतिक, धार्मिक कार्यक्रममा व्यस्त रहे ।
यसै बेला संसारमा चर्चित धरान विजयपुर स्थित बुढासुब्बा मन्दिरमा सदा झैँ बाजागाजा सहित फूलपाती भित्र्याएर श्रद्धालुहरूको ठुलो भिडभाडका पूजा अर्चना सम्पन्न भएको छ ।
नेपालमा दसैँको फूलपातीका दिन राजधानी काठमाडौँमा गोरखाबाट ल्याएको फूलपाती हनुमान ढोकामा भित्र्याउने प्रचलन अहिले पनि छ । बुढासुब्बामा भने वैशाखे पूर्णिमाको दिन फूलपाती भित्र्याउने चलन सैयौं वर्ष अघि देखी चल्दै आएको मुख्य पुजारी, व्यवस्थापन समितिका सचिव उत्तम आले बताउँछन् ।
फूलपाती सेन वंशी राजाले वुढासुब्बा मन्दिरका मगर पुजारीका पुर्खालाई दिएको निशान छाप सहितका खुँडाहरू राखिएको पूजा घरबाट बाजागाजा झण्डा, लिङ्गो सहित ल्याइने आलेले बताए । समाधीस्थल जस्तो ढिस्कोमा लगाउने चाँदीका मुकुट सहितका गहनाहरू पनि वैशाखे पूर्णिमाको दिन मात्र लगाने उनले बताए ।
उनका अनुसार फूलपाती भित्र्याएपछि उहिले ४ देखी ५ दिन सम्म पूजा अर्चना हुन्थ्यो । अचेल पूर्णिमाको अघिल्लो दिन मन्दिर परिसरमा रहेको टुप्पो विनाको बाँसहरू काटेर, भोलीपल्ट फूलपाती भित्र्याएर बाँसका टुक्राहरू प्रसादको रूपमा भक्तजनहरूलाई घर लैजान बाँडिने चलन छ ।
स्थानीय व्यवसायी प्रेमप्रसाद पराजुलीका अनुसार बाँस टुक्रा घरमा राख्दा फलिफाप हुने जनविश्वास रहेको छ । उनले भने ‘त्यसैले मैले पनि घरमा राख्ने गरेको छु ।’ उनले टुप्पो बिनाको बाँसहरू अन्य स्थानमा नहुनुमा बुढासुब्बाको आफनै किंवदन्ती रहेको बताए ।
किम्बदन्ती अनुसार बुढासुब्बा र उनकी बहिनी सिकार खोल्दै विजयपुरमा आइपुगेका थिए । अहिले बुढासुब्बाको मन्दिर भएको स्थलमा दाजु बहिनीले समाधि लिएका हुन । पछि बुढासुब्बाले सिकार खेल्न प्रयोग गरेको धनुषको वाण त्यहाँ टुप्पो बिनाको बाँसको रूपमा उम्रिएर ठूल्ठूला झेयाङ भएको किम्बदन्ती छ ।
बुढासुब्बामा दाजु बहिनीको मन्दिर, वैशाखे पूर्णिमामा भित्र्याइने फूलपाती, समाधि स्थल बारे विभिन्न इतिहासमा गरिएका दाबी र त्यहाँ फूलपातीमा चढाइने रक्सी, बिँडी, चुरोट र सुँगुर सहित कुखुराका भाले र पोथी समेतको बली प्रथाले छुट्टै प्रकृतिको धार्मिक स्थलका रूपमा बुढासुब्बा स्थापित छ ।
इतिहासमा किरातकालीन राजधानी मानिएको विजयपुर स्थित बुढासुब्बा धार्मिक स्थलको प्रथाको प्रारम्भ र प्रचलनका बारेमा भने पर्याप्त खोज अनुसन्धान भएको पाइन्न ।
मुख्य पुजारी आले भन्छन् ‘बुढासुब्बा बाजेप्रति सबै धर्मका श्रद्धालुहरूमा अटुट विश्वास भएकोले अरू धार्मीकस्थलहरु भन्दा फरक किसिमको लाग्नु स्वाभाविक हो ।’ उनका अनुसार पछिल्लो समय वैशाख पूर्णिमा बुद्ध जयन्ती पनि परेकोले बली चढाउनेहरू घटेका छन् ।
संसारमा मिडिया मार्फत चर्चामा आइरहने धरान स्थित छुट्टै किसिमको धार्मिक स्थलमा हुने धार्मिक, संस्कृति गतिविधिलाई पर्यटनसँग जोड्ने कार्यप्रति भने स्थानीय सरकारले अहिले सम्म चासो नलिएको व्यवसायी पराजुलीले बताए ।
उनले धरानमा धार्मिक पर्व तिथि अनुसार विजयपुरका मन्दिरहरूमा महोत्सवको माहौल बन्ने बताउँदै भने ‘बुढासुब्बामा वैशाखे पूर्णिमा गरिने र हुने ठुलो चहल पहललाई स्थानीय सरकारले बुढासुब्बा जयन्तीको रूपमा मनाउन जरुरी छ ।
उनले धरानमा पहिचान र इतिहास कायम गर्ने कुरा चलिरहे पनि संस्कार संस्कृति संरक्षण सम्बद्र्धनमा मौन रहेको बताए । बुढासुब्बा स्थानीय सरकारको सम्पत्ति र पुँजी भए तापनि उपमहानगरपालिकाले बुढासुब्बालाई धार्मिक पर्यटनसँग जोड्ने कहिल्यै चासो नराखेको उनको आरोप छ ।
इतिहासकारहरूले बुढासुब्बालाई तत्कालीन किरात राज्यका राजा बुद्धिकर्ण रायको समाधि स्थल भनेर उल्लेख गरे पनि बुढासुब्बा जयन्तीका बारे पहिचान पक्षधरहरूले पनि उक्त धार्मिक स्थलप्रति खासै चासो नराखेको पराजुलीले बताए ।
उनले भने ‘पहिचानवादीहरूले चासो दिनु पर्थ्यो किनभने विजयपुरको बूढासुब्बा किराँती तथा गैरकिरातीहरूका लागि महत्त्वपूर्ण धार्मिक स्थलको रूपमा स्थापित छ ।’ यसबाट अहिले सम्म धार्मिक, सांस्कृतिक सद्भावको जुन सन्देश समाजमा गइरहेको छ त्यसलाई व्यापक बनाउँदा धरानलाई उदाहरणीय बनाउन सकिन्छ ।
बुढासुब्बाको विकासका बारेमा धरान १४ वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बुढासुब्बाको व्यवस्थापन र प्रवर्द्धनमा आफू लागि परेको बताए । उनले वडाकै खर्चमा रङरोगन, सरसफाइ, पर्खाल घेरा बारा लगाएको बताए ।
उनका अनुसार विशेष पूजामा आफू लगायत वडा सदस्यहरू उपस्थित हुने गरेको बताउँदै उनले भने ‘‘वडाले गर्ने काम गरिरहेको छ तर उपमहानगरपालिकाले खासै चासो नदिएको सत्य हो ’।