धरान : नेपालको धार्मिक, पर्यटकीय गन्तव्य धरानको विजयपुर स्थित धार्मिक स्थलहरूमा दशैंको तयारी सुरु भएको छ । पूर्वको प्रमुख शक्ति पीठ दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर र ऐतिहासिक किरातकालीन दरबार स्थल पञ्चकन्या यहाँका प्रमुख पर्यटकीय एवं धार्मिक गन्तव्य हुन् ।
धरानको पर्यटन प्रवर्द्धनमा ठुलो भूमिका खेल्दै आएको धार्मिक स्थलहरूका लागि चाडपर्वका अवसरमा रङ्गरोगन लगायत सजावटका लागि सरकारी बजेट भने हुन्न । सोमवार अपराह्न बुढासुब्बा पुग्दा मन्दिरका पुजारी, सहायकहरू आफै रङ्ग रोगनमा जुटेका देखिए ।
पर्यटनमा योगदान दिदैं आएका धार्मिक स्थलहरूलाई दशैंका बेला आकर्षक बनाउने, रङ्गरोगन, सरसफाइ लगायत तयारीका कार्यमा स्थानिय सरकारले समेत चासो राख्ने गरेको छैन । त्यसैले सीमित श्रोत, साधन लगाएर उनीहरू आफै तयारीमा जुटका हुन ।
आउँदो असोज २८ देखी दशैंका काउण्ट डाउन नवरात्री सुरु हुँदैछ। नवरात्रीको पहिलो दिन देखी दशमी सम्म प्रमुख धार्मिक स्थलहरूमा श्रद्धालु सहित युवा युवती प्रातकालिन भिडभाड यहाँ उल्लेख्य रहँदै आएको छ । अष्टमी र नवमीका दिन विजयपुरमा हुने बलिपूजा, श्रद्धालुको भीडको रौनक धरानमा दसैँ विशेष पर्व बन्दै आएको छ ।
कुनै धर्म विशेषसँग नजोडिको बुढासुब्बा मन्दिर यसको इतिहासका कारण विदेशबाट आउनेहरूका लागि पनि विशेष चासोको विषय बन्दै आएको छ । राज्यले बेवास्ता गर्दै आएको बुढासुब्बा मन्दिरका विकासमा पछिल्लो समय श्रद्धालु र पुरातत्त्व विभागको लगानीमा केही काम भएको व्यवस्थापन समितिका सचिव मुख्य पुजारी उत्तम आले बताउँछन् ।
दशैंका लागि सरकारी बजेट नपाइने भएकोले सीमित साधन श्रोतबाट मन्दिरलाई आकर्षक बनाउन रङ्गरोगन, सरसफाइ ध्वजा पताका लगाइने उनले बताए । बुढासुब्बामा दसैँ र बैशाखे पूर्णिमाका दिन विशेष पूजा आयोजना गरिने हुनाले श्रद्धालु, दर्शनार्थीहरुको अत्यधिक भीड हुने गर्दछ ।
बुढासुब्बाको बाहिरी रङ्ग रोगन बाहेक दशैंको नवमीका दिन भित्री गर्भ गृहको सजावट विशेष रहने गरेका पुजारी आलेले बताए । उनका अनुसार उक्त दिन बुढासुब्बाको मुख्य स्थललाई चाँदीको मुकुट लगाइने गरिन्छ । चाँदीकै छतरी ओढाइ पूजा अर्चना गरिन्छ । पूजाका बेला चाँदीको धनुष-काँड पूजा स्थलमा राखिन्छ ।
नवमीकै दिन पुजारीको घरमा राखिएको ताम्र पत्रको ‘निशान छाप’ पञ्चै बाजा गाजाका साथ मन्दिरमा ल्याएर पूजा अर्चना गरिन्छ । उक्त निशान छापा विजयपुरमा राज्य गर्ने सेनकाल भन्दा अघिको भएको  व्यवस्थापन समिति सचिव आले बताउँछन् ।
उनले भने ‘विजयपुरमा सेनवंशी राजाहरूका बेला बुढासुब्बा मन्दिर स्थापना भएको केही इतिहासकारहरूले लेखेका छन्, तर निशान छाप हेर्नेहरूले सेनकाल भन्दा अघिको निशान छाप भएको बताएका छन् ।’ उक्त निशान छाप विजयपुरका मगर परिवारका पुर्खालाई बुढासुब्बा मन्दिरको पूजा अर्चनाको जिम्मा दिदैं प्रदान गरिएको हो । बुढासुब्बा धेरै किम्बदन्ती र इतिहासमा जोडिएको पाइन्छ ।
बुढासुब्बामा नवमीका दिन सबै भन्दा पहिले पुजारीका परिवारबाट चढाउन ल्याइएको सुँगुरको बलि दिन प्रचलन छ । पुजारी तर्फबाट सुँगुर सहित २ वटा कुखुरा, १ हाँस बलि दिएर पूजा अर्चना सकिएपछि सर्वसाधारण श्रद्धालुहरूले बलिका लागि ल्याएका सुँगुर, कुखुरा बलि चढाउने पुजारी आलेले बताए ।
सम्भवतः नेपालमा सुगुँर भोग बलि चढाउने एउटै मन्दिर बुढासुब्बा मानिँदै आएको छ । दसैँमा बली चढाउनेहरूको सङ्ख्या हजारौँ हुने गर्दछ ।आदिवासी जनजाति समुदायका घरायसी धार्मिक कार्यमा सुँगुर लगायतको बलि चढाउने प्रचलन छ । सार्वजनिक धार्मिकस्थल बुढासुब्बामा सुँगुर बली चढाइने भएकाले बुढासुब्बाको विशेषता एउटै धर्म सँग जोडिएको मानिन्न ।
तथापि बुढासुब्बा मन्दिरमा सबै धर्मावालम्बीहरुको समान आस्था रहेकाले सबै जाति समुदाय यहाँ दर्शन, पूजा अर्चना गर्न आउँछन् ।
        
                    
        
                                        
                                                                                                
        
                
                
                
                
                
        
        
















        
        
















































