धरान : पछिल्लो समय युवा युवतीहरूमा आकर्षणको केन्द्र बनेको धार्मिक स्थल बुढासुब्बा मन्दिर वरिपरि काठको कलात्मक रेलिङ लगाउन थालिएको छ । बुढासुब्बा मन्दिरको सौन्दर्यीकरणको दिशामा भइरहेको यो पछिल्लो कार्य हो ।
बुढासुब्बाको परिसर प्राकृतिक अवस्थामा भएकाले पनि नयाँ पुस्ताका लागि आकर्षणको केन्द्र बनेको हो । टुप्पो नहुने ठुलठुला बाँसका झ्याङ वरिपरि अटुट माया–प्रेमको स्मृतिमा बाँधिएका रंगीचंगी डोराहरूले बुढासुब्बा प्रति उनीहरूको आस्था झल्काउँछ ।
पछिल्लो समय सेल्फी, टिकटक, फोटो शेसनका लागि यो आस्थाको केन्द्रको प्रकृति लोभलाग्दो बनेको छ । यहाँ आउने तिर्थालु वृद्धवृद्धाहरु पनि शान्तिपूर्ण वातावरणको प्राकृतिक दृश्यबाट आह्लादित हुन्छन् ।
सुन्दर प्रकृतिका बिच बुढासुब्बा मन्दिरलाई मौलिक नेपालीपनमा थप सजाउन परम्परागत काठका रेलिङ लगाउन थालिएको हो ।
रेलिङको काम पुरा भएपछि सेल्फी, फोटो, टिकटकको लोकेसन मन्दिरमा केन्द्रित हुने अनुमान गर्न सकिन्छ । बुढासुब्बा मन्दिरका अध्यक्ष मुख्य पुजारी उत्तम आलेका अनुसार रेलिङमा पित्तलको प्लेट र त्यसमाथि बत्ती बाल्ने स्थायी दियो जडान गरिने छ ।
रेलिङ सखुवाका काठमा बुट्टा कुदेका खुट्टीहरूले अड्याइएका छन् । रेलिङ सहित मन्दिर वरिपरि श्रद्धालुहरू द्वारा १००८ बत्ती बाल्न सुविधा हुने स्थायी पित्तलका दियो जडान गरिने छ ।
सबै काम नवराज गिरीको व्यक्तिगत सहयोगमा
करिब ८ देखी १० लाख रुपया सम्म खर्च हुने यो काम सरकारी बजेटबाट भने भइरहेको भने होइन । अध्यक्ष आलेका अनुसार सबै कार्य सङ्गीत व्यवसायी नवराज गिरीको व्यक्तिगत अनुदानबाट भइरहेको छ ।
हाल काठमाण्डूमा रहेका तरहरा हाँसपोसाका गिरीले यसअघि देखी बुढासुब्बा मन्दिरको स्वरूप बदल्ने कार्यमा मुख्य भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
मुख्य पुजारी आलेका अनुसार उनले यसअघि बुढासुब्बा मन्दिर र माथिल्लो बहिनी सुब्बिनीको मन्दिरका गजुरमा सुनको जलप आफ्नै लगानीमा लगाएका हुन । दुई वटा गजुरमा करिब ८० ग्राम सुनको जलप लगाइएको आलेले बताए ।
गिरीकै साथ सहयोगमा पुरातत्त्व विभाग र पर्यटन विभागबाट बुढासुब्बा मन्दिरलाई भूकम्प प्रतिरोधक प्रविधिमा नयाँ मौलिक स्वरूप दिन पटक पटक गरी २० लाख रुपयाको कार्य भएको बताइएको छ । सोही क्रममा पर्यटन बोर्डले बुढासुब्बाको छाना पित्तलको लगाएको हो ।
सुधारका कार्यहरूमा मन्दिर भित्र जीर्ण अवस्थाका धुरी सखुवाका मोटा बिमहरुले वैज्ञानिक रूपमा बाँधिएका छन् । बाहिर सखुवाका मोटा मोटा खम्बाहरू जडान गरिएका छन् । सबै काम पुरातत्त्वको रेखदेख प्रविधि अनुसार भएको हो ।
यसअघि बुढासुब्बाको बहुचर्चित टुप्पो नभएको बाँस नष्ट हुन लागेको गुनासो बढेपछि धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राईले प्रविधि अध्ययन गराएका थिए ।
अध्ययन प्रतिवेदन अनुसार त्यहाँ बनेका सिमेन्टका संरचनाहरू हटाएर वातावरण मैत्री प्रविधिमा संरक्षण कार्य भएपछि अहिले बाँसका झ्याङहरूमा प्राकृतिक परिवर्तन आएको सङ्केत देखिएको अध्यक्ष आलेले बताए ।
उनले भने ‘पुरातत्त्व सरकारी बजेट योजना अनुसार भने जस्तो नआए पनि जसोतसो सुधारका कामहरू भइरहेका छन् ।’ उनका अनुसार व्यवसायी नवराज गिरीले यसमा ठुलो सहयोग पुर्याएका छन् ।
बुढासुब्बाको नाममा काठमाण्डू गएर व्यवसाय सुरु गरेपछि सफल भएको हुँदा सङ्गीत व्यवसायी गिरीलाई बुढासुब्बाको लागि केही गर्नुपर्छ भन्ने लागेपछि उनले मन्दिरका सुधारका कामहरूमा आर्थिक लगानी देखी सहजीकरणको सहयोग गर्दै आएको मुख्य पुजारी उत्तम आलेले बताए ।
बुढासुब्बा विजयपुरको किरातकालीन इतिहाससँग जोडिएको छ । यसको मिथकीय किम्बदन्तीहरूले नेपाली समाजमा धार्मिक आस्था मानवीय समवेदनासँग जोडिने भावनात्मक कथा पाइन्छ ।
युवा पुस्तालाई सनातनी धार्मिक आस्थाप्रति आकर्षित गर्ने बुढासुब्बाको महत्त्व आदिवासी समुदायमा आधारित मिथकका कारण पनि परम्परागत धार्मिकस्थलहरु भन्दा फरक छ ।