धरान : रक्तदानबाट प्राप्त रगत बिरामीलाई लगाउँदा सानो त्रुटि मात्र भएमा पनि जीवन बचाउनुको सट्टा ज्यान जाने अवस्था पनि आउन सक्छ ।
पछिल्लो समय रगतमा भएको तत्त्वहरू छुट्ट्याएर आवश्यक अंश मात्र बिरामीलाई दिइने प्रविधिको विकाश पनि भएको बारेमा शनिवार सरोकारवालाहरुसंग अुनशिक्षणमुलक छलफल भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीलाई रगत ट्रान्सफर गर्ने गराउने विभागहरूका डाक्टर, विभागीय प्रमुख, स्टाफ नर्सहरू, रेडक्रस ब्लड बैङ्कका प्राविधिकहरू सँग दोहोरो छलफल गरिएको हो ।
रेडक्रस सोसाइटी सुनसरीद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा रेडक्रसको केन्द्रीय रक्त सञ्चार सेवाका वरिष्ठ प्राविधिक सञ्जीवकुमार यादवले भने ‘सानो त्रुटिले पनि ज्यान बचाउन दिइएको रगतले बिरामीको ज्यान जान सक्छ ।’
रक्तदानबाट प्राप्त रगतलाई ठिक समय, ठिक रगत समूह र सही बिरामीलाई प्रयोग गर्ने कुरा अस्पतालमा कार्यरत डाक्टर, नर्स, ब्लड बैङ्कका प्राविधिक र बिरामीको आफन्तको प्रत्यक्ष सरोकारको विषय भएको उनको भनाई छ ।
उनले भने ‘ब्लड बैङ्कबाट ल्याइएको रगत बढीमा आधा घण्टा भित्र बिरामीमा ट्रान्सफर भइसक्नु पर्छ ।’ ब्लड बैङ्कबाट रगत ल्याएर ‘चाहिएको बेला चढाउने’ भनेर डाक्टर, नर्सहरूले भन्न नमिल्ने उनले बताए । बिरामीका आफन्तले पनि रगत लिएर एक मिनेट पनि कतै अलमलिन नमिल्ने उनको भनाई छ ।
ब्लड बैङ्कमा उचित तापक्रम मिलाएर राखिएको रगत ठिक समयमा बिरामीलाई नचढाए शरीरको तापक्रमले आफै ग्रहण गर्ने भएकोले बाहिर ल्याएर ‘तातो’मा राख्छु भनेर रगत राखिए त्यसले बिरामीलाई जोखिममा पार्ने उनको भनाई छ ।
फ्रेस ब्लडको बारेमा प्रयोगकर्ता तथा चिकित्सकहरूको भ्रमलाई स्पष्ट गर्नै उनले भने ‘रक्तदानबाट प्राप्त रगत ब्लड बैङ्कमा २४ घण्टा सम्म राखिएको रगतलाई ‘फ्रेस ब्लड’को रूपमा रहन्छ ।’ तत्काल फ्रेस ब्लड नपाइएको अवस्थामा त्यो रगतलाई प्रयोग गर्न सकिने उनको भनाई छ ।
यादवले आफैले गरेको प्रयोगको उदाहरण दिदैं भने ‘कतिपय बिरामीको ब्लड ग्रुप यकिन गर्न कठिन हुन्छ, डाक्टरहरू गम्भीर हुन्न, त्यस्तो बेला प्राविधिकले सबै उपायहरूलाई प्रयोग गर्नुपर्छ ।’ उपचारलाई सफल बनाउन ब्लड बैङ्कका प्राविधिकको ठुलो जिम्मेवारी भएको उनको भनाई छ ।
प्रशिक्षक यादवले पछिल्लो समय रगतमा भएका तत्त्वहरू अलग अलग गरेर बिरामीलाई आवश्यक तत्त्व मात्र दिने प्रविधिको विकास भएको बताए । उनका अनुसार सुनसरी धरान र मोरङको विराटनगरको ब्लड बैङ्कमा त्यो सुविधा उपलब्ध छ । त्यसलाई प्रयोगमा ल्याउन आवश्यक प्रशिक्षण दिएर जाने उनले बताए ।
उनका अनुसार महिलाको रगतको प्लाज्मा प्रयोग प्रायः नगरिने बताउँदै महिलाको रगतमा एण्टिबडी बढी सक्रिय हुने पाइएकाले प्लाज्मा अलग गरेर मात्र प्रयोग हुने गरेको अभ्यास हुन थालेको बताए ।
एकै रगतमा धेरै तत्त्वहरू हुने, त्यस्ता तत्त्वहरू बिरामीलाई हानी पुर्याउने तत्त्व हटाएर आवश्यक तत्त्व मात्र प्रयोग गर्ने नयाँ प्रविधिले सहज बनाएको उनको भनाई छ ।
पछिल्लो समय ‘सिङ्गल डोनर’ व्यक्तिबाट व्यक्तिमा रक्तदाताको अभ्यास बढे पनि त्यस्तो सुविधाको विकास नेपालमा नभएको उनले बताए । त्यसरी प्राप्त रगत प्रयोगमा पनि रक्तदानको शरीरमा हुने एण्टिबडी र ग्रहणकर्ता बिरामीको अवस्था हेरेर मात्र प्रयोग गर्न सकिने उनले बताए ।
प्रशिक्षक यादवले यो गुणस्तरीय रगत सञ्चार सेवाको विषय भए पनि नेपालमा गुणस्तरीय रगतको विषयमा बहस सुरु नै नभएको बताए । उनले भने ‘मुटुको भल्भ फेर्दा लाखौँ पर्ने देखी कम खर्च हुने पनि पाइन्छ, हुनेखानेले लाखौँको भल्भ रोज्छन तर रगतको भने गुणस्तरको ख्यालै गर्दैनन् ।’ तसर्थ गुणस्तरीय रगतको बहस नेपालमा सुरु हुनुपर्ने उनको आग्रह छ ।
रेडक्रस सभापति उमेश थापाले छलफलमा वीपी प्रतिष्ठानमा रगत प्रयोगको त्रुटिले ज्यान समेत गएका घट्नको उल्लेख गर्दै बिरामीलाई रगत चढाउने कुरा अत्यन्तै संवेदनशील विषय भएकाले यसलाई प्रविधिकहरुको जिम्मामा छाडेर डाक्टरहरू बस्न नहुन बताउँदै डाक्टरहरूलाई गम्भीर हुन आग्रह गरे ।
कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले छलफलबाट उच्च रक्तचाप, मधुमेहका बिरामीहरूले रक्तदान गर्दाको जोखिमका कुराबारे जानकारी पाएको बताइन् । छलफलमा वीपीमा कार्यरत डाक्टर, नर्सहरूले आफूले काम गर्दा आइपरेका समस्याहरूका बारेमा जिज्ञासा राखेका थिए ।
रेडक्रस रक्त सञ्चार सेवा स्थापना भएको ५८औँ स्थापना दिवसको अवसरमा आयोजित छलफलमा वीपीका मेट्रोन कला थापा, प्याथोलोजी विभाग प्रमुख प्राडा. अञ्जु प्रधान, प्रोफेसर डा.अरुणकुमार सिंह, रेडक्रस मोरङका अध्यक्ष सुबोधकुमार सिंह लगायत १०० बढीको उपस्थिति थियो ।