धरान : नेपालमा रक्तदानबाट मानिस बचाउन सकिन्छ भन्ने उदाहरण पहिलो पटक २००२ सालमा काठमाण्डौका दयावीरसिंह कंसाकारले रक्तदान गरेर देखाएका थिए ।

नेपाल रेडक्रस सोसाइटीले उनलाई नेपालका प्रथम रक्तदाताका रूपमा मान्दै आएको छ । धरानमा पहिलो पटक बिरामीलाई रक्तदान गर्ने सरला कायस्थ हुन ।

सुनसरीमा रेडक्रसको संस्थापक कायस्थले तत्कालीन हालको वीपी प्रतिष्ठानलाई हस्तान्तरण गरिनु अघि   त्यहाँ स्थित पूर्वाञ्चल क्षेत्रीय अस्पतालमा २०४५ सालतिर धरान-११ की बिरामी कृष्णकुमारी भट्टराईलाई पहिलो पटक रक्तदान गरेकी थिइन् ।

नेपालमा रेडक्रस सोसाइटीद्वारा रक्त सञ्चार सेवा ‘ब्लड बैङ्क’ स्थापना भएको वार्षिकोत्सव मनाउन धरानमा शनिवार आयोजित वृहत् रक्तदान कार्यक्रममा उक्त विषयमा चर्चा भएको हो ।

नेपालमा रेडक्रस सोसाइटीको स्थापना २०२० सालमा भएको थियो । रेडक्रसद्वारा रक्त सञ्चार सेवा भने २०२३ सालमा मात्र सुरु गरिएको थियो । ब्लड बैङ्कको स्थापनाले बर्सेनी लाखौँ बिरामीहरूको समयमा रगत पाउँदा जीवन बचाउने कार्य हुँदै आएको छ ।

रेडक्रस सुनसरीद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्थापक सभापति सरला कायस्थले भनिन् ‘नेपालमा रक्तदानको महत्त्व बुझेपछि अभावमा मानिसको मृत्यु हुने अवस्था प्रायः अन्त्य भएको छ ।’ उनले रेडक्रसले रक्त सञ्चार सेवा सुरु गरेपछि रक्तदानको चेतना बढेको बताइन् ।

सभापति उमेश थापाले पूर्वमा हिजोआज ‘रगत नपाए धरान जानु’ भन्ने कथन बनेको उदाहरण सुनाउँदै सुनसरीमा रेडक्रसको रक्त सञ्चार सेवाले अग्रणी भूमिका खेल्दै आएको बताए ।

उपसभापति मुकुल कायस्थले पछिल्लो समय रगतमा हुने विभिन्न अंशहरू छुट्याउने प्रविधि पनि सुनसरी रेडक्रसको रक्त सञ्चार सेवामा सञ्चालनमा आएको बताए । बिरामीलाई रगत के अंश चाहिएको हो त्यो दिन सकिने अवस्थामा ब्लड बैङ्कको विकास भएको उनको भनाई थियो ।

उक्त अवसरमा धरान वडा ३ र रेडक्रस बिच रक्त सञ्चार सेवा सम्बन्धी सम्झौता पत्रमा सभापति थापा र वडाध्यक्ष विद्या शाक्यबिच हस्ताक्षर भएको छ । सम्झौतामा वडामा बिरामीलाई रगत चाहिए तत्काल निःशुल्क उपलब्ध गराई पछि वडा कार्यालयले शोधभर्ना गर्ने उल्लेख छ ।

कार्यक्रममा कोशी प्रदेश सांसद यशोदा कायस्थको पनि उपस्थिति थियो । सञ्चालन रेडक्रस मन्त्री प्रकाश राईले सञ्चालन गरेका थिए । रक्तदान कार्यक्रम आज दिनभरि सञ्चालन हुने बताइएको छ ।

redcross-news