विराटनगर : विराटनगर मेन रोडका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९० औँ पटक रक्तदान गरेका छन् ।

सोमबार विराट अस्पतालमा उपचारत मोरङ उर्लाबारीका सञ्जय माझीका लागि उनले रक्तदान गरेका हुन् । आइतबार राति उर्लाबारी–४ वरगामीमा भएको मोटरसाइकल दुर्घटनामा परि माझीको अस्पताल भर्ना गरिएका उनको करङ भाँचिएर छातीमा रगत जमेको र शल्यक्रियाका लागि ए पोजेटिभ ताजा रगत आवश्यक भएको डाक्टरले भनेका थिए । त्यसैले ए पोजेटिभ भएका श्रेष्ठले रक्तदान गरेको बिरामीका दाजु भोलानाथ माझीले बताए ।

श्रेष्ठले तीन-तीन महिनामा रगतको आवश्यक परेका बिरामीलाई दिउँसो राति केही नभनी रगत दिँदै आएका छन् । यसअघि पनि उनले वैशाख १९ गते खोटाङ चिसापानीकी उर्मिला राईका लागि उनले रक्तदान गरेका थिए ।

यस पटक तीन महिना पुग्नसाथ रक्तदान गर्न खोजे पनि कोरोना खोप लगाएको २४ दिनपछि मात्र पाइने भएपछि ढिलो गरी रक्तदान गर्नु परेको बताए । कम्तीमा एक सय पटक रगत दिने रहर रहेको श्रेष्ठले बताए ।

विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डा. केएन ठाकुरको कीर्तिमान छ । यस्तै नेपालमा प्रेमसागर कर्मचार्य (काठमाडौँ) १६६ पटक र बढी पटक रक्तदान गर्ने नेपालीमा अर्जुन मैनाली छन् ।

हाल अमेरिकामा रहेका मैनालीले आफ्नो रक्तदानको ३४ औँ वार्षिकोत्सव मनाउँदै शुक्रवार १९९ पटक रक्तदान गरेका हुन् । यस अवधिमा उनले दिएको रगत ५ सय ९७ जनाको जीवन रक्षाका लागि उपयोग भएको जनाइएको छ ।