धरान : महिलाले महिनावारी हुँदा लगाउने सेनिटरी प्याड खरिदमा स्थानीय तहका कर्मचारीहरूले टेण्डर प्रक्रियामै सेटिङ गरी सामुदायिक स्कुलहरूमा गुणस्तरहीन सेनिटरी प्याड दिने गरेको खुलासा भएको छ ।

उनीहरूले टेण्डरमै सेटिङ मिलाएर लाखौँ रकम कमिसन खाने गरेको सरोकारवालाहरूले बताएका हुन ।

एन्जल टच हाईजिन मेनुफेक्चर प्रालीले उत्पादन गरेको प्युर सेनिटरी प्याड बजारमा भने पाइँदैन । बजारमा नपाइने प्याड ७५ जिल्ला मध्ये ६६ वटा जिल्लाका स्थानीय तहमा सेटिङकै भरमा टेण्डरमा पुग्ने गरेको छ ।

सरकारी कार्यालय र सामुदायिक विद्यालयमा मात्र पाइने यो प्याड गुणस्तरहीन भएको सरोकारवालाहरूले बताएका छन् । प्याड गुणस्तरहीन भएकोले प्रयोग गर्दा चाडै लिकेज हुने गरेको गुनासो आउने गरेको छ । उनीहरूले यो प्याड नेपाल सरकारले तोकेको मापदण्ड अनुरूप नरहेको दाबी गरेका छन्।

स्कुलमा छात्राहरू महिनावारी हुँदा ड्रेसमा रगत लाग्ने त्रासले बिचैमा स्कुलबाट भाग्ने गरेका छन् । उनीहरू महिनावारीको समयावधिमा स्कुल आउँदैनन्।

सरकारले लामो दुरीबाट आउने छात्राहरू लुगामा लाग्ने डरले स्कुल नआउने गरेका कारण उनीहरूका लागि विद्यालयमा निःशुल्क प्याड वितरण गर्दै आएको छ । मन्त्रीपरिषद्को निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ बाट सामुदायिक स्कुलमा निःशुल्क प्याड वितरण गर्नुपर्ने व्यवस्था गरिएको हो ।

उक्त निर्णय अनुसार देशभरका २९ हजार सामुदायिक विद्यालयमा नि:शुल्क प्याड वितरण कार्यक्रम सञ्चालन भएको हो ।

सङ्घीय सरकारले प्याड खरिद गर्न विनियोजन गरेको बजेट स्थानीय तहमा पठाउने गरेको छ ।  सरकारको प्याड वितरण कार्यक्रमको कार्यविधि अनुसार तोकिएको मापदण्ड बमोजिमको प्याड खरिद गर्नु पर्ने नियम छ ।

सरकारले कार्यविधि र तोकेको मापदण्ड अनुसार स्थानीय तहका कर्मचारीहरूले गुणस्तरलाई भन्दा कमिसनलाई प्राथमिकता दिएका छन् । प्याड खरिद गर्न टेण्डर प्रक्रियामै सेटिङ हुने गरेकाले विद्यालयमा कमसल गुणस्तरहीन सेनिटरी प्याड वितरण हुने गरेको हो ।

कार्यविधिमा प्याडको साइज २४०+२० एमएम लम्बाई, ६०-७८ एमएम चौडाइ र मोटाई १५+२ एमएम सहित त्यसमा प्रयोग हुने कपडा सुतीको हुनुपर्ने भनिएको छ । तर विद्यालयहरूमा वितरण भइरहेको एकै कम्पनीको प्याड त्यो मापदण्ड अनुसारको गुणस्तरीय छैन ।

स्थानीय तहहरूले टेण्डर आव्हान गर्दा कार्यविधि विपरीत आफूखुसी मूल्य राख्ने गरेका छन् । कम्पनीले बजार खुद्रा मूल्य १०० रुपैयाँ तोकेको छ । तर टेण्डर आव्हान गर्दा थोक मूल्य पनि प्रतिगोटा १ सय रुपैयाँ नै तोकेर सोही मूल्यमा खरिद गर्न टेण्डर स्वीकृत गर्ने गरिएको छ ।

यो प्याड धरान उपमहानगरपालिका, विराटनगर, वीरगन्ज महानगरपालिका, इटहरी उपमहानगरपालिका, बागलुङ नगरपालिका, बर्दिबास, बाह्रबिसे, बेलैरी, भीमेश्वर, भुमिकास्थान, वीरेन्द्रनगर, छायाँनाथ रारा, छिदागडा, धादिङ, धनकुटा, हरिपुर, जलेश्वर, खाँदवारी, कुश्मा, मध्यपुर ठिमी, महालक्ष्मी, नीलकण्ठ, रत्ननगर, सुन्दरहरैँचा, तानसेन, तनहुँग्राम नगरपालिकाले टेण्डर आव्हान गरी खरिद गर्दै आएका छन् ।

धरानका मेडिकल पसलहरूमा बुझ्दा नाम उल्लेख नगर्ने सर्तमा प्याड गुणस्तरहीन भएको उनीहरूले बताए । छिटै लिकेज हुने समस्या प्याडमा रहेको खरिदकर्ताले गुनासो आएकोले धरानका धेरै मेडिकल पसलहरूले यो प्याड नराखेको उनीहरूको भनाई छ । एक पसलले भने ‘प्याड आएको १ हप्तामै सिकायत आएकोले नराखेको हौँ ।’

बजारमा नपाए पनि गुणस्तरीय भएको दाबी  

बजारमा नभएको प्याड स्थानीय निकायमा टेण्डर मार्फत पुगेको एन्जल टच हाईजिन मेनुफेक्चरका म्यानेजर सन्तोष भुषालले बताए । उनले नेपालमै १ नम्बर गुणस्तरीय प्याड निर्माण भएका कारण सबै स्थानीय तहमा पुगेको दाबी गरे ।

स्थानीय बजारमा भने प्याड नपाइने कुरा स्वीकार गर्दै उनले भने ‘कम्पनी स्थापना भएको २ वर्ष मात्र भएकाले सबै शहरको बजारमा उपलब्ध गराउन नसकिएको हो ।’

उनले गुणस्तरीय भएकैले ९/१० वर्ष पुरानो कम्पनीको प्याड छोडेर स्थानीय तहहरूले कम्पनीको प्याड रोजेको दाबी गरे । प्याड सस्तोमा दिएकाले पनि स्थानीय तहले रुचाएको बताए । उनका अनुसार ६६ वटा जिल्लाका सबै स्थानीय तहले कम्पनीको प्याड खरिद गर्दै आएको बताए ।

उक्त कम्पनी लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकामा रहेको उनको भनाई छ । भूषालका अनुसार कम्पनीको दैनिक ६ लाख युनिट प्याड उत्पादन गर्ने क्षमता भएपनि हाल ३ लाख युनिट मात्र उत्पादन गरिरहेको छ ।

उनले कम्पनीले नेपालकै १ नम्बर गुणस्तरीय अल्ट्रा सेनिटरी प्याड उत्पादन गर्ने दाबी गर्दै आईएसओ गुणस्तरीय चिन्ह पनि प्राप्त गरेको उल्लेख गरे । कम्पनीले २१ वटा ब्राण्डको सामान उत्पादन गर्ने बताउँदै उनले भने ‘कम्पनीले जसले जस्तो अर्डर गर्दछ तस्तै उत्पादन गर्ने भएकाले पनि सबै स्थानीय तहमा पुगेको हुन सक्छ ।’