आधुनिक नेपालमा शासन प्रणाली फेरिएको छ, विगतको जस्तो छैन । कुनै वेला हिन्दु धर्म, हिन्दु पर्व, चाडबाड, संस्कृतिले मात्र प्रमुखता पाउँथ्यो ।अहिले त्यस्तो स्थिति छैन ।

त्यसबेला भाषा पनि गोर्खा-खस-पर्वते-नेपाली बाहेक अन्य भाषा सरकारी अड्डा-अदालतमा प्रयोग गर्न संवैधानिक प्रावधान नै थिएन ।

तर अहिले राज्यले नै हाम्रो देश नेपाललाई जातीय विविधता, भाषिक विविधता, धार्मिक विविधता, समावेशिता, सहअस्तित्व आदिलाई स्वीकार गरेको छ । त्यति मात्रै नभएर देशको मूल कानुन, संविधान, ऐन, कानुनका विभिन्न धारा, उपधारहरुमा व्याख्यासहित नेपालका विभिन्न जातजाति, भाषाभाषी, धर्म, लिङ्ग, वर्ग आदिका बारेमा उल्लेख गरिएको छ ।

जुन कुरोलाई राज्यले ढिलै भए पनि सकारात्मक रूपमा लिएर स्वीकार गरेकोमा हामी सबैले राम्रै मान्नुपर्ने हुन्छ । नेपालमा बसोबास गरेका विभिन्न जातजाति, भाषाभाषी, धर्म, लिङ्ग, वर्ग, समूह आदिमध्ये नेवार जाति पनि एक प्रमुख हो । वास्तवमा नेवार एक जाति मात्र नभएर ‘समुदाय’ हो । हुनत धेरै मान्छेहरूलाई थाहा नहुन सक्छ नेपाल ‘संवत्’हरुमा पनि धेरै धनी रहेको छ । अर्थात् नेपाल संवत्हरुमा पनि विविधता भएको देश हो । नेपालमा कलिगत संवत्, किरात संवत् (येले सम्बत), नेपाल संवत्, मानदेव संवत्, मिथिला संवत्, मञ्जुश्री संवत्, लिच्छवी संवत्, विक्रम संवत्, शक संवत्, हिजरी संवत्, सृष्टि संवत्, श्री कृष्ण संवत्, युधिष्ठिर संवत्, कलियुग संवत्, कल्की संवत्, सप्तऋषि संवत्, पृथ्वी संवत् विभिन्न कालखण्डमा प्रचलनमा थिए ।

त्यस्तै नेपालका गुरुङ, तामाङ, शेर्पा, घले, कार्मारोङ, ह्रयोल्मो लगायत हिमाली क्षेत्रका जातजातिहरूको (ल्होसार) संवत्, थकालीको (ल्हो फेवा) संवत्, विदेशीकै भए पनि इस्वी संवत् आदिलाई हेर्दाखेरि नेपालमा दुई दर्जनभन्दा बढी संवत् अस्तित्वमा रहेका थिए ।

तथापि राज्यको दुष्टिमा ती सबै संवत् नपर्नु, संरक्षण नहुनुका साथै मूलधारका भनिएका नेपाली मिडियाहरू र ती मिडियामा कार्यरत पत्रकार, बुद्धिजीवी, लेखक, खोजकर्ता, विश्लेषक, अनुसन्धानकर्ता इतिहासकारको नजरमा परेको छैन । उनीहरूले नलेखिदिनु चर्चा परिचर्चा नगरी दिनु अर्कै कुरो हो । तर त्यसै कारणले कतिपय मौलिक सम्बतको अस्तित्व अहिले ओझेलमा परेको छ ।

त्यसको एक ज्वलन्त उदाहरण हो ‘नेपाल संवत् ।’ ‘नेपाल संवत्’लाई अझै पनि नेपालका कतिपय अनुदारवादी धारका मिडिया, मिडियामा कार्यरत पत्रकार, बुद्धिजीवी, लेखक, खोजकर्ता, विश्लेषकहरूको नजरमा परेको छैन ।

नेपाल सम्बतबारे उपेक्षा गरेका मात्र होइनन् नेपाल संवत् नै पो थिएन कि ? भनी प्रश्न र अविश्वास उत्पन्न गराउने सम्म गरेका पाइन्छ । अझै पनि उनीहरूको आशङ्का छ कतै ‘नेपाल संवत्’ अस्तित्वमै थिएन कि ? त्यही भएर होला, केही लेखक त नेपाल संवत्बारे अझै पनि नकारात्मक ढङ्गले नै लेख्ने र टिप्पणी गर्ने गर्छन् ।

तर, विसं २०६५ साल कात्तिकमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘नेपाल संवत्’ (११२९ को सुरुआतको अवसरलाई सरकारी चिठी पत्रमा आधिकारिक रूपमा ‘नेपाल संवत्’ लेख्ने भनी मान्यता दिलाए । तर तुरुन्तै कार्यान्वयन आएन । अहिले भने ‘नेपाल संवत्’ लाई आधिकारिक रूपमै र अनिवार्य रूपमा प्रधानमन्त्रीको कार्यालयका साथै अन्य सरकारी कार्यालयबाट हुने हरेक पत्राचारमा नेपाल संवत्’पनि लेख्न, उल्लेख गर्न थालिएको छ ।

अबको केही दिनपछि (कात्तिक १७ गते म्ह: पूजाको दिन यो वर्ष तिथि गडबड भएकोले १८ गते) नेपाल संवत् ११४४ सकिएर ११४५ लाग्दैछ । एक कथन अनुसार लिच्छवी राजा राघवदेवको पालामा उनको दरबारमा रहेका राजज्योतिषी सिद्घिवन्तले कुनै विशेष साइतमा भचाकुसी र लँ खु तीर्थ (हाल टेकु दोभान) को बालुवा झिक्दा सुन हुने (सुन मिसिएको) जानकारी दरबारलाई दिइयो ।

त्यो जानकारी थाहा पाएपछि भक्तपुरका तत्कालीन महाजन अर्थात् साहू शंखधर साख्वाले तत्कालीन दरबारका कर्मचारीभन्दा पहिले नै भरियाहरू लगाएर उक्त ठाउँको बालुवा उठाएर लगेको भनिन्छ ।  अर्को कथनमा भरियाहरूले बालुवा बिसाएर बसेको वेला भरियासँग बालुवा किनेर लगेको भनिन्छ ।

त्यसपछि साहू शंखधर साख्वा झनै धनी बने । तर, पछिल्लो भनाइ अर्थात् राजज्योतिषी सिद्घिवन्तले दिएको समयअघि नै शंखधरले लगेको बालुवा सुन भएको र, दरबारका मान्छेहरूले लगेको बालुवा सुन नभएर बालुवा नै भएकोले राजज्योतिषी सिद्घिवन्तले दरबार नै छाड्नु परेको भन्ने भनाइ पनि छ।

जे होस्, शंखधर साख्वाले लगेको उक्त बालुवाचाहिँ सुनमा परिणत भएपछि सौभाग्यवश र रातारात प्राप्त भएको सुन-धनलाई काठमाडौँ भरिका गरिबहरूलाई बाँडेर ऋणमुक्त गराएको अवसरमा ‘नेपाल संवत्’ चलाएका हुन् भन्ने मान्यता र विश्वास छ ।

मान्छेहरू आफू चर्चित हुन जे पनि गर्ने गर्छन् । तर ‘शंखधर साख्वा’ले आफू चर्चित हुन र आफ्नो नाममा नेपाल संवत्को सट्टा ‘शंखधर साख्वा’ राख्न किन मरिहत्ते गरेनन् ? किन देशकै नाममा संवत् चलाउन लगाए ? यसले अवश्य नै उनको निःस्वार्थीपना र महानताको झलक दिन्छ ।

उनको यो पक्षको हामीले खुलेरै प्रशंसा गर्नु पर्नेहुन्छ । हुन त यसरी नेपालबाटै नेपालीले नै चलाएको विभिन्न मौलिक संवतहरु थुप्रै हुँदाहुँदै पनि हामीले अझसम्म भारतको कुनै राज्यको तत्कालीन राजाको नाममा चलेको भारत, वैशालीका राजा विक्रमादित्यको नाममा चलेको विक्रम संवत्लाई नै नेपाली संवत्को रूपमा चलाई रहेका छौँ, मानी रहेका छौँ ।

अझै पनि नेपालका केही राष्ट्रवादी लेखकहरू विक्रम संवत् भारतको नभएर नेपालकै हो ! भन्ने आशयको लेख लेखिरहेका छन् । तर विक्रम संवतको बहस तीतो वा वा मीठो जे भए तापनि यथार्थ त यर्थाथ हो । यसरी हेर्दा पूर्ण लोकतन्त्र मात्रै होइन, गणतन्त्र नै आईसको नेपालमा राज्यले अझै पनि ‘नेपाल संवत्लाई देशव्यापी रूपमा प्रचलनमा ल्याउने पहल भएको छैन ।

वि.सं २०६५ साल कात्तिकमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘नेपाल संवत्’ (११२९ को सुरुवातको अवसरमा) नेपाल सरकारले राज्य स्तरबाटै मान्यता दिएर प्रधानमन्त्रीको कार्यालयबाट हुने हरेक पत्राचारहरूमा ‘नेपाल संवत्’ उल्लेख गरिने निर्णय भएको थियो । पछिल्लो समयमा आएर बल्ल प्रधानमन्त्रीको कार्यालयका साथै हरेक सरकारी चिठी पत्र पत्राचारमा ‘नेपाल संवत्’ उल्लेख गर्ने, लेख्ने गरिन्छ पनि ।

यसरी हेर्दा नेपाल देशकै नाममा रहेको मौलिक संवत् ‘नेपाल संवत्’लाई जनस्तरमा हामीले किन प्रयोगमा किन नल्याउने भन्ने प्रेरणा जगाएको छ । अझै पनि विदेशी संवत् अर्थात् भारतको उज्जैन राज्यका तत्कालीन राजा विक्रमादित्यको नाममा स्थापित विक्रम संवतनै सरकारी प्रचलनमा विद्यमान छ ।

विक्रम सम्बत धेरैपछि श्री ३ महाराज चन्द्र शमशेरको पालामा नेपाल संवत्लाई हटाएर सुरु गरिएको हो । आयातित विक्रम संवत्को स्थानमा नेपाल सम्बत किन प्रचलनमा नल्याउने ? प्रश्न पनि महत्त्वपूर्ण बनेको छ ।

नेपालमा कुनै मौलिक नेपाली संवत् नभएको भए कुरो अर्कै हुने थियो । त्यसैले गर्दा नेपालकै संवत्लाई स्थापित गरी राज्य स्तरमा पुनः लागू गर्ने हो भने ‘नेवार समुदाय’ मात्रै होइन, सम्पूर्ण नेपालीमा गौरवानुभूति हुने थियो । त्यसैले विदेशी विक्रम संवत्लाई विस्थापित गरेर आफ्नै देशको मौलिक संवत् ‘नेपाल संवत्’ लागू गर्ने कुरामा बहस र छलफल चल्न जरुरी छ ।