धरान : नेपालको आफ्नै मौलिक संवत् नेपाल संवत् १११४ तिहार सँगै प्रारम्भ भएको छ । तिथि अनुसार कात्तिक कृष्ण औँसीका दिन पर्ने नेपाल संवत् नववर्षको पहिलो दिन सोमवार नेपाल भर यसका प्रवर्तक शंखधर साख्वाको स्मृति दिवस सहित मनाइएको छ।

सोमवारै नेपाल सरकारले नेपाल सम्बत्लाई राष्ट्रको संवत् घोषणा गरेको छ । मन्त्री परिषद्को बैठकले नेपालमा सम्पूर्ण सरकारी कार्यालयका कामकाजी सम्बत्को सूचि अनुसार कार्य गर्ने निर्णय गर्दै नेपाल सम्बत्लाई राष्ट्रिय सम्वत घोषणा गरेको हो ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ इस्वी संवत् ८८० मा काठमान्डुका गरिब जनताको ऋण मोचन गरी नेपाल सम्वतको सुरु गराएका थिए । यसै संवत् अनुसार कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने चलन काठमाण्डुमा अहिले पनि छ ।

नेपाल सम्बत्को नयाँ वर्षको अवसरमा धरान झिगु समाजले प्रभात फेरि आयोजना गर्‍यो । धरान ३स्थित चिनियाँ चोक स्थित शंखधर साख्वाको शालिकमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र कोशी प्रदेश सांसद यशोदा कायस्थले माल्यार्पण गरे ।

सोही अवसरमा मोटरसाइकल र्‍याली साईकिलिङ र्‍यालीका साथै नेवारी बाजागाजा सहितको र्‍याली प्रदर्शन गरिएको थियो । नयाँ वर्ष समारोहको सभापतित्व झिगु समाजका अध्यक्ष मोहन काजी शाक्यले गरेका थिए ।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले बताएका छन् । उनका अनुसार ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो ।’

२००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि माग गरिदैं आएको थियो । नेपाल संवतको नयाँ वर्ष काठमाण्डूं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्य रहेका नगरहरूमा विशेष रूपमा मनाउने गरिन्छ ।

२०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । २०६५ मा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

nepal sambat 1144 2nd