धरान : मुलुकको आर्थिक विकासको लागि राजनीतिक स्थायित्व जरुरी भएको नेपाली काँग्रेसका नेता, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बताएका छन् ।

उनले भने ‘राजनीतिक स्थायित्वकै लागि देशको प्रमुख दल काँग्रेस र एमाले मिलेर सरकार बनाउनु परेको हो ।’ धरान रङ्गशाला परिसरमा आयोजित धरान एक्स्पो-२०८१ को उद्घाटन समारोहमा उपप्रधानमन्त्री सिंहले उक्त कुरा बताएका हुन ।

उनले समस्या मुलुकको सबै ठाउँमा भए पनि समस्यालाई देखाएर आत्तिन नहुने बताउँदै त्यसको समाधानका लागि जनप्रतिधिहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

राजनीतिक स्थायित्वले निजी क्षेत्रलाई आर्थिक विकासका गतिविधिमा सहज वातावरण बनाउने बताउँदै उनले एक्स्पो जस्ता व्यापारिक आयोजनले आर्थिक प्रवर्धनमा सहयोग पुर्याउने उपप्रधानमन्त्री सिंहले बताए ।

धरान नगर प्रमुख हर्क साम्पाङले एक्स्पोलाई किनमेल र मनोरञ्जनको लागि मात्र नबनाई गतिविधिलाई प्रवर्द्धन गर्ने बन्नुपर्ने बताए । उनले एक्सपोलाई सबैले सहभागी भई सफल बनाउन धरानवासीलाई आग्रह गरे ।

आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले स्थानीय उद्यमीका उत्पादन र सेवाहरूको प्रदर्शनका लागि एक्स्पो महत्त्वपूर्ण अवसर भएको बताए । उनले भने ‘धरानको आर्थिक गतिविधिलाई सक्रिय बनाउन एक्स्पो आयोजना गरिएको हो ।’

सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा आज देखी एक्स्पो सुरु भएको हो । एक्स्पो माघ ५ गते सम्म सञ्चालन हुनेछ । एक्स्पोमा १४२ वटा स्टल रहेका छन् ।

स्टलहरूमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तानका वस्तुहरू कोसी प्रदेशका १४ वटै जिल्लाका उत्पादन व्यापारी व्यवसायी सहभागी छन् । एक्सपोमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको मूल संयोजक गोपाल श्रेष्ठले बताए ।

उनका अनुसार एक्स्पोमा स्थानीय उत्पादन र त्यसको बजारीकरणका विषय समेटिएको छ । एक्सपोमा पर्यटन, स्वास्थ्य, साहित्यसँग सम्बन्धी पनि स्टल रहेको छ ।

एक्स्पोका बिच धरानको पर्यटन, कृषि, स्वरोजगार सम्बन्धी, वित्तीय संस्थासँग गोष्ठी तथा प्रशिक्षण कार्यक्रम राखिएका छन् ।

उद्घाटन समारोहमा कोसी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेश सभा सदस्य यशोदा कायस्थ, विजय राई, धरानका उपप्रमुख आईन्द्रबिक्रम बेघा, पूर्व नगर प्रमुख तिलक राई लगायत राजनीतिक दलहरूका प्रतिनिधिहरू, संघसंस्थाहरुको प्रतिनिधिहरू उपस्थित थिए ।

आयोजक सङ्घका महासचिव महेन्द्र प्रधानले एक्स्पो धरान उपमहानगरपालिका, कोसी प्रदेश सरकार, सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोगमा आयोजना गरिएको बताएका छन् ।

dharan-expo-2