वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ वराहक्षेत्र मन्दिर परिसरमा नव-निर्मित (टीका - बखत स्मृति भवन) स्वास्थ्य इकाई भवन उद्घाटन तथा वराहक्षेत्र धाममा धनुर्मास उत्सव अन्तर्गत श्रीधरणीधर विवाह महोत्सव शुभारम्भ गरिएको छ ।

पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन कुमार विश्वकर्माले आफ्नो स्वर्गीय माता टिकामाया र पिता स्वर्गीय बखतबहादुरको स्मृतिमा निर्माण गर्नु भएको नव निर्मित (टीका-बखत स्मृति भवन) स्वास्थ्य इकाई भवनको नेपाल सरकारका माननीय उप-प्रधान एवम् सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहले उद्घाटन गर्नु भएको हो । उप-प्रधान एवम् सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा वराहक्षेत्र मन्दिरमा धनुर्मास उत्सव अन्तर्गत श्रीधरणीधर विवाह महोत्सव शुभारम्भ कार्यक्रम समेत गर्नु भएको वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।

नव-निर्मित भवन तथा श्रीधरणीधर विवाह महोत्सव शुभारम्भ कार्यक्रममा  उप-प्रधान एवम् सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंह प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा पूर्व मन्त्री तथा भवन निर्माणकर्ता मीन कुमार विश्वकर्माले नव निर्मित भवनको साँचो वराहक्षेत्र नगरपालिकालाई हस्तान्तरण गरेका थिए । उद्घाटन गरिएको नव निर्मितबाट सामुदायिक स्वास्थ्य इकाई मार्फत सेवा सुरु समेत गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

उद्घाटन कार्यक्रममा पूर्व राज्यमन्त्री सिताराम मेहता, संविधान सभा सदस्य महेन्द्रकुमारी लिम्बू, प्रदेश सभा सदस्य पूर्व स्वास्थ्य मन्त्री प्रदिप सुनुवार, प्रदेश सभा सदस्य ममता तामाङ, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, वराहक्षेत्र नगरपाकाकि उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल लगायत वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, राजनैतिक दलका नेताहरुहरुको उपस्थिति रहेको वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।

वराहक्षेत्र मन्दिर परिसरमा पौष २१ र २२ गते पहिलो पटक श्रीधरणीधर महोत्सवको आयोजना गरिएको हो। वराह भगवान् र धरणीको बिचमा भएको विवाहको पौराणिक मान्यतालाई आत्मसाथ गरी वराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना गरिएको प्रसिद्ध पण्डित योगेश भण्डारीले बताए ।

धनुर्मास उत्सव अन्तर्गत श्रीधरणीधर विवाह महोत्सव  वराह भगवान् नारायण र धरणी महालक्ष्मी बिच विवाह महोत्सवमा विशेष पूजा, आराधना, होम, पाठ, सत्सङ्ग र शोभायात्रा आयोजना गरिनेछ ।

विवाह महोत्सव अन्तर्गत आइतबार  गुप्तवराहको प्रवेशद्वारमा रहेको धरणी मन्दिरमा पाठ एवं मन्त्र जपसहित बेहुली पक्षबाट गरिने कार्य सम्पन्न गरिने छ । सोमवार धरणी मातालाई वराह मन्दिर पुर्‍याएर १००८ घडा जलद्वारा भगवानको मङ्गलस्नान गरे पश्चात् स्वयंवर, कन्यादान, सिन्दूर दानलगायतका पौराणिक वैवाहिक कार्यक्रम आयोजना हुने प्रसिद्ध पण्डित योगेश भण्डारीले बताए ।