इटहरी : नेपाली काँग्रेस कोशी प्रदेशले पुस २४ गते बुधवारबाट ‘कचनकवल-सगरमाथा जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।
सङ्गठन सुदृढीकरण र जलवायु परिवर्तनको मुख्य उद्देश्यसहित सञ्चालन गर्ने अभियानको उद्घाटन महामन्त्री महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले संयुक्त रूपमा गर्न लागेका हुन् ।
उद्घाटन समारोहमा सहिद परिवारलाई सम्मान गर्न लागिएको कोशी काँग्रेसका प्रचारप्रसार विभाग प्रमुख वासु कोइरालाले जानकारी दिए । उनका अनुसार २००७ सालको प्रजातान्त्रिक आन्दोलन देखि झापा आन्दोलन र माओवादीको सशस्त्र युद्ध सहित विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाउने सहिदको परिवारलाई सम्मान गर्न लागिएको हो ।
कोशी प्रदेश भरिका करिब तिन सय परिवारलाई सम्मान गर्न लागिएको बताउँदै उनले सहिद परिवारको साथमा काँग्रेस रहेको अभाव दिलाउन खोजिएको बताए ।
सोही कार्यक्रममा कोशी प्रदेश समितिको स्वास्थ्य विभागले ॐ साई पाथीभरा हस्पिटलको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । त्यही बिचमा नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलले रक्तदान आयोजना गर्न लागेका छन् ।
उद्घाटन समारोहमा उपस्थित केन्द्रीय सदस्यहरूले शान्तिको प्रतिकका रूपमा परेवा उडाउने कार्यक्रम तय भएको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले सगरमाथा र तराईको प्रतिकका रूपमा सेतो र निलो बेलुन उडाउने कोइरालाले बताए ।
७ महिनासम्म चल्ने जागरण अभियानको समापन असार २० गते सगरमाथाको आधार शिविरमा गरिने भएको छ ।