धरान : माध्यमिक तहको कक्षा सञ्चालन गर्ने अनुमति नलिए पनि धरानमा ९ र १० कक्षा सञ्चालन गरी एसइई परीक्षा भने प्राइभेटबाट दिएर स्कुल सञ्चालन भइरहेको पाइएको छ ।
धरान-५ स्थित डिपी विलिर्भस बोर्डिङ स्कुलले कक्षा ९ र १० सञ्चालन गर्ने अनुमती लिएको छैन । तर कक्षा भने सञ्चालन गर्दै आएको छ । विद्यार्थी र अभिभावकहरू सबै मञ्जुरीमा प्राइभेट परीक्षा दिने गरी कक्षा सञ्चालन भएको स्कुलले दाबी गरेको छ ।
स्कुलले धरान उपमहानगरपालिका शिक्षा महाशाखाबाट कक्षा ९ र १० सञ्चालन गर्ने स्वीकृति नलिएको शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले बताए । उनले भने ‘स्कुलले कक्षा-८ सम्मको मात्र अनुमति लिएको छ ।’
अनुमति नलिएको कक्षा सञ्चालन गर्ने स्कुललाई कारबाही गर्ने चेतावनी दिएको बताउँदै उनले भने ‘स्कुलले अनुमतिका लागि पुनः निवेदन दिए पनि कक्षा ९ र १० अध्यापन गर्ने अनुमति पाएको छैन ।’ स्कुलको भौतिक संरचना अध्यापन गर्ने वातावरण नभएकाले स्वीकृति नदिएको उनले बताए ।
स्कुलले २ वर्ष अगाडी कक्षा ८ सम्मको मात्र अनुमति लिएको शिक्षा महाशाखाले जनाएको छ । महाशाखा अनुसार स्कुलको भौतिक संरचना र वातावरण नभएकाले कक्षा ९ र १० अनुमति नदिइएको हो । अनुमति नपाएकै अवस्थामा त्यहाँ पढ्दै आएका कक्षा ९ का १३ र १० का ११ जना विद्यार्थीहरूको परीक्षा अन्योलमा पारेको छ ।
स्कुलका प्रिन्सिपल सञ्जीव राईले भने ‘विद्यार्थीको परीक्षा अन्योलमा छैन ।’ विद्यार्थीहरूलाई एसइई परीक्षा दिन मोरङको सुकुना स्कुलमा परीक्षा फर्म भर्ने व्यवस्था गरेको बताए । कक्षा १० का कतिपय विद्यार्थीले प्राइभेट परीक्षा दिन नमानेर पुनः कक्षा ९ मै पढी रहेको पाईएको छ।
स्कुलले अर्को वर्ष अनुमति पाएपछि मात्र एसइई दिने बताउँदै कक्षा ९ मै अध्ययन गराएको प्रिन्सिपल राईको भनाई छ । उनका अनुसार अनुमति नभए पनि स्कुलमा अघिल्लो वर्ष देखि विद्यार्थीहरूलाई कक्षा ९ र १० मा भने अध्यापन गराइँदै आएको छ ।
प्रिन्सिपल राईले दाबी गर्दै भने ‘विद्यार्थी र अभिभावकहरू सबै मन्जुर छन्, अघिल्ला वर्ष देखि नै प्राइभेट परीक्षा विद्यार्थीहरूले दिई रहेको छ ।’ कक्षा ९ र १० सञ्चालनका लागि स्कुलले अनुमति लिन पटक पटक निवेदन दिएको तर, स्कुलको भौतिक संरचना भएपनी शिक्षा शाखाले अनुमति नदिएको उनको भनाई छ ।
स्कुलले प्राइभेट एसइई परीक्षा दिलाए पनि प्राइभेट परीक्षालाई नेपाल सरकारले सरकारी सेवा र लोक सेवा आयोगमा समेत हाल सम्म स्वकार भने गरेको छैन । यो स्थिति विद्यार्थीहरूको भविष्यको लागि गम्भीर हो ।
DP-school