धरान : धरान उपमहानगरपालिकाद्वारा धरान स्थापनाको वार्षिकोत्सव मनाउन आयोजित धरान उत्सव आज शनिवार देखि सुरु भएको छ ।
धरानमा मानव बसोबास सुरु भएको १२४ वर्ष पुगेकोमा अवसरमा ५ दिन सम्म उत्सव मनाइने भएको हो । धरान २०१७ सालमा विधिवत् नगरपालिका घोषणा भएको थियो ।
धरान-१६ स्थित रङ्गशालामा धरान उत्सव शनिवार देखि सुरु भएको उत्सव २४ गते सम्म लाग्ने छ । उत्सवको उद्घाटन वयोवृद्ध ज्येष्ठ नागरिक ८७ वर्षीय काजीमान गुरुङले गरेका छन् ।
धरान-१२ पब्लिक स्कुलको खेल मैदानबाट सुरु भएको विभिन्न सङ्घसंस्थाका झाँकी तथा र्यालीले बजार परिक्रमा गर्दै धरान उपमहानगरपालिका-१६ स्थित रङ्गशाला पुगेको थियो ।
उत्सवको अध्यक्षता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान गरिएको छ । उत्सव स्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रदर्शनी तथा बिक्री कक्ष राखिएको छ ।
भोलि पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गिङ सुपर स्टार सिजन-१ र लोक जुहारी कार्यक्रम रहने छन् भने पुस २३ गते वाकाथुन, रस्सी तान र छेलो हान्ने कार्यक्रम रहेको छ ।
पुस २४ गते श्रमदाता र्याली, सांस्कृतिक झाँकी प्रस्तुति, प्रशंसा पत्र वितरण र धन्यवाद ज्ञापन कार्यक्रम गरेर उत्सवको समापन गरिने नगर प्रमुख राईले जानकारी दिए ।
उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रूपमा मनाउने गरेको छ। कार्यक्रम अवधिभर एम्बुलेन्ससहित स्वास्थ्य सेवा, पोषण परामर्श, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रचारका साथै मनोरञ्जनात्मक नृत्य तथा सांस्कृतिक कार्यक्रम र बाल मनोरञ्जनका खेलहरूको आयोजना गरिने भएको छ ।



































































