धरान : धरानको आर्थिक गतिविधि चलायमान बनाउँदै उद्योग व्यवसाय प्रवर्द्धनका लागि स्थानिय सरकार, प्रशासन, सुरक्षा निकाय र पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने भएकोले सुनसरी उद्योग वाणिज्य सङ्घ सबै निकायसँग सहकार्य गर्न तयार रहेको बताएको छ ।
सङ्घद्वारा आज शुक्रवार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष विजय श्रेष्ठले मन्दीको मारबाट सुस्ताएको आर्थिक गतिविधिलाई पुनर्जीवित गर्न सङ्घले गरेका प्रयासहरूमा साथ दिन आग्रह गर्दै राज्यको चौथो अङ्ग सहित सबै निकायसँग सहकार्य गर्न तयार रहेको बताएका हुन ।
कार्यक्रममा सङ्घले नेपाल पत्रकार महासङ्घ सुनसरीका नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्ले सहित कार्यसमितिका पदाधिकारी, सदस्यहरूलाई स्वागत सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
सोही अवसरमा धरानमा नयाँ आएका उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका चौंलागाई, इलाका प्रशासन कार्यालयका प्रमुख लक्ष्मीप्रसाद रेग्मी, कृषि उपज बजारका नव निर्वाचित अध्यक्ष काजी गिरी र सशस्त्र प्रहरी बेस क्याम्पका डिएसपी देवेन्द्रराज सिंहलाई सङ्घले स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष काफ्ले महासङ्घले सधैँ धरानको आर्थिक गतिविधिमा योगदान गर्दै आएको सुनसरी उद्योग वाणिज्य सङ्घ सँग सहकार्य गर्दै आएको बताए ।
उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत चौंलागाईले धरानको पुरानो प्रसिद्धिलाई नयाँ गति दिन सहकार्य जरुरी भएको बताए । इलाका प्रशासन प्रमुख रेग्मी र सशस्त्र डिएसपी सिंहले धरानको व्यापार व्यवसायको उन्नतिका लागि वाणिज्य सङ्घले गर्ने सकारात्मक प्रयासमा साथ दिने प्रतिबद्धता जनाए ।
उक्त अवसरमा सङ्घका पूर्व अध्यक्ष गौरीशङ्कर अग्रवालले व्यापार व्यवसायीसँग सरोकार राख्ने निकाय सङ्घ सहकार्यको आग्रह सङ्घको सकारात्मक कार्य भएको बताए । कार्यक्रम सङ्घका सचिव महेन्द्र प्रधानले सञ्चालन गरेका थिए ।

        
                    
        
                                        
                                                                                                
        
                
                
                
        
        
















        
        
















































