धरान : किरात राजा यलम्बरको नाममा प्रचलित येले संवतलाई सरकारी कामकाजको संवतको रूपमा प्रयोग गर्न माग गरिएको छ । येले संवतको नयाँ वर्ष ५०८५ माघ १ गते देखी सुरु हुँदैछ ।
किरात राई यायोख्खा सुनसरीले आइतबार पत्रकार सम्मेलन गरी प्रथम किरात राजा यलम्बर हाङको राज्यकाल देखि चलेको संवत् यायोक्खा केन्द्रीय समितिको पहलमा नेपाल सरकारलाई सरकारी कामकाजको सम्बत्मा लागु गर्न माग गरिएको जनाएको हो ।
माघ १ गते किरात समुदायले येले सम्बत्को नयाँ वर्ष धूमधामका साथ मनाउने यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए । उनले भने ‘नयाँ वर्षको पूर्वसन्धा देखि यायोक्खा सुनसरीले नयाँ वर्षलाई हर्षोल्लासमय रूपमा मनाउन सप्ताहव्यापी कार्यक्रमको तयारी गरेको छ ।’
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास, लिपि, विश्वलाई चिनाउने राष्ट्रको अमूल्य सम्पदा, पहिचान भएको उल्लेख छ ।
आदिवासीको पहिचान जोडिएको यलम्बर सम्बतलाई नेपालले स्वीकार र लागु नगरी विक्रमादित्यको नामको संवत् र जिसस क्राइस्टको जन्मसँगै सुरु भएको इस्वी सम्बतलाई राज्यले सरकारी कामकाजमा प्रयोग गर्नु दुर्भाग्यपूर्ण रहेको बताइएको छ ।
किरातकालिन येले सम्बत्को नयाँ वर्ष ५०८५ लाई स्वागत गर्दै किराँत राई यायोक्खा सुनसरीले पुस २५ गते छेलो प्रतियोगिता, पुस २६ गते डोरी तान्ने प्रतियोगिता, पुस २७ गते बुद्धिचाल, पुस २८ गते ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।
यसैगरी पुस २९ गते यलम्बर हाङको प्रतिमामा दीप प्रज्वलन, ,माघ १ गते ८५ वटा बेलुन सहित सुन्नीमा पारुहाङ अङ्कित लोगो र यायोक्खाको झण्डा उडाउने, माघ २ गते महिला फुटसल प्रतियोगिता आयोजना गरिएको यायोक्खा सुनसरीका सचिव शम्भु राई पृथकले जानकारी दिएका छन् ।


































































