इटहरी : इटहरीमा मासिक ज्यालादारीमा इन्जिनियर राख्न लागेको भन्दै नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ति जनाएको छ । इटहरी उपमहानगरपालिकाले ज्यालादारीमा इन्जिनियर पदका लागि दरखास्त आह्वान गरेपछि एसोसिएसन विरोधमा उत्रिएको हो ।
उपमहानगरपालिकाले पौष २४ गते इन्जिनियर (बिल्डिङ एन्ड आर्किटेक्ट) तथा इन्जिनियर (स्ट्रक्चरल) छैटौँ तहको लागि मासिक ज्यालादारी सेवामा दरखास्त आह्वान गरेको छ । इन्जिनियर जस्तो सामाजिक प्रतिष्ठा बोकेको पेसामा ‘ज्यालादारी’ हैसियतमा विज्ञापन गरेकोमा विरोध स्वरूप एसोसिएसनले विज्ञप्ति निकालेको छ ।
एसोसिएसनका केन्द्रीय महासचिव विनोद प्रकाश पण्डितले इन्जिनियर उपाधिको उपहास हुने गरी जारी गरिएको विज्ञापन तत्काल सच्याउन माग गरेका छन् ।
सरकारी निकायबाटै समग्र नेपाली इन्जिनियर समुदाय अपमानित हुने गरी विज्ञापन निकालेकोले प्रतिरोध गर्नुपर्ने स्थिति आएको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय समिति सँगै प्रदेश समितिले पनि सोही शैलीमा विरोध जनाएको छ । एसोसिएसनका कोसी प्रदेश सभापति जगरनाथ शाह र सचिव सञ्जय कुमार झाले इन्जिनियरको पद सातौँ तहदेखि सुरु हुनुपर्नेमा छैटौँको विज्ञापन खुलाइएकोमा आपत्ति जनाएका छन् । ऐनले नै सातौँ तह निर्धारण गरेको बताउँदै अविलम्ब सच्याउन माग गरेका हुन् ।