धरान : ताप्लेजुङको मुक्कुमलुङ पाथीभरा क्षेत्रबाट प्रहरीले पक्राउ गरेका ३ जना आन्दोलनकारी रिहा नगरेकाले भोली आइतबार बिहानै देखी मेची राजमार्ग, तमोर कोरिडोर सहित ताप्लेजुङ जिल्ला भित्र अनिश्चित कालिन यातायात बन्दको आव्हान गरिएको छ ।

भानुचौकमा आज शनिवार आयोजित कोणसभामा धरान स्थित मुक्कुमलुङ आन्दोलनका संयोजक जेन्टल लावतीले भोली बिहानै देखी ताप्लेजुङ जाने यातायातका नाकाहरू बन्द गरिने उद्घोष गरेका छन् ।

उनका अनुसार शनिवार साँझ सम्म ताप्लेजुङबाट आन्दोलनकारीलाई प्रहरीले रिहा नगरेको खबर आएको छ । उनले भने ‘संयुक्त सङ्घर्ष समितिले जिल्ला प्रहरीमा सम्पर्क गर्दा ‘माथिको’ आदेशका कारण उनीहरूलाई रिहा नगरिएको जवाफ दिएका छन् ।’

लावतीले माथिकै संरक्षणमा फुङलिङ नगर प्रमुख अमिर मादेनले मुक्कुमलुङमा केबलकार बनाउन ‘गोली चलाउने आदेश सम्म दिने’ कुरा सामाजिक सञ्जालमा आएको उल्लेख गर्दै भने ‘नेपालको संविधान भन्दा माथि बसेर गोली हान्ने आदेशको कुरा गर्ने को हो अमिर मादेन ?’

पहिचानको मागलाई दमन गर्न समुदाय बिच विभाजन गर्ने राज्य सत्ताको नीति आन्दोलनलाई हिंसक बनाउने दिशामा रहेको यसबाट पुष्टि हुने उनले बताए । संयोजक लावतीले यातायात बन्द खुला गर्न पक्राउ गरिएको ३ जनालाई रिहा गर्नको सट्टा बल प्रयोग भए मुठभेड हुने चेतावनी दिए ।

कोणसभामा जसपाका नेता निशान किराँती, जनमुक्ति पार्टीका मोहन तिगेला, दलित नेता रमेश गजमेर, किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बा, इन्दिरा धौला, लिम्बु विद्यार्थी मञ्चका सविरसिंह यक्क्सो, सुकुम्वासी नेता आइतवहादुर लिम्बुले मुक्कुमलुङ आन्दोलन पहिचानसँग जोडिएको बताए ।

यसअघि शुक्रवार मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति सहित ७ वटा सङ्घर्ष समितिले संयुक्त विज्ञप्ति जारी गर्दै शनिवार सम्म पक्राउ गरिएका ३ जना रिहा नगरिए अनिश्चित कालिन यातायात बन्द गर्ने अल्टिमेटम दिएको थियो ।

आन्दोलनकारीले सरकारले मुक्कुमलुङको तल्लो फेदी काफ्ले पाटीमा राखेको प्रहरी टोली फिर्ता गर्न पनि माग गरेको छ । उनीहरूले सुरक्षाकर्मी राख्ने कदमको औपचारिक रूपमा विरोध गरी गृहमन्त्री र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समक्ष माग गरिसकेको उल्लेख गरेका छन् ।

विरोध हुँदाहुँदै राखिएको प्रहरीले पुस १७ गते राती ९ बजे मुक्कुमलुङ संरक्षण अभियानमा गएको २६ जनालाई तल्लो फेदीमा रोकेर फिर्ता पठाएको, उनीहरूलाई लिन गएको ३ जना जनम लिम्बु, सुशील लिम्बु र सञ्जोग लिम्बुलाई प्रहरीकै अगाडि उछृंखल समूहले कुटपिट गरेको थियो ।

उनीहरूलाई कुटपिट गर्ने समूहलाई पक्राउ गर्नु पर्नेमा प्रहरीले उल्टै कुटाई खानेहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखेको आन्दोलनकारीहरूको भनाई छ । आन्दोलनकारीले तल्लो फेदीमा सैनिकीकरण बन्द गर्न राज्यपक्ष सँग माग गरेको छ ।