धरान एक्स्पो २०८१ कोशी प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा पौष २५ देखि माघ ५ गतेसम्म धरान रङ्गशालामा आयोजना हुँदैछ। कृषि, उद्योग, र पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित यस एक्स्पोले धरानलाई क्षेत्रीय व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न खोजेको छ। यसै सन्दर्भमा, हामीले एक्स्पोका संयोजक गोपाल श्रेष्ठसँग कुराकानी गरेका छौँ।
- धरान एक्स्पो २०८१ को मुख्य उद्देश्य के हो ?
एक्स्पोको मुख्य उद्देश्य स्थानीय कृषि उत्पादन, उद्योग, र पर्यटनको प्रवर्द्धन गर्नु हो। यसले स्थानीय उद्यमीहरूलाई आफ्नो उत्पादन र सेवाहरूलाई प्रदर्शन र विस्तार गर्न प्लेटफर्म प्रदान गर्छ। साथै, यो व्यापारिक मेला धरानको अर्थतन्त्रलाई गतिशील बनाउन र क्षेत्रीय स्तरमा व्यापारिक पुनरुत्थान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
- यस पटकको एक्स्पोलाई विगतका दुई संस्करणहरूसँग तुलना गर्दा के फरक पाउन सकिन्छ ?
यस पटकको एक्स्पोलाई अझ व्यवस्थित र व्यापारिक बनाउन विशेष ध्यान दिएका छौँ। पहिलो र दोस्रो संस्करणहरूमा प्रचार-प्रसार सीमित थियो । अहिले तेस्रो संस्करण भएकाले धेरै मानिसहरू एक्स्पोबारे जानकार छन्। सहभागी व्यवसायहरूको विविधता, मनोरञ्जनका कार्यक्रम र सस्तो तर गुणस्तरीय किनमेलको व्यवस्थाले यसलाई विशेष बनाउने विश्वास छ।
- एक्स्पोमा मनोरञ्जन कार्यक्रमहरू कस्ता हुनेछन्, र कस्ता दर्शकलाई आकर्षित गर्ने अपेक्षा छ ?
मनोरञ्जन कार्यक्रमहरूमा स्थानीय र राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति हुनेछ। हरेक साँझ साङ्गीतिक कार्यक्रम आयोजना गरिनेछ, जसले युवा पुस्ता र परिवारलाई आकर्षित गर्नेछ। साथै, बाल उद्यान, रेटेपिङ र नाउ जस्ता खेल सामग्रीले सबै उमेर समूहका दर्शकलाई रमाइलो अनुभव प्रदान गर्नेछ।
- सस्तो सामानको कुरा गर्दै हुनुहुन्छ, यी वस्तुहरूको गुणस्तर सुनिश्चित गर्न के व्यवस्था गरिएको छ ?
गुणस्तर सुनिश्चित गर्न हामीले फ्याक्ट्रीबाट प्रत्यक्ष रूपमा सामान ल्याउने व्यवस्था गरेका छौँ। मध्यस्थता हटाएर उत्पादक र उपभोक्ताबिचको प्रत्यक्ष सम्बन्धले सामानको मूल्य सस्तो बनाउनेछ, र गुणस्तर कायम रहन मद्दत गर्नेछ।
- एक्स्पोको आर्थिक प्रभाव कस्तो हुने अपेक्षा गरिएको छ धरानको स्थानीय व्यवसायहरूमा ?
एक्स्पोले धरानको सुस्ताएको बजारलाई फेरि सक्रिय बनाउनेछ। आयोजकको अनुमान अनुसार, एक्स्पो अवधिभर १० करोडभन्दा बढीको व्यापार हुनेछ। यसले स्थानीय व्यवसायीलाई नयाँ अवसर प्रदान गर्नेछ, र क्षेत्रीय स्तरको व्यापारिक गतिविधिलाई थप उचाइमा पुर्याउनेछ।
- आगामी वर्षहरूको लागि एक्स्पोको योजना र रणनीतिहरू के-के छन् ?
हामी एक्स्पोलाई एक राष्ट्रिय स्तरको ब्रान्डको रूपमा स्थापित गर्न चाहन्छौँ। आगामी वर्षहरूमा देशभरका व्यापारिक प्रतिनिधिहरूलाई समेट्ने र अन्तर्राष्ट्रिय स्तरका स्टलहरूको सहभागिता बढाउने योजना छ। यसले नेपालका अन्य सहरहरूलाई पनि एक्स्पोको माध्यमबाट समृद्ध बनाउन सहयोग गर्नेछ।
- धरान एक्स्पोलाई राष्ट्रिय स्तरमा ब्रान्ड बनाउन के-कस्ता कदम चाल्नुभएको छ ?
हामीले राष्ट्रिय स्तरका सङ्घसंस्था र सरकारी निकायहरूसँग सहकार्य गर्दै प्रचार-प्रसारलाई प्राथमिकता दिएका छौँ। डिजिटल मिडिया, प्रिन्ट मिडिया, र स्थानीय सञ्जालहरूलाई प्रयोग गरेर एक्स्पोको पहुँच बढाइएको छ। साथै, सहभागी व्यवसायहरूलाई सहजता प्रदान गर्न विशेष प्राविधिक सहयोग उपलब्ध गराइएको छ।
- अन्तिममा एक्स्पोमा आउने अवलोकनकर्ताहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ ?
धरान एक्स्पो केवल किनमेल र मनोरञ्जनको लागि होइन, यो स्थानीय व्यापारलाई अघि बढाउने महत्त्वपूर्ण अभियान हो। हामी सबैलाई यस अभियानमा सहभागी भई सफल बनाउन आग्रह गर्दछौँ। धरानको पहिचानलाई व्यापारिक र पर्यटनको केन्द्रको रूपमा स्थापित गर्न तपाईँहरूको साथ महत्त्वपूर्ण छ।
एडभोटोरियल