विराटनगर : नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला बेलायती संसद्लाई सम्बोधन गर्न बेलायतको भ्रमणमा जाने भएका छन् ।

बेलायतको संसद्मा सम्बोधन गर्ने निमन्त्रणा पाउने नेता कोइराला पहिलो नेपाली नेता भएका छन् । यसअघि नेपालका कुनै पनि राजनैतिक दलका नेताले बेलायतको संसद्मा सम्बोधन गर्ने अवसर पाएका छैनन् ।

प्रतिनिधिसभा सदस्य रहेका नेता कोइराला बेलायतको संसद् भवनमा जनवरी १३ का दिन विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । बेलायती विदेशमन्त्री क्याथराइन वेष्ट र उद्योग, व्यापार, वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत जाँदैछन् ।

बेलायतको संसद् भवनमा बेलायती विदेशमन्त्री र उद्योग, व्यापार, वाणिज्य मन्त्रीको उपस्थितिमा संसद्लाई सम्बोधन गर्न पाउने नेपालबाट पहिलो र दक्षिण एसियाबाट दोस्रो नेता कोइराला बन्ने भएका छन् ।

नेता कोइरालाले प्रजातन्त्रको जननी बेलायतको संसद्मा हुने कार्यक्रमलाई सम्बोधन गर्न पाउनु कांग्रेसका लागि मात्रै नभएर नेपाली राजनैतिक दलका नेता र नेपालका लागि निकै गर्वको कुरा भएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए ।

मोरङ कांग्रेसका उपसभापति कोइरालाले बेलायती संसद्मा सम्बोधन गर्ने अवसरले नेता कोइरालाको राजनैतिक व्यक्तित्व निकै बढ्ने बताए । नेपाल–बेलायत सम्बन्ध स्थापित भएको २०९ वर्षदेखि नेपाली नेताले बेलायतको संसद्मा गएर सम्बोधन गर्ने अवसर पाएका थिएनन् ।

नेता कोइरालाको बेलायत भ्रमणलाई कांग्रेसका नेता, कार्यकर्ताले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । कांग्रेसका नगर सभापति दीपक चापागाईँले लेखेका छन्, ‘गर्व लाग्छ नेपाली कांग्रेसभित्र डा. शेखर कोइरालाको कार्यकर्ता भएकोमा ।’

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले बेलायतले दिएको उच्च सम्मानले डा. शेखर कोइरालाको राजनैतिक उचाइ बढाएको प्रतिक्रिया दिए । नेता कोइरालाको कांग्रेसभित्र मात्रै होइन र राष्ट्रिय राजनीतिमै महत्त्व र आवश्यकता बढाएको पोखरेलको बुझाइ छ ।