धरान : सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले निजामती ऐन होइन स्वास्थ्य ऐन अनुसार कार्य गर्न पाउनु पर्ने बताएका छन् ।

प्रतिष्ठानको फार्मेसी, बर्न सेन्टर र अंकोलोजी भवनको आज बिहीबार आयोजित उद्घाटन समारोहमा मन्त्री पौडेलले भने ‘‘स्वास्थ्यकर्मीहरुले निजामती सेवा ऐन अनुसार होइन स्वास्थ्य ऐन अनुसार स्वास्थ्य कर्म गर्न पाउनु पर्छ ।’ 

उनले निजामती सेवा सुविधा भन्दा स्वास्थ्य सेवा फरक हुनुपर्ने बताउँदै प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य निर्देशिका अनुसार सेवा सुविधा पाउनु पर्ने बताए । मन्त्री प्रदीप पौडेलले भने ‘ स्वास्थ्यकर्मीहरूका लागि बेग्लै स्वास्थ्य सेवा ऐन नियमावली ड्राफ्ट भइरहेको छ ।’ 

निजामती सेवा सुविधा भन्दा स्वास्थ्य सेवाका स्वास्थ्यकर्मीहरूको सेवा सुविधा फरक हुनुपर्ने बताउँदै उचित सेवा सुविधा पारिश्रमिक नपाएकाले स्वास्थ्यकर्मीहरू देशबाट बाहिरीरहेको बताए । 

प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवा ऐन नियम अनुसार सेवा सुविधा, तलब, भत्ता र काम गर्ने वातावरण बनाउनु पर्ने उनको भनाई थियो । उनीहरूलाई प्रेसर काम गर्ने वातावरण बनाउनु नहुने मन्त्री पौडेलले बताए ।

नेपालमा उत्पादन भएका स्वास्थ्यकर्मीलाई नेपालमै उचित सेवा सुविधाको व्यवस्था गरेमा मात्र उनीहरू देशमा रहने वातावरण बन्न भएकोले सरकारले बेग्लै स्वास्थ्य सेवा निर्देशिका बनाउन लागेको उनले बताए ।

प्रतिष्ठानमा सुरु गरिएको आगोले जलेका मानिसको उपचार गर्ने वर्न सेन्टर नेपालका कुनै पनि सरकारी र समुदायीक अस्पतालमा नभएको उनको भनाई थियो । उनले भने ‘यत्रो सुविधा सहितको हस्पिटल समेत अन्य ठाउँमा छैन, वर्न सेवा र क्यान्सर उपचारको अंकोलोजी सेवामा विपी प्रतिष्ठान नै नेपालकै पहिलो हस्पिटल हो ।’ 

स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा फार्मेसी सञ्चालन गर्न र सम्पूर्ण किसिमका औषधी उपलब्ध गराउँदै रेट लिष्ट समेत टाँस्न निर्देशन गरेको बताउँदै सोही अनुसार बिपीमा पनि फार्मेसी सेवा सञ्चालन हुनुपर्ने निर्देशन दिए ।  

मन्त्री पौडेलले प्रतिष्ठानमा एमआरआई मेसिन नभएको टिप्पणी आइरहेको चर्चा गर्दै एमआरआई सेवा विना उपचार पूर्ण नहुने बताउँदै भने ‘यत्रो ठुलो संस्थामा एमआरआई सेवा नहुनु स्वाभाविक मान्न सकिँदैन ।’

७० प्रतिशत सेवा दिने ३० प्रतिशत सेवा लिन बाहिर जानु पर्ने अवस्था भएमा अस्पतालले १०० प्रतिशत उपचार गर्न नसक्ने उनले बताए । मन्त्री पौडेलले भने ‘सरकारसँग सहयोग मागेरै भए पनि प्रतिष्ठानले एमआरआई सेवा सञ्चालन गर्न पर्छ ।’

प्रतिष्ठानमा उद्घाटन भएको बर्न सेन्टरमा २० बेड बिरामी, १० बेडको आइसियु सेवा रहेको छ । क्यान्सर सम्बन्धी उपचारका लागि २५ बेडको अंकोलोजी विभाग र फार्मेसीको सेवा सुविधा रहेको उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीले बताए । भवन १२ करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण भएको हो । 

पदाधिकारीहरू अनुपस्थित 

उद्घाटन समारोहमा बिपीका रजिष्ट्रार, रेक्टर लगायत पदाधिकारीहरू अनुपस्थित थिए । उनीहरू उपकुलपति डा. गिरीको एकल निर्णयमा भवन उद्घाटन भएकोले उपस्थित नभएको बताइएको छ ।

रजिष्ट्रार सूर्य सङ्ग्रौलाले वर्न सेन्टर सेवाको लागि नबनेको, लिफ्ट नभएको र वर्न उपचारको लागि उपयुक्त ठाउँ नभएकोले कार्यक्रममा उपस्थित नभएको बताए । उनले भने ‘प्रक्रियागत र कार्यनीति पास नगरी पदाधिकारी बैठक समेत नबसी आफू खुसी उद्घाटन गराएका हुन ।’

उनका अनुसार ३ तला माथि बर्न सेवा सञ्चालन गर्न सकिँदैन र सुविधा पनि छैन सुविधा विना सेवा सञ्चालन गर्न नसकिने भएकोले उद्घाटन नगराउन उपकुलपतिलाई आग्रह गर्दा मानेनन् । 

रजिष्ट्रार सङ्ग्रौलाले भने ‘भवन उद्घाटन गरेरै छोड्नु भयो, यसमा मेरो असहमति छ ।’ सेवा सञ्चालन गर्न अघि पूर्वाधार हुनुपर्ने उनको भनाई छ । उनले वर्न सेन्टर सामान्य सेवा नभै गहन उपचार सेवा गर्ने ठाउँ भएकाले पूर्वाधार विकास गरेपछि सेवा सञ्चालन गर्नुपर्छ भनिएको स्पष्ट गरे ।

BPKIHS-new-buildingborn-building