वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको चतरा अस्पतालले 'सार्वजनिक सुनुवाइ, साझा सवाल' कार्यक्रम आयोजना गरेको छ।
नेपालको राष्ट्रिय स्वास्थ्य नीति २०७६ को रणनीति अनुसार चतरा अस्पतालको आर्थिक वर्ष २०८१ /०८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार सेवाग्राहीहरू तथा सरोकारवालाहरूको सुझाव, प्रतिक्रिया, जिज्ञासा सुन्ने उद्देश्य अनुसार अस्पतालले बिहीबार 'सार्वजनिक सुनुवाइ, साझा सवाल' कार्यक्रम आयोजना गरेको अस्पतालका व्यवस्थापक डाक्टर अनिल गिरिले जानकारी दिए ।
चतरा अस्पतालको प्राङ्गणमा आयोजना भएको उक्त कार्यक्रममा सहभागी सेवाग्राही, उपभोक्ता तथा सरोकारवालाहरूले आफ्ना सुझाव, प्रतिक्रिया र जिज्ञासाहरू राखेका थिए । सभामा आएका जिज्ञासा , प्रतिक्रिया र सुझावहरूको जवाफ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष होमप्रसाद गौतम, व्यवस्थापक डाक्टर अनिल गिरि, व्यवस्थापन समितिका सदस्यहरूले दिएका थिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं २ का अध्यक्ष होमप्रसाद गौतमको सभाध्यक्षतामा आयोजना भएको सो कार्यक्रममा प्रमुख अतिथि वडा नं १ का अध्यक्ष किसन थापामगर रहेका थिए । कार्यक्रममा नगर स्वास्थ्य शाखाका प्रमुख डाक्टर धनराज यादव, चतरा अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हरिकृष्ण भट्टराई, अस्पतालका प्रमुख योगेन्द्र कटेल, वडामा रहेका राजनैतिक दलका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ सालको सामाजिक परीक्षण प्रस्तुतीकरण र आर्थिक वर्ष २०८०/८१ सालको आन्तरिक र बाह्य लेखा परीक्षण प्रतिवेदन प्रस्तुतीकरण समेत गरिएको थियो ।
२०७५ सालको भदौ १ गतेदेखि वर्षकै ३६५ दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म निःशुल्क ओ.पी.डी. सेवा सञ्चालन गर्दे आएको चतरा अस्पतालमा सुनसरी सहित उदयपुर, धनकुटा र भोजपुरका सेवाग्राहीहरू आउने गर्दछन् । २०७८ फाल्गुन २० गते दशैकै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा समेत भएको थियो ।
हालको चतरा अस्पताल २०५६ सालको माघ २१ गते प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति र २०७८ सालमा १५ सैय्याको चतरा अस्पतालको रूपमा घोषणा भएको थियो ।