धरान : घर घरमा हाते तानबाट कपडा बुन्ने लिम्बु समुदायको मुन्धुममा वर्णित उद्यम संस्कृति भएकोले एक घर एक तान राखेर ढाका कपडा बुन्ने चलाउन चुम्लुङका अगुवाहरूले आग्रह गरेका छन् ।

किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिद्वारा आज आइतबार देखी शुरु गरिएको हाते तानबाट ढाका कपडा बुन्ने १ हप्ते तालिमको उद्घाटनको अवसरमा अगुवाहरूले उक्त आग्रह गरेका हुन ।

लिम्बु जातिको मुन्धुममा युमाले ‘थाक्थाक्था’ कम्मरमा धागो बाँधेर तान बुनी पहिलो पटक लुगाको सृष्टि गरेको वर्णित छ । सभ्यताको विकाश क्रममा त्यसै बेला देखी मेख्ली र तागावा लिम्बु स्त्री र पुरुषले लगाउन थालेको मानिँदै आएको छ ।

आफै लुगा बुनेर लगाउने लिम्बु समुदायको संस्कृति कालान्तरमा विकसित भएर रङ्गीचङ्गी मौलिक बुट्टावाल ढाकाको टोपी, पछ्यौरी बुन्ने प्रचलन बढेको हो । प्रमुख अतिथि चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बाले भनिन् ‘अहिले ढाका कपडा मौलिक नेपाली डिजाइन र महँगो पहिरन बनेको छ ।’

लिम्बु समुदायको यो उद्यम संस्कृतिलाई एक घर एक तान राखेर जर्गेना गर्दै घरेलु आयमूलक उद्यम बनाउन उनले जोड दिइन् । तालिममा प्रशिक्षक समेत रहेकी केन्द्रीय सदस्य सङ्गीताले हाते तान अनावरण गरी प्रशिक्षणको उद्घाटन गरिन् ।

चुम्लुङ नगर समितिले नियमित तालिम सञ्चालन गर्न उक्त तान खरिद गरेको चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले बताए । चुम्लुङ केन्द्रीय सल्लाहकार हर्ष सुब्बा घर घरमा थाक्थाक्थामाले लिम्बु धर्म संस्कृति, भाषा, परम्पराको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण हुने बताए ।

जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले लिम्बु जातिको मुन्धुमी उद्यम संस्कृतिको तालिम चुम्लुङमा पहिलो पटक सञ्चालन भएको बताए ।

नगर अध्यक्ष मादेम्बाका अनुसार पहिलो चरणमा प्रशिक्षणमा सहभागीहरूको २० जना छन् । धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गर्न खरिद गरिएको चुम्लुङ भवनमै रहने हाते तानमा ढाकाको पछ्यौरी, ढाकाको कोटको कपडा, गलबन्दी, ढाका टोपी लगायतको तालिम नियमित सञ्चालन गरिने छ ।