चतरा : सप्तकोशी नदीमा यात्रुवाहक जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा घाइते एक जनाको चतरा अस्पतालमा उपचार भइरहेको छ।

आइतबार दिउँसो करिब साढे १ बजे भोजपुरको कोप्चेबाट चालकसहित १५ जना सवार ओबीएम कम्पनीको जेटबोट सुनसरीको वराहक्षेत्रस्थित चतरातर्फ आउँदै गर्दा धनकुटाको अरुण र दूधकोशी दोभानमा इन्जिन बन्द भएर दुर्घटनामा परेको सशस्त्र प्रहरी बल विपद् बेस चतराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतले जानकारी दिए।

दुर्घटनापछि चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल ल्याइएको थियो। उपचारका क्रममा वराहक्षेत्र नगरपालिका-१ की ५२ वर्षीया लीला राईसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा करिब ६ वर्षीया बालिका र ४० वर्षीय पुरुषसमेत छन्। उनीहरूको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका-४ का ३१ वर्षीय मोहन सुनार घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अन्य यात्रु पौडी खेलेर सकुशल बाहिर निस्किएका थिए भने उद्धार गरिएका केही यात्रु घर फर्किएका छन्।

दुर्घटनामा झापाको कनकाई नगरपालिका-४ की निता मगरका सात वर्षीय छोरा शिवक मगर, वराहक्षेत्र नगरपालिका-१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जेटबोटका चालक वराहक्षेत्र नगरपालिका १ का २४ वर्षीय सुमन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।