धरान : बराह सहकारी सञ्चालन गर्ने समूह बराह ग्रुपका मुख्य मालिक शिव लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि पीडितहरूमा उनीहरूको रकम फिर्ता गर्न कारबाही चाँडो हुने आशा गरेका छन् । शिव पक्राउ परेकोमा बराहा सहकारी स्वतन्त्र पीडित समूह, धरानले बिहीबार विज्ञप्ति जारी गर्दै त्यस्तो प्रतिक्रिया जनाएको हो ।
फरार शिव लामिछाने पक्राउ परेको घट्नालाई सुखद समाचार भनी उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘हामी पीडितहरूको न्याय, सत्य र खुन पसिना बगाएर दुःखले अर्जेको सम्पत्ति फिर्ता गर्ने अनवरत प्रयासले आज हाम्रो निराशालाई आशामा परिणत गरेको अनुभूति गरेका छौँ ।’
पीडित समूहका संयोजक शङ्कर थापा क्षेत्री, सहसंयोजक मिलन योञ्जनको संयुक्त हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा भनिएको छ ‘अब यी पिडकहरूबाट पीडितहरूको अपचलन भएको रकम फिर्ता गर्न सरकारी निकायहरूबाट द्रुतगतिमा कार्य हुनेमा हामी विश्वस्त छौँ ।’
जनताको सम्पत्ति हिनामिना गरेर फरार भएका अभियुक्तहरूको पक्राउ परेको घट्नाले नेपालमा कानुनको राज छ भन्ने देखाएको उल्लेख गर्दै यसबाट अन्यायमा परेका पीडितहरूले न्याय पाउँछन् भन्ने आशा जगाउने कार्य गरेकोमा गृहमन्त्री सुधन गुरुङ सहित प्रहरी एवं सरकारी अधिकारीहरूप्रति पीडितको तर्फबाट आभार प्रकट गरिएको छ ।
बराह ग्रुपका अध्यक्ष लामिछानेलाई प्रहरीले सुनसरीको नेपाल–भारत सीमा क्षेत्र (भन्टाबारी) बाट पक्राउ गरिएको सुनसरी जिल्ला प्रहरी कार्यालयले बुधवार सार्वजनिक जानकारी दिएको थियो ।
बचतकर्ताहरूको रकम अपचलन गरी तथा ठगी गरी फरार रहेका, खोजतलासको क्रममा लामिछाने र धरान १५ की बराह सहकारी ऋण उपसमिति सदस्य ३३ वर्षिया अस्मिता भण्डारीलाई पक्राउ गरिएको छ ।
उनीहरू उपर सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा सुनसरी जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको जनाइएको छ । पीडित सङ्ख्या १७ हजार १० जना रहेकोमा शङ्कर थापा समेत ४२४३ जनाको जाहेरीले सरकारवादी मुद्दा परेको प्रहरीले जनाएको छ ।
उक्त मुद्दामा उनीहरू विरुद्ध कुल १० अर्ब, ७३ करोड, ४३ लाख, ४७ हजार, ९१३ रुपैयाँ बिगो दाबी गरिएको छ । २०८२ भदौमा धरान उपमहानगरपालिकाद्वारा समस्याग्रस्त सहकारी घोषित बराह सहकारीमा बचत कर्ताहरूको मुद्दा अदालतमा दर्ता भएपछि अध्यक्ष शिव सहित दोषीहरू फरार थिए ।










































































