धरान : एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोगले निम्त्याउने जोखिमबारे जनचेतना फैलाउन धरानमा पाँचदिने एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना अभियान सञ्चालन भइरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनको विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहको अवसरमा रोट्रयाक्ट क्लब अफ धरान घोपाले नोभेम्बर १९ देखि अभियान सञ्चालन गरेको हो। क्षयरोग विरुद्धको राष्ट्रिय युवा अभियानको सहकार्यमा सञ्चालन भइरहेको अभियान धरानका विभिन्न सार्वजनिक स्थानमा केन्द्रित छ।

एन्टिबायोटिकको अनावश्यक तथा जथाभाबी प्रयोगका कारण ब्याक्टेरियामा औषधि प्रतिरोधात्मक क्षमता विकास हुने र सङ्क्रमणको उपचार कठिन बन्ने जोखिम बढ्दै गएको छ। यही जोखिम न्यूनीकरण गर्न अभियानमार्फत एन्टिबायोटिकको उचित तथा जिम्मेवार प्रयोगबारे सर्वसाधारणलाई सचेत गराइएको क्लबले जानकारी दिएको छ।

अभियानअन्तर्गत नोभेम्बर १९ मा घोपा क्याम्प अस्पतालको जीओपीडी परिसरअगाडि सचेतना बुथ सञ्चालन गरिएको थियो। नोभेम्बर २१ मा धरानको रेल्वे क्षेत्रमा र नोभेम्बर २२ मा भानुचोकमा पनि कार्यक्रम सञ्चालन गरिएको थियो।

सार्वजनिक स्थानमा सचेतना बुथ सञ्चालन गरेर बढीभन्दा बढी मानिससम्म एन्टिबायोटिकको उचित प्रयोगसम्बन्धी जानकारी पुर्‍याउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा एन्टिबायोटिक चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्न, निर्धारित मात्रा र अवधिसम्म औषधि सेवन गर्न, हातको उचित सरसफाइ कायम राख्न तथा सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

व्यक्तिगत र सामुदायिक तहबाट अपनाउन सकिने सावधानीबारे जानकारी दिँदै एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणमा सबैको जिम्मेवारी रहने सन्देशसमेत प्रवाह गरिएको छ।

अभियानको पहिलो दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको सचेतना बुथबाट ४५ जना लाभान्वित भएका थिए। कार्यक्रमलाई प्रभावकारी र सहभागितामूलक बनाउन अन्तरक्रियात्मक प्रश्नोत्तर तथा क्विज प्रतियोगितासमेत सञ्चालन गरिएको थियो। प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो।

सचेतना अभियानमा जनचेतनामूलक पुस्तिका तथा फ्लायर वितरण गर्नुका साथै आगन्तुकका लागि फोटो प्रोप्सको व्यवस्था पनि गरिएको थियो।

पाँच दिनसम्म सञ्चालन हुने अभियानले समुदायमा एन्टिबायोटिकको विवेकपूर्ण प्रयोगसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै एन्टिमाइक्रोबियल रेसिस्टेन्सविरुद्ध सामूहिक जिम्मेवारीबोध र व्यवहार परिवर्तनमा सकारात्मक योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ।

bpkihs-2