धरान : मौसम चिसिए पनि सङ्गीतले तताउने धरानका युवा पुस्तालाई ‘सुरताल म्युजिकल टूर’को फरक प्रस्तुतिले मङ्सिरको चिसोमा फेरी तताउने भएको छ ।
युवा पुस्तालाई एकै मञ्चबाट आधुनिक नेपाली गीतमा नचाउने साङ्गीतिक सुरताल र दोहोरी, लोकभाका प्रस्तुतिले नयाँ स्वाद चखाउने साङ्गीतिक हङ्गामा मङ्सिर २५ गते शुक्रवार धरान रङ्गशालामा आयोजना हुने भएको हो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार प्रमोद खरेलले ‘ओइ झुमा’, ‘मबिना कसै कसैलाई’, ‘म बाँचे कै तिमीसँग’ र ‘यो कुरा गोप्य’ सहित लोकप्रिय आधुनिक माया पिरतीका सङ्गीत प्रस्तुत गर्नेछन् ।
प्रकाश सपूतका ‘गलबन्दी’, ‘बोल माया’, ‘पीर’ र ‘सकम्बरी’ जस्ता गीतले लोकलय र कथात्मक प्रस्तुति दिनेछन् । फिरन्ते ब्यान्डका ‘बूढो भैयो’, ‘मनभरी माया छ’ र ‘मुस्कान बनी ओठमा आइदेऊ’ लगायतका गीतले कार्यक्रममा थप रौनकता दिनेछ ।
धरानमा रक-पप कन्सर्ट बढी भइरहेका बेला लोक, आधुनिक र नयाँ पुस्ताको आधुनिक नेपाली सङ्गीतलाई एउटै मञ्चमा जोड्ने प्रयास गरिएको आयोजकले जनाएका छ । यसअघि कन्सर्टको टिकट महँगो भएको गुनासोका कारण ‘सुरताल म्युजिकल टूर’ले प्रतिव्यक्ति ३०० रुपैयाँ र दुई वटा टिकट ५०० रुपैयाँ कायम गरेको छ । टिकट इसेवाबाट खरिद गर्न सकिने बताइएको छ ।
फरक संगितिक प्रस्तुतिले आधुनिक गीत र लोकभाकामा रमाउने युवा पुस्ता र ब्यान्डको प्रस्तुतिमा नाच्ने दर्शकलाई एउटै मञ्चमा जोड्न सुरताल म्युजिकल टूर धरानमा आयोजना हुन लागेको बताइएको छ ।










































































