धरान : सर्वोच्च अदालतमा चलिरहेको मुक्कुमलुङ/पाथीभरामा केबलकार निर्माण विरुद्धको मुद्दाका न्यायिक सुनवाइको प्रक्रिया पारदर्शी र प्रभावकारी बनाउन ध्यानाकर्षण गराउँदै सरोकारवाला मुक्कुमलुङ संरक्षण अन्तर्दलिय सङ्घर्ष समितिले प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएको छ ।

सङ्घर्ष समितिको जिल्ला समितिहरूले बुधवार कोशी प्रदेशका ९ जिल्लाका जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र प्रधानमन्त्री शाह तथा गृहमन्त्री सुदन गुरुङलाई बुझाएको हो ।

सुनसरी जिल्लाको धरानमा इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन अघि आयोजित पत्रकार सम्मेलनमा चुम्लुङ केन्द्रीय सदस्य डा.कमल तिगेलाले भने ‘मुक्कुमलुङमा केबलकार खारेज सम्बन्धी सर्वोच्च अदालतमा चलिरहेको मुद्दाको सुनवाइ विलम्ब भइरहेकोले, मुद्दाको निरूपण निष्पक्ष, पारदर्शी र प्रभावकारी सुनवाइका लागि ध्यानाकर्षण गराइएको हो ।’

पत्रकार सम्मेलनमा जारी विज्ञप्ति अनुसार सर्वोच्च अदालतमा हाल मुक्कुमलुङ संरक्षण तथा केबुलकार विवाद सम्बन्धी ४ वटा मुद्दा छन्। कञ्चनजङ्घा संरक्षण क्षेत्र सम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी भएको छ । अर्को २ वटा मुद्दामा अन्तरिम आदेश नदिएकोले अपूरणीय क्षति हुने अवस्था रहेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘उक्त मुद्दाहरूमा नउठाइएका हालै मात्र जानकारीमा आएका विषयमा थप रिट दायर गर्न जाँदा अदालत प्रशासनले २–३ दिन अध्ययन गर्ने भनी झुलाएर राखेको, पछि पूरक निवेदन दर्ता गर्ने भए गर्नुस् रिट निवेदन दर्ता हुन सक्तैन, दरपिठ गरिदिन्छौ भनेकाले’ असोज ७ गते पूरक निवेदन दर्ता गरिएको बताइएको छ ।

पत्रकार सम्मेलनमा चुम्लुङ जिल्ला अध्यक्ष शिव सुब्बा इस्वोले मुक्कुमलुङ सङ्घर्ष समितिले मुक्कुमलुङ सम्बन्धी मुद्दाहरूमा न्यायिक सुनवाईमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै त्यहाँ केबुलकार निर्माणको सबै प्रक्रिया खारेज गर्न सङ्घर्ष समितिको माग रहेको बताए ।

विज्ञप्तिमा सङ्घर्ष समितिको ९ वटा मागहरूमा केबुलकार निर्माण परियोजना रद्द गर्ने माग पहिलो नम्बरमा छ । परियोजनाको नाममा ऐन कानुन मिच्ने फर्जी कागज बनाउनेहरू उपर छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

मुक्कुमलुङ आन्दोलनको क्रममा गोली चलाउने र दमन गर्न आदेश दिनेलाई कारबाही गर्न र झुटा मुद्दाहरू फिर्ता लिन माग गरिएको छ । पाथीभरा क्षेत्र विकास समिति गठन आदेश २०५३ खारेज गर्न माग गरिएको छ ।

pathivara-dhyanakarsan-2-