धरान : कोशी प्रदेश सरकारद्वारा घोषित प्रादेशिक भाषालाई सरकारी कामकाजको भाषामा तत्काल कार्यान्वयन गर्न आवश्यक प्राविधिक र पारिभाषिक शब्दकोश लिम्बु भाषाको ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ प्रकाशित भएको छ ।
लिम्बु भाषा संस्कृतिका अध्येताद्वय डीबी आङ्बुहाङ र विष्णुदत्त आङ्बुहाङको खोज अनुसन्धानबाट तयार शब्दकोश मुन्धुमविद् बैरागी काइँलाले कात्तिक २७ गते काठमाण्डौमा एक कार्यक्रम बिच विमोचन गरेका छन् । शब्दकोश मुन्धुम एकेडेमीले प्रकाशित गरेको हो ।
विमोचनको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति काइँलाले कोशी प्रदेशमा लिम्बू भाषा सरकारी कामकाजको भाषा बनेकोले त्यसलाई तत्काल कार्यान्वयन गर्न आवश्यक प्राविधिक र पारिभाषिक शब्दकोश खाँचो नयाँ शब्दकोशले पुरा गरेको बताए ।
शब्दकोशका स्रष्टा विष्णुदत्त आङबुहाङले धरानमा बुधवार सांस्कृतिक अभियन्ताहरुसंगको छलफलमा ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ लिम्बु भाषाको मुन्धुममा आउने व्दिपदिय शब्दहरूको व्याख्या सहितको पहिलो शब्दकोश भएको उल्लेख गरे ।शब्दकोशको निर्माणले अब मुन्धुममा आउने शास्त्रीय कठिन शब्दको व्याख्या, विश्लेषण गर्न आधार तयार भएको उनको भनाई थियो । लिम्बू–नेपाली र अङ्ग्रेजी भाषा, सिरिजङ्गा, देवनागरी र रोमन लिपि प्रयोग गरिएको शब्दकोश १५०० शब्द, ४२० पृष्ठ छन् ।
मुन्धुमी भाषा, शब्दको प्रसङ्गसँगै राई र लिम्बु बिचको सांस्कृतिक पहिचानका बारेमा परिचर्चा चलेको थियो । छलफलमा सांस्कृतिक अभियन्तात्रय वरिष्ठ कवि बम देवान, मुन्धुम अध्ययन केन्द्रका अध्यक्ष उपप्राध्यापक हर्क सुब्बा इजम, याक्थुङ भाषिक, सांस्कृतिक अभियानका संयोजक राम आङबुहाङ, वरिष्ठ पत्रकार हर्ष सुब्बा सहित सहभागी थिए ।
भाषिक, सांस्कृतिक चिन्तक बम देवानले पूर्वमा पहिचानको आन्दोलन सांस्कृतिक एकबद्धताबाट मात्र सफल हुने बताउँदै भने ‘यसको लागि लिम्बु र राई बिच अस्तित्व स्वीकार गर्ने सौहार्दता आवश्यक छ ।’ अभियन्ता स्रष्टा विष्णुदत्त आङ्बुहाङले सांस्कृतिक, ऐतिहासिक अतिक्रमणको सिकार भएका याक्थुङ लिम्बुहरू किरात शब्दले थप अतिक्रमणमा पर्ने हुनकी भन्ने आशङ्कामा भएको बताए । विष्णुदत्तको डीबी आङ्बुङसंगको सहकार्यमा याक्थुङ भाषामा यसअघि ‘लिम्बू शब्दकोश’ पनि प्रकाशित छन् । नेपालमा पहिलो पटक इमानसिंह चेम्जोङको सङ्कलन तथा लेखनमा ‘लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश’ २०१८ सालमा प्रकाशित छ । नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित उक्त शब्दकोशलाई बैरागी काइँलाको अगुवाइमा संशोधनसहित ४० हजार शब्द समेटिएका छन् ।
यसअघि तेजमान आङदेम्बेको मुन्धुमको अङ्ग्रेजीमा ‘द क्लासिकल लिम्बु ल्याङवेजः ग्रामर एण्ड डिक्सनरी अफ किरात मुन्धुम’ २०६८ प्रकाशित छ । नेपालमा विदेशी अन्वेषकले लिम्बू भाषाबारे सन १८११ देखि शब्द सङ्कलन गरेको पाइन्छ । स्वदेशका भाषासेवी स्वर्गीय काजीमान कन्दङवाले विसं २०१० सालमा लिम्बू शब्दकोश सङ्कलन गरेका थिए ।
पछिल्लो कालखण्डमा प्रकाशित डीबी र विष्णुदत्तको ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ पहिलो पारिभाषिक र प्राविधिक शब्दकोश मानिएको छ । विमोचन कार्यक्रममा पूर्व उपकुलपति बैरागी कांइलाले मुन्धुमी शब्दहरूको पारिभाषिक कोषले शब्दको व्याख्या गर्ने आधार स्थापना गर्दा मुन्धुम बुझाउन र बुझ्न सहज हुने बताए ।
उनले भने ‘मुन्धुममा आलङ्कारिक भाषाले विषयलाई विस्तार गरेको हुन्छ, ।’ जस्तै मुन्धुम फलाक्ने फेदाङमा शब्द नै आलङ्कारिकताको उदाहरण भएको बताउँदै मुन्धुमविद् काईलाले भने ‘फेदाङमा शब्दको अगाडि प्रयोग गरिने मानार्थ भाषाले फलामको हतियार भन्ने बुझाउँछ ।’
काइँलाले भने ‘प्राचीन कालमा मानवको उत्पत्तिलाई खाम्बेकमा लुम्बेकमा भनियो तर जोडिएर आएको दुई शब्दको परिभाषा नहुँदा त्यसको व्याख्या गर्न सहज थिएन ।’ उनका अनुसार शब्दकोशमा दुई शब्दसँगै उच्चारण हुने मुन्धुमी शब्दको व्याख्या खोजी गरेर सङ्कलित गरेकाले मुन्धुमले वर्णन गरेको प्रकृतिको सृष्टि, मानव उत्पत्तिको कुरा बुझ्न बुझाउन सहज हुनेछ ।










































































