धरान : समाचार छापेकै निहुँमा पत्रकारलाई घर्रैबाट रात विरात पक्राउ गर्ने सरकारको दमनकारी नीतिको विरोधमा आज बुधवार पत्रकारहरू सामूहिक गिरफ्तारी दिन जिल्ला प्रशासन कार्यालय पुगे ।

नेपाल पत्रकार महासङ्घ घोषित आन्दोलनको कार्यक्रम अनुसार देशभरका पत्रकारहरूले ‘पत्रकारलाई पटक–पटक होइन, एकै पटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित जिल्ला प्रशासन कार्यालयहरू अगाडि धर्ना तथा विरोध प्रदर्शन गरेका हुन ।

सुनसरीमा इनरुवा स्थित जिल्ला प्रशासन कार्यालयमा दिउँसो १ बजे धरान, इटहरी र इनरुवाका दुई दर्जन क्रियाशील पत्रकारहरू सामूहिक गिरफ्तारी दिन पुगेका थिए । सशस्त्र प्रहरी सहितको सुरक्षा व्यवस्था गरिएको देखिए पनि कार्यालय अगाडि ब्यानर, प्लेकार्ड सहित आधा घण्टा धर्ना दिएका पत्रकारहरूलाई गिरफ्तार गरिएन ।

यस अघिका पत्रकारहरूको विरोध कार्यक्रममा जिल्ला प्रशासनले गेटबाट कार्यालय परिसरमा प्रवेश गर्न समेत कडाइ गरेकोमा प्रहरीबाट यसपालि त्यस्तो व्यवहार भने भएन । प्रहरीले कार्यालयमा आउने जाने सेवाग्राहीलाई अवरोध नगरी धर्ना बस्न सकिने बताए । 

पत्रकार महासङ्घ सुनसरीका पदाधिकारीहरू कोही पनि जिल्लामा नभएकाले धर्ना प्रदर्शन कार्यक्रमको संयोजन जिल्ला कार्यसमिति सदस्य रोहित राई कुलुङले गरेका थिए ।

धर्ना प्रदर्शनमा महासङ्घका पूर्व पूर्वाञ्चल केन्द्रीय उपाध्यक्ष हर्ष सुब्बा, पूर्व केन्द्रीय सदस्य अमर खड्का, पुर्वअध्यक्ष जनकऋषी राई, इकबाल अहमद, अग्रज पत्रकार सुविद् गुरागाईँ सहित नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष मातृकाप्रसाद नेपाल , प्रेस सेन्टर सुनसरीका अध्यक्ष, तीर्थ कार्की, प्रेस चौतारीका कावा अध्यक्ष विकल पौडेल, फाेनिज सुनसरीका अध्यक्ष सुनील चाैधरी सहभागी थिए ।