धरान : भाषा आयोगको सिफारिस अनुसार नेपाल राष्ट्र बैङ्कले नयाँ नेपाली नोटमा थप १२ वटा राष्ट्रिय भाषा र लिपी सहित १४ वटा भाषा लिपि नोटको मूल्य लेखिने भाषामा प्रयोग गर्ने भएको छ ।
अहिले नेपाली नोटमा राष्ट्रभाषा नेपाली र अङ्ग्रेजी मात्र प्रयोग हुँदै आएको छ । यस अघि भारतीय नोटमा १७ भाषा प्रयोग हुँदै आएको छ । नेपाली नोटमा छुट्टै लिपि सहित छापिने भाषा याक्थुङ लिम्बुको सिरिजंगा लिपि, नेपाल भाषा नेवारीको रञ्जना लिपि, मगरको अख्खा लिपि, गुरुङको खेमा लिपि रहने छ । अन्य भाषा देवनागरी लिपिमा रहने छन् ।
भाषा आयोगको सिफारिस अनुसार राष्ट्र बैङ्कले अब जारी गर्ने ५, १०, २०, ५०, १००, ५००र १००० का नयाँ नोटमा कुल १४ वटा भाषामा नोटको मूल्य राष्ट्रिय भाषा र लिपिमा अङ्कित हुने भएको हो ।
यो नेपाली मुद्राको इतिहासमा यो पहिलो घटना हुनेछ । नेपाली नोटमा छापिने राष्ट्रिय भाषा र लिपिहरूमा मैथिली (देवनागरी), याक्थुङ/लिम्बु (सिरिजंगा लिपि), थारु (देवनागरी), तामाङ (तामयीग), बज्जिका (देवनागरी), अवधि (देवनागरी), नेवारी (रञ्जना लिपि), मगर (अख्खा लिपि), डोट्याली (देवनागरी), गुरुङ (खेमा लिपि), खास भाषा (देवनागरी) हुने राष्ट्र बैङ्कले जनाएको छ ।
कोशी प्रदेश सरकारले प्रादेशिक सरकारी कामकाजको भाषा घोषित गरेको ६ वटा भाषा नेपाली नोटमा छापिने भाषा लिपिमा परेका छन् । ती भाषा लिपि मैथिली, याक्थुङ/लिम्बु, थारु, नेवारी, तामाङ र मगर भाषा छन् ।
भाषा आयोगको गत: मङ्सिर ३ गते बसेको बैठकले नेपाल राष्ट्र बैङ्कलाई नेपाली नोटको आकार, भाषिक जनसङ्ख्या र प्रयोगको व्यवहारिकतालाई समेत ख्याल गरी नेपाली र अङ्ग्रेजी बाहेक थप १२ वटा भाषा र त्यस भाषाका लागि प्रयोग हुने लिपिमा नेपाली नोट प्रकाशन गर्न सिफारिस गरेको थियो ।
नेपालमा पहिलो पटक कागजको मुद्रा नोटमा राष्ट्रभाषा नेपाली सहित राष्ट्रिय भाषा लिपिमा मूल्य छापिने निर्णय भएको हो । नोटमा बहुभाषा प्रयोग गर्ने अभ्यास भारतमा यसअघि देखी नै हुँदै आएको छ । त्यसमा नेपाली भाषा पनि छ । भारतीय नोटमा अहिले हिन्दी र अङ्ग्रेजी बाहेक नेपाली सहित १५ वटा भारतीय भाषाहरू प्रयोग हुँदै आएको छ ।
नेपाल राष्ट्र बैङ्कबाट आयोगको सिफारिस अनुसार नेपाली नोटमा बहुभाषाको प्रयोग गर्ने बहुभाषिक नेपालको जनसङ्ख्या र सांस्कृतिक विविधता समेतलाई ध्यान दिई नेपाली नोटमा बहुभाषा प्रयोग गर्न १५ वटा भाषा र उक्त भाषाको लेखनमा प्रयोग हुने लिपि समेत सिफारिस गर्न भाषा आयोगलाई पत्राचार गरेको थियो । यसबारे राष्ट्र बैङ्कको आधिकारिक भनाई भने सार्वजनिक भएको छैन ।