धरान : कोशी प्रदेशभरका बडी बिल्डरहरु बिच एलाइनेट जिमको आठौँ मिस्टर कोशी उपाधिका लागि धरानमा फागुन २९ र ३० गते प्रतिस्पर्धा हुने घोषणा गरिएको छ ।
एलाइनेटद्वारा आज मङ्गलवार ‘आठौँ मिस्टर कोशी प्रदेश स्तरीय खुल्ला शारीरिक सुगठन प्रतियोगिता २०८३’ को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो ।
अध्यक्ष विक्रम लिम्बुले भने ‘मिस्टर कोशी उपाधि पूर्वको बडिबिल्डिङमा एलाइनेट जिमको ऐतिहासिक निरन्तरता हो ।’ उनले एलाइनेट जिमले स्थापनाको २६ औँ वर्षमा शारीरिक सुगठन खेलाडीहरूका धेरै प्रतिभाहरू अगाडि ल्याएको बताए ।
एलाइनेट जिम २०५७ सालमा स्थापना भएको हो । आठौँ मिस्टर कोशी प्रतियोगिता जिमको २४औँ शारीरिक सुगठन प्रतियोगिता आयोजन हो । धरान–१३ अमर सेवा भवनमा सञ्चालन हुने २ दिने प्रतियोगितामा वडिबिल्डिङको राष्ट्रिय जजेज कार्यशाला पनि सञ्चालन हुने जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगीताबारे जारी विज्ञप्तिमा ओभरअल समूहमा प्रथम हुने विजेतालाई ‘मिस्टर कोशी’ उपाधि सहित १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । साथै द्वितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ स्थान हासिल गर्नेलाई ५० हजार, ४० हजार, ३० हजार, २५ हजार र २० हजार नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा विधागत इण्डिभिज्युअल विजेताहरूलाई नगद ५००० सहित मेडल र ट्रफि प्रदान गरिने छ । इण्डिभिज्युअल विधाहरू बेस्ट पोजर, मस्कुलर मेन, मोस्ट इम्प्रुभ, बेस्ट टिम समावेश गरिएको जानकारी दिइएको छ ।
प्रतियोगिता ५ तौल समूहमा सञ्चालन गरिने छ । तौल समूह ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि तौलको समूह हुनेछ । पहिलो दिन तौल समूहको प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ ।
फाइनलमा प्रत्येक वजन समूहबाट प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ विजेता चयन गरिने छ । उक्त तौल समूहको प्रतिस्पर्धाहरूबाट प्रथम स्थान प्राप्त गरेका ६ जना विजेताहरूलाई मात्र ओभरअल राउण्डमा प्रतिस्पर्धा गराइने विज्ञप्तीमा उल्लेख छ ।
प्रतियोगिता सम्पन्न गर्न कुल १४ लाख ६० हजार रुपया खर्च हुने बजेट अनुमान गरिएको हिसाब पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।










































































