इटहरी : नेपाली काँग्रेस सुनसरीको जिल्ला अधिवेशनको माहौल गर्माएको छ । मिति तय नभएपनि वर्तमान सभापति केदार भण्डारीलाई इटहरी उपमहानगरपालिकाका निवर्तमान सभापति हेमकर्ण पौडेलले चुनौती दिइरहेका छन् । भण्डारी दोस्रो कार्यकालको लागि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् भने पौडेलले इनरुवा बाहिर नेतृत्व पुग्नुपर्ने भाष्यलाई बलियो सँग स्थापित गर्ने रणनीतिमा छन्।

सतहमा पौडेल र भण्डारीको प्रतिस्पर्धा बारे छलफल भएपनि वर्तमान सचिव वीरेन्द्र शाह र उपसभापति नगेशचन्द्र राईले समेत अभियान अगाडी बढाएका छन् । राईले कार्यकर्तासँग आन्तरिक छलफललाई प्राथमिकता दिएका छन् । बारम्बार लाभको पद पाइरहेका नेताहरूले पार्टीमा समय दिन नगरेको कारण आफ्नो बलियो दाबेदारी रहेको उनले बताए । पौडेल र भण्डारीप्रति इङ्गित गर्दै राईले पार्टीलाई गुट र आन्तरिक कलहमा पुर्‍याउने र आपसमा विवाद सृजना गराउने नेताबाट पार्टी बलियो नहुने प्रष्ट पारे ।

जेसीज, उद्योग वाणिज्य सङ्घ देखि काँग्रेसको मूल नेतृत्वमा समेत प्रभावशाली देखिएका शाह स्थानीय स्तरमा चर्चित नेता हुन् । शाह काँग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय सदस्य र प्रतिष्ठान कोशी प्रदेशको निवर्तमान सचिव हुन् । नेविसंघ, तरुण दलदेखि राजनीति गरेका शाहले सुनसरीका १२४ वटै वडामा प्रशिक्षण दिइसकेका छन् । उनले सभापतिमा आफ्नो उम्मेदवारी रहेको र कसैलाई सहयोग गरेर छाड्ने मनसाय नरहेको बताए।

जिल्ला सचिव हुँदै सभापति बनेका भण्डारी दोस्रो कार्यकालको लागि सकेसम्म सर्वसम्मत हुने तयारीमा छन् । इनरुवा नगरपालिकाका मेयर समेत रहेका भण्डारीलाई सर्वसम्मत मात्र हैन निर्वाचनमै पराजित गर्ने रणनीतिमा छन् इटहरी उपमहानगरपालिकाका मेयर पौडेल।

जिल्ला समन्वय समितिका प्रमुख राजन मेहेताले भण्डारीलाई सहयोग नगर्ने बुझेका पौडेल उनको समर्थन लिने रणनीतिमा छन् । क्षेत्र नम्बर २ को सभापतिमा मेहेतालाई समर्थन गरेर जिल्लामा साथ लिने पौडेलको तयारी छ । पौडेलले नवनिर्वाचित केन्द्रीय सदस्य वेदनारायण गच्छदार अन्य क्षेत्रका नेताहरूको समेत समर्थन पाउनेगरि अभियान अगाडी बढाएका छन् । पौडेलले इटहरी र धरानमा इनरुवाबाट नेतृत्व बाहिर ल्याउनुपर्ने भाष्य बनाइरहेका छन् ।

भण्डारीले भने इटहरीमा पौडेलसँग रुष्ट नेताहरूको समर्थन लिने तयारीमा छन् । इटहरीको नेतृत्वमा सर्वसम्मत भएपछि रुष्ट बनेका कार्यकर्ताले भण्डारीलाई समर्थन गर्ने सङ्केत दिएका छन् । राई इटहरीकै उम्मेदवार भएकाले धरानको जनजाति मत र इटहरीको मतले भण्डारी र पौडेलको प्रतिस्पर्धालाई रोचक बनाउने देखिएको छ ।

केन्द्रीय सदस्य राजीव कोइरालाले समर्थन गर्न सक्ने सङ्केत पाएका भण्डारीले धरान, इटहरी, दुहबी, रामधुनी, वराहक्षेत्र र लगायत दक्षिणी क्षेत्रमा आन्तरिक छलफल चलाइरहेका छन् । पौडेल र भण्डारीलाई आफ्नै गृह नगरले धोका दिन सक्ने देखिएको छ । पालिका र पार्टीको नेतृत्वमा रहँदा कार्यकर्ता समेट्न नसकेको आक्रोश महाधिवेशनमा पोखिने प्रष्ट छ ।

सुनसरी क्षेत्र नम्बर २ को मतदान बिचमै स्थगित गरेर सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट भएपछि विवाद जारी छ । जिल्ला समितिले सुनसरी २ को विषय मिलाएर मात्र जिल्लाको अधिवेशन गर्नुपर्ने कार्यकर्ताको दबाब छ । सुनसरी २ मा मतदानबाट नेतृत्व चयन भए आन्तरिक समीकरणमा खैलाबैला हुने भएपछि नेताहरू आत्तिएका छन् ।