इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा साउन १० गतेको घटनापछि कप्तानगञ्ज अहिलेसम्म तड्पिएको छ । कप्तानगञ्जको छटपटी र उकुसमुकुस न सरकारले देखेको छ न सरोकारवालाले बुझेका छन् ।
घटना अगाडी चलहपलह हुने बजार सुनसान देखिएको छ । बजारका सटरहरू बन्द हुँदै गएका छन् । पसल बन्द गरेर व्यापारी विस्थापित हुँदैछन् । पसलमा ताला लागेको महिनौँ भयो तर खुल्ने छाँटकाँट छैन । बजारको बिचमा चिया पसल चलाइरहेका रञ्जित कुमार शाह घटना अगाडी दैनिक ६० कपसम्म चिया बिक्री गर्थे । अहिले बजार भरिमा उनको मात्र चिया पसल चल्छ तर विक्री जम्मा १० कप ।
केही अगाडी अर्को चिया पसल पनि छ तर ग्राहक छैनन् । स्थानीय मुस्लिमहरूले आफ्नो चिया खाने र किनमेल गर्ने छुट्टै पसल खोलेका छन् । भारतको सीमावर्ती फुल्का बजारबाट किनमेल गरेर सामान ल्याउँछन् । बजार व्यवस्थापन समितिले पत्र नै पठाएर मुस्लिमहरूलाई किनमेल नगर्न आग्रह गरेको छ । बजार व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र महेताले मुस्लिमहरूको लागि हाटबजार नआउन पत्र थमाएको जहिर मियाँले बताए ।
मेहेताले भने त्यो असामान्य अवस्थाको लागि दोकान नखोल्न÷नखोलाउन पत्र पठाएको प्रष्ट पारे । छठ पर्व पछि पुनः निर्णय गरेर सबैलाई घुलमिल गराउने उनले बताए । आगो बलिरहेको बेला शान्तपार्न खोजेको उनको भनाइ छ । सबैलाई एक आपसमा मिलाएरै अगाडी बढाउने तयारीमा रहेको उनले सुनाए ।
समस्या किराना र चिया पसलको मात्र होइन ग्रील व्यापारीको व्यापार समेत चौपट भएको छ । स्थानीय गृल व्यवसायी विजयकुमार मेहेताले मेलमिलाप नभएको कारण धेरै समस्या भएको बताए । स्थानीय नेताहरूले चासो नदिएको कारण मिल्न नसकिएको उनको भनाइ थियो ।
वडा नम्बर ३ का वडाध्यक्ष अनिल भगत भने अहिले अवस्था सामान्य भएको बताउँछन् । कुनै मिलाउनुपर्ने कुरा नभएको र घटनालाई थप उचाल्न नहुने उनको तर्क छ ।
वडाध्यक्षले मिलेको दाबी गरेपनि भैसि चराएर घर फर्किरहेका दिव्येश्वरी मेहता बोलचाल बन्द भएर खासै घाटा नभएको बताउँछन् । पहिला मुस्लिमहरूले आफ्नो खेतबारीको घाँस काटिदिने गरेको र बोलचाल नभएपछि घाँस आफैले मात्र काट्न पाएको उनको भनाइ थियो ।
आपसी सम्बन्धमा तिक्तता बढ्दै गएपछि स्थानीय व्यापारी व्यवसायी पलायन भएका छन् । कृषि कर्मको लागि आपसी सरसहयोग हटेको छ भने मजदुर घटेका छन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा साउन १० गते राति दुई समुदायबिचको सामान्य विवादले हिंसात्मक रूप लिँदा सुरक्षाकर्मीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । थप दुई जनाको उपचारको क्रममा निधन भयो भने केही सुरक्षाकर्मी घाइते भए ।
१० गते राति बोल बम पूजाको तयारीमा डिजे बजाएको विषयलाई लिएर दुई समुदायबिच भनाभन सुरु भएको थियो । विवादले उग्र रूप लिएपछि ढुङ्गा मुढा, आगजनी र तोडफोडमा परिणत भयो । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर तीन जनाको निधन भएको हो ।
उक्त घटना पछि देशव्यापी आन्दोलन भयो । हिन्दु र मुस्लिमहरू बिचमा धार्मिक द्वन्द्व हुन लागेको भन्दै सरकारले धार्मिक अभियन्तासँग वार्ता गर्यो । देशका विभिन्न सहरमा सद्भाव र्याली निकालियो । सरकारले छानबिन समिति गठन गर्यो । गोली काण्डमा मारिएका तीन जनाको परिवारलाई १० लाख क्षतिपूर्ति, सहिद घोषणा र परिवारको एक जना सदस्यलाई रोजगारी दिने निर्णय गर्यो । सरकाले १० लाख दिने बाहेक कुनै पनि सहमति पुरा गरेको छैन ।












































































