धरान : आज मङ्गलवार बिहान गएका भूकम्पको झट्का धरानमा धेरैले अनुभव गरे, अधिकांशले भूकम्प गएको ठम्याउन सकेनन् ।
ताप्लेजुङको लेलेप गाउँपालिका आसपास केन्द्रबिन्दु भएर गएको भूकम्प ५ दशमलव २ देखी ५ दशमलब ४ म्याग्निच्युटको भएको एनड्रोएडको भूकम्प मापन प्रणालीले उल्लेख गरेको गुगलले जनाएको छ । चीन, नेपाल, भुटान र भारतमा भूकम्पको झट्का अनुभव गरिएको छ ।
धरानमा धेरैले भूकम्प गएको अनुभव गरेको सामाजिक सञ्जालमा देखिएको स्टाटसहरुबाट बुझिन्छ । बिहान ७ बजेर २० मिनेटमा भूकम्प गएकोले प्रायः सबैले थाहा पाउने समय हो । तर भूकम्पको झट्का क्षणिक भएकोले धेरैले ठम्याउन सकेनन् ।
भूकम्प २/३ सेकेण्ड भन्दा धेरै समय नआएकाले अधिकांश मानिसले तर्सिए मात्र । अधिवक्ता दुर्गा चोङबाङले तत्काल फेसबुकमा लेखे ‘धरानमा २/३ सेकेण्ड भूकम्पको धक्का । झट्का निकै (कडा) ।’
अभियन्ता अमर इजमले लेखेका छन् ‘धरानमा ७.१७ मा एक मिनट जति भूकम्प आएको थाहा पाउनु भयोकी भएन ? मैले चाहिँ सिँढीमा काम गदै गरेकोले चाल पाएँ ।’ उनले भूकम्पको कारण हल्लिदैं गरेको घरको पिलरको छडको भिडियो पनि शेयर गरेका छन् ।
भूकम्पको अनुभवसँगै कसैले हाँसो पनि गरेका छन् । राजकुमारी राईले लेखेकी छन् ‘धन्न घाम उदाए पछि हल्लायो, राती हुनु हो त आधा दाजुभाइहरू नाना बिनै बाहिर हुन्थे होला ।’ अधिकांशले भूकम्प आएको थाहै नपाएको उल्लेख गरेका छन् ।










































































