आजसम्मको तथ्याङ्कअनुसार विश्वका ३४ लाख ८० हजार भन्दा बढी मानिसहरू बिरामी छन् भने २ लाख ४४ हजार भन्दा बढी मानिसहरूले (कोभिड-१९) को महामारीका कारण आफ्नो ज्यान गुमाएका छन् । त्यस्तै ११ लाख ९ हजार मानिसहरू निको भएर घर फर्केका छन् भने अझै पनि (कोभिड–१९) को महामारीका कारण ५० हजार भन्दा बढी मानिसहरूको अवस्था चिन्ताजनक छ ।

त्यसो त केही पश्चिमा देश र अमेरिकाका केही राजनीतिज्ञ र भाइरल रोग विज्ञहरूले के अनुमान गरेका थिए भने, गर्मी महिनाको आगमनसँगै (कोभिड-१९) को भाइरसको महामारीले पनि बिदा लिन्छ ! तर, यो लेख देख्दा (सन् २०२० मे ३ तारिख) सम्म पनि (कोभिड-१९) को भाइरसको महामारी आफ्नो रफ्तारलाई खासै नघटाई फैलिरहेको अवस्था छ । त्यसैले कोरोना भाइरसको महामारीले विश्वका कति मानिसहरूलाई अझै परमधाम पुर्‍याउने हो ? अहिले नै किटेर भन्न सक्ने अवस्था रहेन ।

हुन पनि सुरुमा चीनमा मात्रै देखिएको (कोभिड-१९) भाइरसको महामारीले हालसम्म आई पुग्दा संयुक्त राष्ट्र सङ्घमा आबद्ध भएका १९५ र अन्य (विभिन्न देशले उपनिवेशको रूपमा वा अह्रन-खटन गरेर शासन गरी रहेको स-साना टापु देशहरू) गरी विश्वमा रहेका भनिएका २२० वटा देशमध्ये २१० वटा देश र अमेरिकाको दुई वटा पानी जहाजमा समेत (कोभिड-१९) को महामारी रोगको सङ्क्रमण फैलिसकेको छ ।

त्यसो त अमेरिकाले (कोभिड-१९) भाइरसको महामारी चीनबाट अन्यत्र पनि फैलँदै गर्दा ताका यो केही पनि होइन , आफै ठिक हुँदै जान्छ वा भनौँ अमेरिकालाई यो (कोभिड-१९) नामक भाइरसको महामारीले छुँदा पनि छुँदैन भनेझैं  गरेको थियो । तर, आज अमेरिकाको अवस्था भयावह छ ! अमेरिकामा मात्र ६७ हजार बढीले ज्यान गुमाएका छन् ।

जे भए तापनि सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यमा चीनको दक्षिण–पूर्वी हुपेई प्रान्तको राजधानी मुहानबाट फैलन सुरु भएको ‘नोभेल कोरोना भाइरस डिजिज-२०१९’ (पछि कोभिड-१९ भन्न थालिएको) नामक संक्रामक भाइरसको महामारीले २ महिना पुग्दा-नपुग्दै विश्वलाई नै आतङ्कित पार्न थालेपछि संयुक्त राष्ट्र सङ्घ अन्तर्गत रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नै यो रोग (कोभिड-१९) लाई विश्वभरि फैलिएको महामारी (प्यान्डेमिक) भनी गएको मार्च ११ तारिखका दिन घोषण गरेको छ ।

यसरी नेपालमा पनि (कोभिड-१९) को असर वा भनौँ सङ्केतहरू देखा पर्न थालेपछि सुरुमा नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि १७ गतेसम्म एक हप्ताका लागि ‘लक डाउन’ गर्ने घोषणा गरेको थियो । तर, चैतको १५-१६ ताका नेपालको सुदूरपश्चिममा (कोभिड-१९) को ‘स्टेज-२’ (विदेशबाट आएकाले नेपालमै रहेका आफन्तलाई सारेपछि) देखा परेपछि नेपाल सरकारले फेरि अर्को १ हप्ताका लागि अर्थात् चैत २५ गतेसम्मका लागि लकडाउन थप्यो ।

त्यसलाई पनि अधिकांश नेपाली जनताहरूले सहर्ष स्वीकारे । तर, यसबिचमा (कोभिड-१९) को सङ्क्रमितहरूको सङ्ख्या स्थिर रहनुको सट्टा झनै बढ्दै गएपछि अझ भएन, भनेर नेपाल सरकारले एकै चोटि (२ वर्षका लागि !) विसं २०७७ वैशाख १५ गते रातको १२ बजेसम्म लागू हुने गरी लकडाउन घोषणा गर्‍यो भने, फेरि वैशाख २५ सम्मलाई थपेको छ ।

थाहा छैन, वैशाख २५ गतेपछि के हुने हो ? किनभने १, २, ४, ८, १०, १२ १६, २०, ४७, ५१, ५२, ५४, ५७ हुँदै ५९ जनामा (कोभिड-१९) को ‘पोजेटिभ’ देखा परी सकेको अवस्था छ । वास्तवमा (कोभिड-१९) नामक संक्रामक भाइरसको महामारी तलसम्म (सङ्क्रमित व्यक्तिले अर्को व्यक्ति वा पुरै घरपरिवार र समाजलाई) सङ्क्रमित नगरोस् / भाइरस नसारोस् ! भनेर अपनाउने सबैभन्दा उत्तम उपायको रूपमा रहेको ‘लकडाउन’ नै देखिएको छ । त्यसैले (कोभिड-१९) नामक संक्रामक भाइरसको महामारी तलसम्म नफैलियोस् भनेर धेरै देशहरूले ‘लकडाउन’ वा सङ्कटकाल लागू गरे ।

फलतः नेपाल सरकारले पनि विश्वका अन्य केही देशहरूले भई ‘लकडाउन कै उपाय अवलम्बन गरेको छ । तर, अझै (कोभिड–१९) को ‘पोजेटिभ’ कति देखा पर्ने हो ? केही टुङ्गो छैन । त्यसैले अधिकांश मानिसहरू कतिखेर के हुने हो ? कसो हुने हो ? मनभरि त्रास र डर बोकेर बाँचेका छन् । त्यसमाथि भोकमरी र अन्य रोगको त्रास पनि छँदै छ । समाज न हो, त्यसैले केही मानिसहरू भने अझै पनि ‘लकडाउन’लाई खेलाँची ठानेर उल्लङ्घन गर्दै हिँडिरहेकै छन् ।

खासमा विषय विज्ञहरूको भनाइ मान्ने हो भने, (कोभिड-१९) को ‘पोजेटिभ’ बढी देखा परेको क्षेत्रमा मात्रै ‘लकडाउन’ वा सङ्कटकाल लागू गरेको भए पनि हुन्थ्यो । तर, ...

तापनि विश्वका लगभग १ चौथाइभन्दा बढी जनसङ्ख्या (कोभिड-१९) नामक संक्रामक भाइरसको महामारीको आतङ्क र त्रासबिच ‘लकडाउन’ र ‘सङ्कटकाल’को सामना गर्दै कष्टकर जीवन बाँची रहेकै छन् । त्यसो त राज्य व्यवस्था राम्रो भएको, सरकार विश्वासिलो एवम् दह्रो भएको र, सुशासनको ग्यारेन्टी भएको देशको जनताहरूलाई त ‘लकडाउन’ र ‘सङ्कटकाल’ले व्यक्तिगत स्वतन्त्रताको मात्रै चिन्ता थपेको छ । उनीहरू आफूले चाहेअनुसार घुमफिर गर्न र चाहेको गर्न मात्रै पाई रहेका छैनन् । अर्थात् उनीहरूलाई ‘लकडाउन’ र ‘सङ्कटकाल’ अवधिभरि कसरी बाँच्ने ? भन्ने र अहिले के खाऔँ, भरे के खाऔँ ? भोलि के ... ? भन्ने खासै चिन्ता भने छैन । किनभने, ती देशका सरकारले नै आफ्नो जनताहरूका लागि सबै कुरोको व्यवस्था गरी दिएको छ ।

किनकि, ती देशका सरकार तथा राज्य प्रमुखहरू र नीति निर्माण गर्ने तहमा बसेकाहरूलाई ‘मानव पुँजी’ भनेको के हो ? भन्ने राम्रोसँग बुझेका छन्, आत्मसाथ गरेका छन् । तर, नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश आदि देशका सरकार प्रमुख, राज्य प्रमुख र नीति निर्माण तहमा बसेकाहरूलाई त ‘मानव पुँजी’ न मानव सु... !  देशका जनताहरू जसरी बाँचुन मतलब छैन ! खालि हात ‘लकडाउन’ अवधिभर घरभित्रै बस, बाहिर-फेर हिँडडुल नगर, खबरदार ! तिमीहरू ‘लकडाउन’को समयमा घरबाहिर हिँडडुल गरेमा हाम्रा सुरक्षाकर्मीहरुले पक्डेर ... बेर छैन ! भन्छ ।

त्यसैले हामी जस्ता साँच्चैको गरिब र गरिबका बच्चा-बच्चीहरू ‘लकडाउन’ अवधिभर के खाएर बाँच्ने ? सबै भगवान् भरोसा कै भरमा बस्नु परेको छ । अझ देशका सम्माननीय राष्ट्र प्रमुख ज्यु नै (कोभिड-१९) नामक संक्रामक भाइरसको महामारीको आतङ्क र त्रासले ‘चिहिल-बिहिल’ भएका निम्छरो जनताहरूलाई ‘भावनामा नबग्न !’ सम्झाउनु हुन्छ, अर्ती उपदेश दिनु हुन्छ ।

जबकि, सम्माननीय राष्ट्र प्रमुख ज्युले (कोभिड-१९) नामक संक्रामक भाइरसको महामारीको आतङ्क र त्रासले ‘चिहिल-बिहिल’ भएका निम्छरो जनताहरूलाई अरू केही नभए पनि ‘लकडाउन’ अवधिभरिका लागि कम्तीमा ‘रासन-पानी र ओतको व्यवस्थापन गर सरकार !’ भनी सरकार वा सरकार प्रमुखलाई पो दिसा-निर्देश गर्नु पर्थ्यो ! के गर्नु ! ...